बिमा प्राधिकरणमा देखिएको नेतृत्वको अस्थिरतालाई अन्त्य गर्न कर्मचारीको माग

105
Shares

काठमाडौं । बिमा क्षेत्रको नियामक नेपाल बिमा प्राधिकरणमा देखिएको नेतृत्वको अस्थिरतालाई अन्त्य गर्न कर्मचारीले माग गरेका छन् ।

एक वर्षको अवधिमा ४–५ पटक अध्यक्ष परिवर्तन हुँदा बिमा क्षेत्र र कर्मचारीको मनोबल खस्किन पुगेको भन्दै कर्मचारीहरुले यो अवस्था अन्त्य गर्न माग गरेका हुन् ।

नेपाल बिमा प्राधिकरण कर्मचारी यूनियन र नेपाल बिमा प्राधिकरण कर्मचारी संगठनले संयुक्त ध्यानाकर्षणपत्र जारी गर्दै यो किसिमको अवस्थाले बिमा व्यवसायको विश्वसनीयता र प्रभावकारितामा नकारात्मक असर पर्ने समेत जनाएका छन् ।

जारी ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘वित्तीय प्रणालीको महत्वपूर्ण क्षेत्र तथा बिमा क्षेत्रलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनिय बनाउन जारी भएको बिमा ऐन, २०७९ मा अध्यक्षको योग्यता, नियुक्ति तथा पदावधिको सम्बन्धमा स्पष्ट व्यवस्था रहेको अवस्थामा विगत एक वर्षदेखि यस कार्यालयमा अध्यक्षको नियुक्ति प्रकृयामा देखिएको अस्थिरता सम्बन्धमा प्राधिकरणका कर्मचारीहरुको ध्यानाकर्षण भएको छ । यस अवस्थाले कर्मचारी तथा बिमा क्षेत्रका सबै सरोकारवालाहरुमा एक किसिमको नैराश्यता उत्पन्न भएको छ ।’

कर्मचारीहरुले हाल देशमा भइरहेको विषम परिस्थितिलाई मध्येनजर गर्दा समेत बिमा क्षेत्रको महत्वलाई उजागर गरी राज्य तथा जनमानस (बिमित) मा भएको आर्थिक क्षतिबाट पुनरुत्थान गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने समयमा नियामक निकायमा देखिएको नेतृत्वको अस्थिरता उचित नभएको कर्मचारीको भनाइ छ ।

‘एक वर्षको अवधिमा चारपाँच पटक अध्यक्ष परिवर्तन भइरहेको सन्दर्भमा समग्र बिमा क्षेत्र तथा कर्मचारीहरुको मनोवल खस्किएको हुँदा यथाशक्य निकास दिई हालको परिस्थितिलाई सहजिकरण गर्ने बातावरण सृजना गरिदिन ध्यानाकर्षण गराउन चाहन्छौं,’ कर्मचारीले भनेका छन् ।