
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाका लागि नयाँ शान्ति योजनामा सहमति भएको र हमासले यसलाई स्वीकार गर्नुपर्ने चेतावनी दिएका छन् ।
यस योजनाले तत्कालै सैनिक कारबाही अन्त्य गर्ने प्रस्ताव गरेको छ । ७२ घण्टाभित्र हमासले २० जना जीवित बन्दी र मृत भनिएका करिब दुई दर्जनभन्दा बढीको शव फिर्ता गर्नेछ । यसको बदलामा सयौँजना गाजावासी कैदीहरूलाई छोडिनेछ ।
युद्धविरामसम्बन्धी वार्ता सफलता निकट रहेको एक प्यालेस्टाइनी स्रोतले बीबीसीलाई जानकारी दिएको छ । हमासका नेताहरूलाई ह्वाइट हाउसको २० बुँदे प्रस्ताव बुझाइएको उक्त स्रोतको भनाइ छ ।
हमासले गाजापट्टिको शासनसत्तामा कुनै पनि भूमिका खेल्न नपाउने र अन्ततः प्यालेस्टाइनी राज्य बन्ने बाटो खुला रहने यसमा उल्लेख छ ।
ह्वाइट हाउसमा भएको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले यस योजनालाई शान्तिका लागि ऐतिहासिक दिन भने ।
तर हमासले यस योजनालाई स्वीकार नगरेमा नेतान्याहुलाई हमासको अन्त्य गर्ने काम पूरा गर्नका लागि अमेरिकाले साथ दिने ट्रम्पले बताए ।
हमासले यो योजना अस्वीकार गरे वा कार्यान्वयन नगरे इजरायलले आफ्नो काम पूरा गर्ने नेतान्याहुको भनाइ छ ।
इजरायलको कब्जामा रहेको पश्चिमी किनारमा शासन गर्ने प्यालेस्टाइन अथोरिटीले ट्रम्पको प्रयासलाई इमान्दार र सुदृढ भनेको छ ।
डब्ल्यूएएफए समाचार एजेन्सीमार्फत प्रकाशित वक्तव्यमा अथोरिटीले अमेरिका, पश्चिम एसियाका देश र साझेदारहरूसँग मिलेर युद्ध अन्त्य गर्न, गाजामा पर्याप्त मानवीय सहयोग पुर्याउन र बन्धक तथा कैदीहरूलाई मुक्त गर्न आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
अक्टोबर २०२३ देखि गाजामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६६ हजार ५५ जना मारिएका छन् ।
ट्रम्पको शान्ति योजना अनुसार, सबै सैनिक कारबाही तुरुन्तै रोकिनेछ । चरणबद्ध रूपमा सैनिकहरू फिर्ता हुने अवस्था तयार नहुन्जेल हालको लडाइँ रेखा यथावत रहनेछ ।
ट्रम्पको योजनाअनुसार, हमासले हतियार बिसाउनेछ र आफ्ना सुरुङका साथै हतियार उत्पादन केन्द्रहरू नष्ट गर्नेछ ।
हरेक इजरायली बन्धकको शव फिर्ता गरेबापत इजरायलले १५ मृत गाजावासीहरूको शव फिर्ता गर्ने योजनामा उल्लेख छ ।
दुवै पक्षले सहमति गरेपछि पूर्ण सहायता गाजामा तुरुन्तै पठाइने पनि योजनामा उल्लेख छ ।
अमेरिकाले गाजामा भविष्यमा सञ्चालन हुने शासनसत्ता सम्बन्धी आफ्नो योजना पनि प्रस्तुत गरेको छ ।
त्यसअनुसार, प्राविधिक गैरराजनीतिक प्यालेस्टाइन कमिटीले अस्थायी शासन गर्नेछ । त्यसलाई शान्ति बोर्ड नामक नयाँ अन्तर्राष्ट्रिय निकायले सुपरिवेक्षण गर्नेछ । त्यस बोर्डको नेतृत्व ट्रम्पले गर्नेछन् ।
बेलायतका पूर्वप्रधानमन्त्री सर टोनी ब्लेयर पनि यस निकायमा अन्य नेतासँगै रहनेछन् । टोनी ब्लेयरले यस शान्ति योजनालाई साहसी र बुद्धिमत्तापूर्ण भनेका छन् ।
बेलायतका बहालवाला प्रधानमन्त्री सर केर स्टार्मरले यस योजनालाई स्वागत गर्दै सबै पक्षलाई अमेरिकासँग मिलेर यस सम्झौतामा काम गर्न र यसलाई व्यवहारमा ल्याउन आग्रह गरिएको बताए ।
हमासले यस योजनालाई स्वीकार गरेर हतियार बिसाउनुपर्ने र आफ्नो कब्जामा रहेका सबै बन्दीहरूलाई मुक्त गरेर उनीहरूको दुःख अन्त्य गर्नुपर्ने स्टार्मरको भनाइ छ ।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले प्रधानमन्त्री नेतान्याहुको सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताए । सबै पक्षले यो अवसरको सदुपयोग गर्दै शान्तिबहालीमा योगदान गर्नुपर्ने उनको भनाइ छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पनि प्रस्तावको प्रशंसा गर्दै फ्रान्स युद्ध अन्त्य गर्न र बन्दी रिहा गर्नका लागि सहयोग गर्न तयार रहेको बताए ।
