अझै कति मान्छे मारिरहने भन्दै रुसलाई अमेरिकाका उपराष्ट्रपति भ्यान्सले सोधे प्रश्न

119
Shares

एजेन्सी । अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सले युक्रेन युद्धको वास्तविकतालाई रुसले स्वीकार गर्नुपर्ने बताएका छन् ।

फक्स न्युजलाई अन्तर्वार्ता दिँदै भ्यान्सले भने, ‘हामीले कार्यकाल थालेदेखि नै शान्तिबहालीका लागि प्रयास गरिरहेका छौं । तर, रुसीहरूले निद्राबाट जागेर वास्तविकतालाई स्वीकार गर्नुपर्छ ।’

गत साता राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध जित्नका लागि युक्रेन बलियो स्थितिमा रहेको बताएका थिए र भ्यान्सले त्यही लाइनमा कुरा गरेका हुन् ।

यस युद्धमा दुवैतर्फका गरी लाखौं सैनिक मारिएका छन् । सर्वसाधारण नागरिक पनि हजारौंको संख्यामा मारिएका छन् । संयुक्त राष्ट्रसंघले अहिलेसम्म १४ हजार १०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको सेप्टेम्बर १० मा जनाएको थियो ।

भ्यान्सले पनि मृत्युको संख्या बढिरहेको उल्लेख गरे । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्प र जेलेन्स्कीलाई भेट्न अस्वीकार गरेको उनले बताए । केही हप्ताअघि जेलेन्स्की र युरोपेली नेताहरूसँगको बैठकपछि ट्रम्पले त्रिपक्षीय बैठक हुन सक्ने आशा देखाएका थिए ।

‘धेरै मानिस मरिरहेका छन्,’ भ्यान्सले बताए, ‘उनीहरूले धेरै कुरा देखाउन सकेका छैनन् । अझै कति मानिस गुमाउन उनीहरू तयार छन् ? सानो सैन्य अग्रताका लागि अझै कति मानिसहरू मार्नका लागि उनीहरू इच्छुक छन् ?’

रुसले युक्रेनमा लगातार अग्रता हासिल गरिरहेकाले शान्तिवार्ताको औचित्य देखेको छैन । विगतमा पश्चिमले धोका दिएकाले रुस सशंकित छ ।