यो वर्षको दशैंका लागि उपत्यकामा १ अर्बको खसीबोका भित्रिँदै

अवैध आयातले स्वदेशी बजार गुम्दैछ: किसान

259
Shares

काठमाडौं । यो वर्षको दशैंबजारलाई लक्षित गर्दै नेपाल व्यवसायिक बाख्रापालक महासंघले काठमाडौं उपत्यकामा मंगलबारदेखि खसीबोका भित्र्याउन लागेको छ ।

महासंघले कम्तिमा १ अर्ब ५ करोड रुपैयाँबराबरको ६० हजार गोटा खसीबोका उपत्यकामा भित्र्याउने तयारी गरेको हो । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरको मुख्य सडक खण्डहरु अवरुद्ध र राजनीतिक अस्थिरताको कारण देखाउँदै यो वर्ष खसीबोका र च्याङग्रा बिक्री नगर्ने निर्णय गरेको छ ।

सरकारी निकायले बजारमा खसीबोका नल्याउने भएपछि महासंघले यो वर्ष ६० हजारको हाराहारीमा विभिन्न जिल्लाबाट खसीबोका भित्र्याउन लागेको हो । महासंघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार यो वर्ष प्रमुख बाटोघाटो पहिरो र बाढीका कारण क्षतिग्रस्त भएपनि उपत्यकामा खसीबोका भित्र्याउन ढिलाई भएको हो ।

‘बाढी पहिरोका कारण गाउँगाँउबाट स्वदेशी खसीबोका संकलन गर्न कठिनाई भइरहेको छ, तीनदिन अवरुद्ध रहेको नारायणगढ–मुग्लिङबाटो आइतबार साँझदेखि खुलेपछि मंगलबार बिहानदेखि उपत्यकामा खसीबोका भित्र्याउने काम सुरु हुन्छ,’ महासंघका अध्यक्ष सुवेदीले भने,‘विपी राजमार्गबाट पनि ल्याउने गरी कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याएका छौं ।’

उनका अनुसार यो वर्ष खरी क्रस, बेयर, जमुनापारी क्रस, सिरोहि क्रस र प्योर खरी जातका खसीबोका बजारमा भित्र्याउन लागिएको छ । रोल्पा, रुकुम, दैलेख, सिन्धुली, नेपालगञ्ज, धादिङ, मकवानपुर, बाँके, प्युठान, बर्दिया, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, बर्दिया, गुलरिया, सल्यान, सुर्खेत नुवाकोट, तनहुँ, तुलसीपुर, चितवन, बारा, पर्सालगयातका जिल्लाबाट खसीबोका भित्र्याउन लागिएको सुवेदीले जानकारी दिए ।

उनकाअनुसार बजारमा ३५ किलोदेखि ४० किलो तौल समूहको अधिकाँश खसीबोका भित्र्याउन लागिएको छ । बजारमा अहिले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ७ सय रुपैयाँ छ । बाहिरी जिल्लाबाट आउने खसीबोकालाई औषत २५ किलोको मान्दा यो वर्ष न्युनतम १ अर्ब ५ करोड रुपैयाँबराबरको ६० हजार गोटा खसीबोका उपत्यकामा भित्रिने सुवेदीको भनाई छ ।

यसरी भित्र्याइएको खसीबोका उपत्यकाको प्रमुख बिक्री केन्द्रहरुबाट बिक्री गरिनेछ ।

कलंकी, जाउलाखेल, सातदोवाटो, भृकुटीमण्डप, कोटेश्वर, तिनकुने, गौशाला, भक्तपुर, लोकन्थली खसीबजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु वाइपास नाका, लगनखेल, धापाखेल आकाशे धारा, सुकेधारा, चन्द्रागिरी(थानकोट) दाउरा डिपो, दहचौंक मुलपानी चौर, चावहिल, सतुङललगायतका दर्जनौं स्थानबाट बिक्री बितरण गर्ने व्यवस्था मिलाइएको सुवेदीले जानकारी दिए ।

भित्र्याइएको खसी भोली बिहानदेखि अष्टमीसम्म बिक्री गरिनेछ ।

यो वर्ष महासंघले जिउँदो खसीबोकाको उपभोक्ता मूल्य पोहोर सालकै कायम गरेको छ । पोहोर प्रतिकिलो जिउँदो खसीबोका ७ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो । यो वर्ष पनि यहि मूल्य कायम हुने सुवेदीले जानकारी दिए ।

उता कलंकीस्थित नेपाल चौपाया बजार तथा बद्यशाला व्यवस्थापन प्राइभेट लिमिटेडका प्रतिनिधी जीवनराज खतिवडाले यो संस्थाले मात्रै कलंकी बजारमा २० हजारको हाराहारीमा खसीबोका भित्र्याउन सुरु गरेको जानकारी दिए ।

