चारपटक चुनाव जितेँ तर मन्त्री भइनँ, मेरै घर जल्यो: शशांक कोइराला

679
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनी जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।

उनले वास्तविक जेन–जी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको बताएका छन् । उनले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए ।

‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरु मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको र छातिमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन । घुसपैठहरु आन्दोलनमा घुसेका छन् । सबैभन्दा पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्यो । उनीहरुले तीन वटा कुराहरु उठाए ।’

आफूले कहिल्लै भ्रष्टाचार नगरेको र मन्त्री समेत नभएको भए पनि घर जलाइएको भन्दै उनले आपत्ति जनाए।

‘मेरो घर पनि जल्यो । मैले के गल्ति गरेको थिए ? थाहा छैन । चार चोटी जितेँ तर मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ,’ उनले भने, ‘मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’

उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।