
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोको पछाडिपट्टि र गर्धनमा चोट लागेर करिब १२ वटा टाँका लगाइएको छ।
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमै रहेका देउवा दम्पतीमाथि प्रदर्शनकारीहरूले आक्रमण गर्दा उनीहरू घाइते भएका थिए। त्यसलगत्तै नेपाली सेनाले उद्धार गरी शिवपुरीस्थित सैनिक अस्पतालमा उपचारको व्यवस्था गरेको थियो।
देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि छलफल भएको छ। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिए।
‘सभापतिज्यूको टाउकोमा गम्भीर चोट लागेर टाँका लगाइएको छ, गर्धनमा पनि चोट छ। तर दुवै घाउ क्रमशः निको हुँदै गएका छन्। उहाँ सामान्य रूपमा बोल्न र हिँड्न सक्नुहुन्छ,’ विश्वकर्माले भने। उनका अनुसार देउवा अहिले पार्टीका साथीहरूसँग संवाद गर्न सक्ने अवस्थामा छन्। तर ‘उठ्दा चक्कर लाग्ने र बोल्दा असजिलो हुने समस्या देखिएकाले केही दिन थप उपचारमा रहनुपर्नेछ।’
उनले देउवाकी पत्नी आरजु राणा देउवाको स्वास्थ्यमा पनि उल्लेखनीय सुधार भएको जानकारी दिए। घाइते अवस्थामा भेटिएका घाउको स्वरूप हेर्दा उनीहरूलाई सिसा, रड वा धारिलो हतियार प्रयोग गरेर आक्रमण गरिएको हुनसक्ने अनुमान गरिएको छ।
वर्तमानमा देउवा दम्पती दुवैको उपचार सैनिक अस्पतालमै भइरहेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।










प्रतिक्रिया