
एजेन्सी । अफ्रिकी मुलुक मोरक्कोमा जेनजी युवा प्रदर्शनकारीहरूले आइतवार सरकारविरुद्ध विशाल प्रदर्शन गरेका छन् ।
सरकारले गलत प्राथमिकतामा काम गरिरहेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
सयौं युवाहरूले देशका ११ वटा प्रमुख शहरमा प्रदर्शन गरेका थिए । उनीहरूले भ्रष्टाचार रोक्न पहल नगरिएको र सरकारले स्वास्थ्य तथा शिक्षाको साटो अन्तर्राष्ट्रिय खेलकुदमा पैसा खन्याइरहेको आरोप लगाएका छन् ।
देशको स्वास्थ्य सेवा प्रणालीको स्थिति बिजोग रहेको भए पनि सरकारले सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि लगानी गरिरहेको युवाहरूको आरोप छ । उनीहरूले ‘रंगशाला त बनायौ, खै अस्पताल ?’ जस्ता नारा लगाएका थिए ।
मोरक्कोले तीनवटा नयाँ स्टेडियम बनाइरहेको छ र कम्तीमा आधा दर्जन स्टेडियमको मर्मतसम्भार गरिरहेको छ । उसले अन्य देशसँग मिलेर फिफा विश्वकप आयोजना गर्न लागेको हो । यसै वर्ष मोरक्कोले अफ्रिका कप अफ नेशन्स पनि आयोजना गर्दैछ ।
सादा पोशाकमा रहेका र दंगा प्रहरीले विभिन्न शहरमा प्रदर्शनकारीलाई तितरबितर बनाएका थिए ।
विगत एक दशकदेखि मोरक्कोमा क्षेत्रीय विभेद तथा सरकारका गलत प्राथमिकताको विरोध हुँदै आइरहेको छ । सन् २०२३ को खतरनाक भूकम्पबाट मुलुक अझै पनि तंग्रिन सकेको छैन ।
त्यसमाथि हालैका दिनमा अगादिर नामक स्थानमा आठजना गर्भवती महिलाको सरकारी अस्पतालमा मृत्यु भएपछि जनआक्रोश चुलिएको छ ।
आइतवार प्रदर्शनमा सहभागी भएका दर्जनौं मानिसलाई पक्राउ गरिएको र तीमध्ये कतिपयलाई लछारपछार पनि गरिएको मोरक्कन एसोसिएसन फर ह्युमन राइट्सले जनाएको छ । पक्राउ परेका कतिपयलाई राति रिहा गरिएको थियो ।
विगतमा युनियन वा राजनीतिक दलहरूले प्रदर्शन गर्ने गरेका थिए । तर, आइतवारको प्रदर्शनमा कुनै नेता थिएन । नेपालमा जस्तै टिकटक र डिस्कर्डमा विरोध प्रदर्शनको सन्देश फैलिएपछि युवाहरू सडकमा आएका थिए ।
जेनजी २१२ र मोरक्को युथ भोइसेस नाम गरेका दुई समूहले शान्तिपूर्ण र सभ्य विरोध प्रदर्शनका लागि आग्रह गरेका थिए । तर, कतिपय समर्थकहरूले परिआएमा भिड्नुपर्ने समेत भनेका थिए ।








प्रतिक्रिया