
विराटनगर । विराटनगरको मारवाडी समुदायका प्राय: सवै युवा पुस्ता उद्योग र व्यापारमा संलग्न छन् । उनीहरु उद्योग र व्यवसायमा नयाँ प्रविधिको खोजी गरिरहेका छन् । तर, त्यही समुदायका सन्तोष राठी भने पुर्खाले गर्दै आएको उद्योग व्यवसाय छाडेर बैंकको जागिर तर्फ लागे । उनी यसबेला एनआईसी एशिया बैंकको कामु सीईओ बनेका छन् ।
बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले दिएको राजीनामा स्वीकृत गर्दै बैंक सञ्चालक समितिले गत साता कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
२०७९ मा दोस्रो कार्यलकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका न्यौपानेले कार्यकाल सकिनुभन्दा एक वर्षअघि नै राजिनामा दिएसँगै राठीले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।
बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत राठीलाई बैंकले सीईओ नियुक्त नहुँदासम्म कामु सीईओको जिम्मेवारी दिएको हो । राठीलाई नै बैंकले सीईओ नियुक्त पनि गर्न सक्नेछ ।
सन्तोष विराटनगरको मारवाडी समुदायमा सामान्य परिवारका प्रतिनिधि हुन् । उनका बुबा शंकर भन्सार एजेन्ट थिए । उनका दाजु प्रदिप कपडाका व्यापारी हुन् । सन्तोष न त बुबासँगै भन्सार एजेन्टको काम सिक्न हिँडे न त दाजुसँग कपडाको व्यापार गर्न मिटर समाउन विराटनगरको मेन बजारमा रहेको पसल पुगे ।
उनका दाजु प्रदिपको अहिले पनि विराटनगरमा जय शंकर जेनेरल स्टोर र भारतको जोगबनीमा कपडाको नारायण स्टोर छ ।
बुवा र दाजुको पेसातर्फ सन्तोष आर्कषित भएनन् । उनलाई पढ्ने र क्रिकेटर बन्ने हुटहुटी चल्यो । त्यसैक्रममा उनी २०४८ साल तिर विराटनगरको युथ क्रिकेट क्लबमा छिरे । त्यही क्लबमा रहेर एक दशकसम्म क्रिकेट खेल्दा उनी राष्ट्रिय टोलीमा समावेश भए । अलराउण्डर सन्तोष ओपनर फाष्ट बलर र ब्याटिङ गर्थे । उनी भन्छन्, ‘क्रिकेट मेरो प्यासन थियो ।’
२०४८ सालमा धनगढीमा भएको राष्ट्रिय प्रतियोगितामा उनले पूर्वाञ्चलवाट डेब्यू गरे । त्यसपछि उनले एक दशकसम्म राष्ट्रिय क्रिकेट खेले । त्यसबखत उनी क्लब स्तरीय म्याच खेल्न पाकिस्तानको कराँची, भारतको बंगलोर, दिल्ली, रायपुर र इन्दोरसम्म पुगे ।
यहाँको अरनिको बोडिङ स्कुलवाट एसएलसी, देवकोटा उच्च माविवाट प्लस टु, कोशी कलेजबाट व्यवस्थापनमा स्नातक र यहीको डिग्री कलेजबाट स्नातकोत्तर उत्तीर्ण गरेका सन्तोश क्रिकेट खेलसँगै यहीको कोशी र मेरिल्याण्ड कलेजमा पढाउथे पनि ।
क्रिकेट खेल्ने र कलेज पढाउने सिलसिलामा सन्तोषलाई बैंकमा जागिर खाने नयाँ हुटहुटी चल्यो । परिवारका सबै सदस्यले उनलाई जागिर नखाई उद्योग खोल्ने वा व्यापार गर्न सुझाए । परिवारका कान्छ र प्याउला अनि दृण स्वभावका सन्तोष परिवारको सुझाव नमानी बैंकको जागीर खोज्न भौतारिए ।
त्यसैक्रममा उनी सन् २००३ मा कुमारी बैंकको सहायक सुपर भाइजरमा नियुक्त भए । उनले त्यहाँ चारवर्ष अनुभव बटुले । त्यसपछि उनी बैंक अफ एशियामा सिनियर अफिसरमा नियुक्त हुँदै ब्राञ्च म्यानेजर भए ।
त्यसैबेला बैंक अफ एशिया र नेपाल इन्ड्रष्टेरियल कर्मशीयल बैंक मर्ज भएपछि एनआईसी एशिया बैंक बन्यो । सन्तोष त्यो बैंकको विराटनगर शाखाको पहिलो म्यानेजर बन्दै अहिले यही बैंकको कामु सीईओ छन् ।
उनी भन्छन्, ‘पूर्खाले गर्दै आएको पेशा छाडेर आफनो बेग्लै परिचय बनाउने लक्ष्य थियो, अहिले त्यसकै लागि संघर्ष गरिरहेको छु।’







प्रतिक्रिया