सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण नगर्ने सहकारीलाई कारबाही हुने, २ महिनाकाे समय

819
Shares


काठमाडौं । दुई महिनाभित्र सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त नगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई कारबाही हुने भएको छ ।

सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ कार्यान्वयन गर्दै ६० दिनभित्र दर्ता अभिलेखीकरण गर्न निर्देशन दिएको हो ।

उक्त मापदण्डअनुसार दर्ता अभिलेखीकरण नगरी कारोबार गर्ने सहकारी संस्थालाई सहकारी नियमन प्राधिकरणले कारबाही गर्ने भएको हो ।

प्राधिकरणले ३० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था २ महिनाभित्र सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्न निर्देशन दिएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा कार्यक्षेत्र भई सञ्चालानमा रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई सहकारी नियमन प्राधिकरणले एक ६० दिनधित्र दर्ता अभिलेखिकरण गर्ने निर्देशन दिएको हो ।

सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ मा पहिलो संशोधन गर्दै सहकारीलाई दर्ता गर्न आह्वान गरेको हो । सहकारी संस्थाहरु दर्ता अभिलेखीकरण गर्दा कारोबारका आधारमा १ हजारदेखि १५ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ ।

दर्ता अभिलेखीकरण हुने सहकारी संस्थाले प्रविष्ट गरेको विवरण रुजु गरी प्रक्रिया पूरा भएका सहकारी संस्थालाई विद्युतीय प्रणालीमार्फत सञ्चालन इजाजतपत्र जारी गर्ने बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ मा उल्लेख छ । तर, संघ, प्रदेश र स्थानीय सरकारले समस्याग्रस्त घोषणा गरी कारबाहीको प्रक्रियामा रहेका सहकारी संस्थालाई दर्ता अभिलेखीकरण प्रक्रियामा समावेश नहुने मापदण्डमा उल्लेख छ ।

प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त सहकारी संस्थाले प्रत्येक वर्षको साउन मसान्तभित्र प्राधिकरणले निर्धारण गरेको प्रक्रिया पूरा गरी इजाजतपत्र नवीकरण गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

सहकारी संस्था दर्ता अभिलेखीकरण गर्दा सहकारी संस्थाको नाम ठेगाना, सम्पर्क नम्बर, इमेल, कार्यप्रकृति, दर्ता मिति, दर्ता भएको कार्यालय र ठेगानाका साथै कर्मचारी संख्या समेत पेश गर्नुपर्ने हुन्छ । यस्तै सहकारीको वेबसाइट र सफ्टवेयरको नाम, सेयर सदस्य संख्या र कुल सेयर रकमको विवरण पेश गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

त्यस्तै संस्थाको कार्यान्वयनमा रहेको विनियम, कार्यविधि, नीतिको नाम र कार्यान्वयन भएको मिति, सञ्चालक र लेखा समितिको पूरा विवरण पदावधिसहित पेश गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक वा व्यवस्थापकको पूरा विवरण साथमा शैक्षिक योग्यता, सम्बन्धित कामको अनुभव र पदमा कार्यरत अवधि समेतको विवरण पेश गर्नुपर्नेछ ।

सञ्चालनमा रहेको सेवा केन्द्रको विवरण, कार्यक्षेत्र, सहकारीको दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बरका साथै कर चुक्ताको प्रमणपत्र पनि पेश गर्न निर्देशन दिएको छ ।

रकमका आधारमा १०० ठुला सेयर सदस्य र १०० ठुला ऋणी सदस्यको विवरण पनि पेश गर्नुपर्ने भएको छ ।
यस्तै वित्तीय विरणतर्फ पछिल्लो २ आर्थिक वर्षके लेखापरिक्षण भएको वित्तीय विवरणको आधारमा सेयर पूँजी, जगेडा तथा कोषहरु, कुल जोखिम भारित सम्पत्ती र कुल पूँजीकोषको विवरण समेत पेश गर्न निर्देशन दिएको हो । त्यस्तै सहकराी संस्थाले निजी सम्पत्ती र घरजग्गामा गरेको लगानीको विवरण पनि पेश गर्नुपर्ने भएको छ ।

साथै सहकारीको साधारण, नियमति र आवधिक सहितको कुल निक्षेप, कर्जाको वर्गिकरण अनुसार कुल प्रभाव भएको ऋण र कर्जा नोक्सानी व्यवस्थाको विवरण पनि पेश गर्नुपर्ने भएको छ । ऋण पुर्नरतालिकिकरण भएको रकम र संख्या, निष्केय कर्जाको रकम र अनुपात, कुल सम्पत्ती र कुल दायित्वको विवरण पनि सहकारी नियमन प्राधिकरणमा पेश गर्नुपर्नेछ ।
संस्थाको कुल सञ्चालन आम्दानी तथा खर्च र अन्य आम्दानी तथा खर्चको विवरण पनि पेश गर्नुपर्नेछ । यस्तै खुद नाफा नोक्सान र लेखापरिक्षणको विवरण पनि पेश गर्नुपर्ने भएको हो ।

यस्तै दर्ता अभिलेखिकरण गर्दा पछिल्लो दुई वर्षको साधारण सभा सम्पन्न भएको मिति, उपस्थिति संख्या र उपस्थिति प्रतिशत, गत आर्थिक वर्षमा सञ्चालक समितिको बैठक बसेको कूल संख्याको विवरण पनि पेश गर्नुपर्नेछ ।

यस्तै संघहरुसँगको आवद्धताको विवरण, विवरण प्रविष्टी गर्नेको नाम, पद, सम्पर्क नम्बर मिति, विवरण रुजु गर्नेको नाम, पद, सम्पर्क नम्बर मितिका माथि उल्लेखित विवरण ठीक साँचो हो, फरक परेमा कानुनबमोजिम सहुँला बुझाउँला भनि कार्यकारी प्रमुखको स्वघोषणामा पनि हुनुपर्ने उल्लेख छ ।