शान्ति योजनाका बुँदाहरूले सबै साझेदारहरूसँग गहिरो छलफल गर्ने बाटो खोल्ने र द्विराज्यीय समाधानमा आधारित स्थायी शान्ति बन्न योगदान गर्ने म्याक्रोनको भनाइ छ ।शान्ति योजनामा हमासले शासनमा प्रत्यक्ष, अप्रत्यक्ष वा कुनै पनि किसिमको भूमिका खेल्न पाउनेछैन ।
योजनाको ठूलो भाग अमेरिकाले भन्दै आएको आर्थिक विकास योजनामा केन्द्रित छ । त्यसले गाजालाई पुनर्निर्माण गर्नेछ । इजरायलले गाजालाई कब्जा नगर्ने वा आफूमा नमिसाउने र इजरायलका सैनिकहरू चरणबद्ध रूपमा फिर्ता हुने पनि योजनामा उल्लेख छ ।
ट्रम्पले यसअघि भन्दै आएकोभन्दा फरक कुराका रूपमा प्यालेस्टाइनीहरूलाई गाजाबाट बाहिर निकालिने छैन । बरु, गाजावासीहरूलाई त्यहीँ बस्न प्रोत्साहित गर्ने र सुन्दर गाजा बनाउन अवसर दिने शान्ति योजनामा उल्लेख गरिएको छ ।
यस योजनाले भविष्यमा प्यालेस्टाइनी राज्य बन्ने सम्भावना खुला राखेको छ ।
युद्धविराम वार्ताबारे जानकारी राखेका प्यालेस्टाइनी स्रोतले बीबीसीलाई भनेअनुसार, कतार र इजिप्टका अधिकारीहरूले दोहामा हमासलाई युद्ध अन्त्य गर्ने ह्वाइट हाउसको योजना बुझाएका छन् ।
यसअघि हमासका एक वरिष्ठ नेताले बीबीसीलाई आफूहरू गाजामा युद्ध अन्त्य गर्न सघाउने सबै किसिमका प्रस्ताव अध्ययन गर्न तयार रहेको बताएका थिए । तर, सम्झौताले प्यालेस्टाइनी हितलाई सुनिश्चित गर्नुपर्ने, इजरायली फौज पूर्ण रूपमा गाजाबाट हट्नुपर्ने र युद्ध अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।
हमाससँग रहेको हतियारबारे सोध्दा उनले गाजामा इजरायलको कब्जा रहुन्जेल प्रतिरोधका हतियार लक्ष्मणरेखाका रूपमा रहेको बताए ।
सन् १९६७ मा तय गरिएको सीमा कायम गर्ने गरी स्वतन्त्र प्यालेस्टाइनी राज्यको ग्यारेन्टी दिने राजनीतिक समाधानको ढाँचामा छलफल भएमा मात्र आफूहरूको हतियारको विषयको कुरा उठ्ने उनको भनाइ थियो ।
नेतान्याहुले संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधनका क्रममा कतिपय पश्चिमी मुलुकहरूले प्यालेस्टाइनी राज्यलाई मान्यता दिएको विषयलाई आलोचना गरेलगत्तै शान्ति योजनाको घोषणा भएको हो ।
नेतान्याहुले यसरी प्यालेस्टाइनी राज्यलाई मान्यता दिनु लज्जास्पद भएको बताउँदै यसले यहुदीहरूलाई मार्दा फाइदा हुन्छ भन्ने सन्देश दिएको दाबी गरे ।
उनी भाषण गर्न मञ्चमा जाँदा दर्जनौं अधिकारी र कूटनीतिकर्मीहरू हल छाडेर बाहिरिएका थिए । नेतान्याहुले प्रायः खाली भएको हललाई सम्बोधन गरेका थिए ।
ट्रम्प ह्वाइट हाउसमा फर्किएदेखि नै नेतान्याहुलाई समर्थन गर्दै आएका छन् । तर, पछिल्ला केही हप्तामा उनी इजरायलका कदमप्रति असन्तुष्ट भएका छन् ।
ट्रम्पले अमेरिकाको प्रमुख साझेदारका रूपमा रहेको कतारमा हमास सदस्यमाथि इजरायलले गरेको आक्रमणप्रति असन्तुष्टि जनाए ।
सोमवारको पत्रकार सम्मेलनअघि नेतान्याहुले ह्वाइट हाउसबाट कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुर्रहमान बिन जसिम अल थानीलाई फोन गरेर इजरायली क्षेप्यास्त्र आक्रमणले अञ्जानमा कतारी नागरिकको मृत्यु भएकोमा गहिरो दुःख प्रकट गरे ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा हमास नेतृत्वमा भएको आक्रमणमा करिब १२ सयजना मारिएर २५१ जना बन्धक बनाइएपछि इजरायली सेनाले गाजामा आक्रमण सुरु गरेको थियो ।
त्यसयता गाजामा कम्तीमा ६६ हजार ५५ जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
हालै संयुक्त राष्ट्रसंघले समर्थन गरेको एक निकायले गाजा शहरमा भोकमरी भइरहेको पुष्टि गरेको छ । इजरायलले गाजामा नरसंहार गरेको यसै महिनामा संयुक्त राष्ट्रसंघको एक आयोगले निष्कर्ष निकालेको छ । त्यसलाई इजरायलले कडा रूपमा अस्वीकार गरेको छ ।








प्रतिक्रिया