
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ । उनीविरुद्ध भ्रष्टाचारका गम्भीर आरोप लागेका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री कार्कीले उनको नाम फिर्ता लिने तयारी गरेकी हुन् ।
आइतबार मात्रै प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् ।
तर, मिश्राको नाम विवादित बनेपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो । प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयलाई सिफारिस भएका मन्त्रीको नियुक्ति तत्काल नगर्न भन्दै ‘होल्ड’ गरेकी थिइन् । सोमबार दिउँसो २ बजे मन्त्रीहरुको सपथको तयारी भए पनि त्यसअघि मन्त्रिपरिषद् विस्तारमा फेरबदल हुने सम्भावना रहेको स्रोचको दाबी छ ।
स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. मिश्राले मन्त्री बन्ने भएसँगै पदबाट राजीनामा दिएकी थिइन् । उनी स्वास्थ्य सचिव हुन नपाएको झोकमा ६ महिना बिदामा बसेकी थिइन् र गत २१ फागुनमा विकास देवकोटालाई सचिवमा नियुक्त गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन् ।
स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा उनले निश्चित स्वास्थ्य उपकरण आपूर्तिकर्ताको स्वार्थमा काम गरेको आरोपमा अनुसान्धान भइरहेको छ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतकै पालामा मिश्रासहित विश्वासिलो समूहमार्फत विभागमा अनियमितता भएको आरोप छ । विभाग प्रमुख हुँदा भएका अधिकांश स्वास्थ्य सामग्री तथा उपकरण खरिद निश्चित व्यापारिक समूहलाई लाभ पुग्ने गरी गरिएको बताइन्छ । त्यसपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उनको सरुवा गरी विकास देवकोटालाई विभाग प्रमुख बनाएका थिए ।








प्रतिक्रिया