बिमा प्राधिकरण अध्यक्ष शर्माले सम्हाले कार्यभार, सही नियतले काम गर्न कर्मचारीलाई निर्देशन

252
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले अध्यक्षको कार्यभार सम्हालेका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले अध्यक्ष शर्मालाई पद तथा गोपनीयताको शपथ गराएसँगै उनले कार्यभार पनि सम्हालेका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल असोज ९ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष शर्मालाई जिम्मेवारी दिएको हो ।

अध्यक्ष शर्मा हाल अर्थ मन्त्रालय अन्तर्गत कार्यरत छन् । शुक्रबार कार्यभार सम्हाल्दै प्राधिकरणका अध्यक्ष शर्माले हालको कठिन अवस्थामा बिमा सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउँदै बिमा दाबी भुक्तानीलाई छिटोछरितो र प्रभावकारी तुल्याउनु आवश्यक भएको बताए ।

अध्यक्ष शर्माले भने, ‘हालैको नयाँ पुस्ताको आन्दोलनको भावना र बदलिँदो परिवेशमा सरकारले लिएका नीति तथा कार्यक्रम अनुसार समग्र बिमा क्षेत्र सेवाको गुणस्तर बढाउँदै आम नागरिकमा बिमाप्रतिको विश्वास बढ्ने गरी अघि बढ्नु आवश्यक छ, बिमा कम्पनीहरू प्रचलित कानून बमोजिम अघि बढ्नुपर्छ र प्राधिकरणले पनि नियमनलाई थप प्रभावकारी बनाउनुपर्छ ।’

उनले बिमा कम्पनीहरूले दाबी भुक्तानी प्रक्रियालाई झन्झटरहित बनाएर समयमैं दाबी भुक्तानी दिनुपर्ने धारणा राखे । यसो भएमा बिमाप्रतिको विश्वास बढ्ने र दायरा बढ्दै जाने उनको भनाइ छ ।

अध्यक्ष शर्माले सही नियतका साथ गुणस्तरीय र शीघ्र कार्यसम्पादन गर्न प्राधिकरणका कर्मचारीहरूलाई निर्देशन दिए ।