
काठमाडौं । अब राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको वैदेशिक भ्रमणमा जम्बो टोली लैजान नपाउने भएको छ ।
अन्तरिम सरकारले राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने वैदेशिक भ्रमणमा प्रतिनिधिमण्डल बढीमा १० जना मात्रै हुनेगरी व्यवस्था गर्नुपर्ने निर्णय गरेको हो । त्यस्तै नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डको विदेश भ्रमणमा ३ जना भन्दा बढी सदस्य नहुने गरी व्यवस्था गर्नुपर्ने निर्णय सरकारले गरेको हो ।
‘सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहने,’ सरकारले निर्णय गरी अर्थमन्त्रालयले गरेको परिपत्रमा भनिएको छ । यसअघि राष्ट्रपति-प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा ५० जनाभन्दा बढीको जम्बो टोली जाने गरेको भन्दै आलोचना हुने गरेको थियो ।
यस्तै नेपाल सरकारको प्रतिनिधित्व सम्बन्धित नियोगबाट हुनसक्ने अवस्था भएमा सम्बन्धित नियोगलाई नै अख्तियारी दिन निर्णय भएको छ ।
सरकारले अत्यावश्यक बाहेकका तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन नगर्ने, सञ्चालन गर्नै पर्ने अवस्थामा सरकारी हलहरूमा र सम्भव भएसम्म अनलाइन तालिम गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाउने निर्णय पनि गरेको छ ।







प्रतिक्रिया