उनका अनुसार उपत्यकामा यो वर्ष करिब १२ हजारको संख्यामा च्याङग्रासमेत भित्र्याउन लागिएको छ । च्याङग्राको मूल्य प्रतिकिलो १ हजार २ सय ५० रुपैयाँ छ । खतिवडाले भने जिउँदो खसीबोकाको मूल्य यो वर्षको बजारले तय गर्ने जानकारी दिए।

‘मागअनुसार पर्याप्त परिमाणमा भित्रियो भने मूल्य नबढ्न सक्छ, तर अहिलेको बाटोघाटोका कारण बीच बाटोमै होल्ड हुँदा, लागत खर्च बढेर मूल्य बढ्न पनि सक्छ,’ खतिवडाले भने ।

अवैद्य आयातले किसानको बजार गुम्दै

सुवेदीका अनुसार विभिन्न नाकाहरुबाट भन्सार छलेर आउने भारतीय खसीबोकाका कारण स्वदेशी किसानको बजार गुमेको छ।
विशेषतः लुम्बिनीको नवलपरासी, रुपन्देही, दाङ, बर्दिया, नेपालगञ्ज र महेन्द्रनगरनजिकैको भारतीय सीमा क्षेत्रबाट अवैध रुपमा खसीबोका भित्रिने गरेको सुवेदीले जानकारी दिए ।

‘यस्ता जिल्लाहरुमा सीमा नाकासँगै ‘बिचौलिया’ ले खोर बनाएका छन्, बिचौलियाले भारतबाट भन्सार छलेर एक लटमा २ सय गोटा खसीबोका गाडीमा ल्याएर ति खोरमा जम्मा पार्छन,’ सुवेदीले भने,‘त्यहि खोरमा नेपालमा उत्पादन भएका ५० वटा जति स्वदेशी खसीबोका मिसाएर मिलोमतोको आधारमा क्वारेन्टाइनको कागजात र बील बिजक बनाएर नेपालको उत्पादन भनेर बजारीकरण भइरहेको छ । यसले गर्दा नेपालको किसानले उत्पादन गर्ने खसीबोकाले बजार नपाउने ठूलो समस्या आएको छ ।’

यो समस्याको बिषयमा पशु सेवा विभागसहित पशु क्वारेन्टाइन कार्यालयलाई जानकारी गराएपनि हालसम्म सरोकारवाला पक्षले चासो नदेखाएको सुवेदीले गुनासो पोखेका छन् ।

‘यसले गर्दा भारतबाट विभिन्न प्रकारका खसीबोकामा लाग्ने रोगसमेत भित्रिएको छ भने नेपाली खसीबोकाको बजार गुमेको छ, सरकारी निकायकै मिलोमतोमा अवैद्य रुपमा भारतीय खसीबोकाको खुलेआम तस्करी भइरहेको छ,’ सुवेदीले भने ।

एक व्यापारीका अनुसार सरकारले मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेपनि बजारमा उपलब्ध खसीबोकामध्ये झण्डै ३० देखि ४० प्रतिशत भारतबाट आयात भएको खसीबोका हो ।

स्वदेशी खसीबोकाको तुलनामा भारतीय खसीबोकामा मासु ठूलो परिमाणमा निस्किने भएकाले व्यवसायिक प्रयोजनको लागि बजारमा बढि भारतीय खसीबोका खपत हुने गरेको ति व्यापारीले जानकारी दिए ।

‘रकम चलखेलको आधारमा पशु चिकित्सक र सुरक्षाकर्मीको मिलोमतोमा क्वारेन्टाइन कागजात बनाएर ठूलो संख्यामा भारतबाट खसीबोका भित्रिने गरेको छ,’ ति व्यापारीले भने ।

दशैंमा आठ दोब्बरले मासुको खपत बढ्ने

पशु सेवा विभागका अनुसार दसैंको समयमा उपत्यकामा ५० देखि ६० हजारको संख्यामा खसीबोकाको व्यापार हुँदै आएको छ। यस्तै ३ हजारको संख्यामा च्याङग्रा र ५ सयको संख्यामा राँगा खपत हुन्छ ।

सामान्य समयमा राजधानीमा मात्रै दैनिक १ हजार २ सयको संख्यामा खसीबोका खपत हुँदै आएको छ ।

विभागका अनुसार दसैंको ७ दिनको अवधीमा मासुको अत्यधिक खपत हुन्छ । दसैँको समयमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढ्छ । सप्तमीदेखि प्रतिव्यक्ति मासुको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर दुई सय १२ ग्रामसम्म पुग्छ ।

उपत्यकाको बजारमा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ्य खसीबोकालाई मात्रै बिक्री गर्नका लागि अनुमति दिइने पशु सेवा विभागले जनाएको छ ।