
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापतिमाथि भएको सांघातिक आक्रमणपछि पनि पार्टीभित्रका जिम्मेवार नेताहरू आवश्यक संवेदनशीलता नदेखाएको टिप्पणी गरेका छन् ।
भदौ २४ गते प्रदर्शनकारीले गरेको आगजनीका कारण क्षति पुगेको आफ्नै घरमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले विशेषगरी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै भने, ‘नेतृत्वमाथि यस्तो ठूलो हमला भएको बेलामा पनि जिम्मेवार नेताहरू असंवेदनशील हुनु दुर्भाग्यपूर्ण हो ।’
उनका अनुसार घाउ निको नहुँदै पार्टीभित्र सुरु गरिएको विवादलाई गम्भीरतापूर्वक लिनुपर्नेछ। ‘पार्टी एक भएर कमजोरी सच्याउँदै अघि बढ्ने बेला उल्टै घाउमा नुन छर्ने काम भइरहेको छ,’ महतले भने ।
२३ गतेको आन्दोलनअघि सभापतिको नेतृत्वको खुलेरै प्रशंसा गर्नेहरूले परिस्थिति बदलिँदै जाँदा तुरुन्तै आलोचना सुरु गरेको उदाहरण प्रस्तुत गर्दै उनले सो प्रवृत्तिप्रति प्रश्न उठाए। ‘चार दिनअघि ठीक भनेर साथ दिनेहरू अहिले परिवर्तनको माग गर्दै छन्। तत्कालै कुरा उल्टिनु के अर्थ हो?’ उनले भने ।
महतले सभापतिको उपचार जारी रहेको उल्लेख गर्दै उपचार सकिएपछि मात्रै पार्टी नेतृत्वबारे गम्भीर छलफल गर्न सकिने स्पष्ट पारे। ‘छलफलका लागि पार्टीका संरचना छन्—केन्द्रीय समिति छ । त्यहाँ मूल्यांकन गरेर सुधार गर्न सकिन्छ। तर, अभिभावकमाथि हमला भइसकेपछि उपचार पूरा नभएसम्म पनि नपर्खिनु पर्ने ?’ उनले प्रश्न गरे ।
उनले कार्यसम्पादन समितिले आधिकारिक निर्णय नगरी जिम्मेवार नेताहरूले अलग्गै बहस चलाउन थालेकोमा आपत्ति जनाउँदै यसले पार्टीलाई मात्र नभई मुलुकलाई समेत अस्थिरतामा धकेल्ने चेतावनी दिए ।
‘सहज हुँदा हदसम्म प्रशंसा गर्ने अनि कठिनाइ बढ्दा गाली गर्ने प्रवृत्ति उपयुक्त होइन,’ उनले भने, ‘हामी संयमित र सन्तुलित बनौं, गहिरो छलफल गरेर सामूहिक निष्कर्ष निकालौं। अहिलेको अप्ठ्यारो परिस्थितिमा यही बाटो उपयुक्त हुन्छ ।’








प्रतिक्रिया