
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई प्रतिक्रान्तिकारी खतराबाट जोगाउन पार्टी पुनर्गठन नै पहिलो पूर्वशर्त भएको बताएका छन्।
जेनजी आन्दोलन र त्यसपछिको अवस्थामाथि समीक्षा गर्दै उनले पार्टी सचिवालय बैठकमा संगठन र नेतृत्व पुनर्गठनको प्रस्ताव अघि सारे ।
उनको भनाइमा, ‘जनतामा नयाँ आशा र विश्वास जगाउन, लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउन, रूपान्तरणकारी नीति–कार्यक्रमका आधारमा राजनीतिक यात्रा अगाडि बढाउन र मुलुकलाई प्रतिक्रान्तिकारी संकटबाट बचाउन अहिलेको अपरिहार्य शर्त भनेको नीति र नेतृत्व दुवैको पुनर्गठन हो। समयको पदचाप सुन्न नसक्ने नेताहरूका कारण धेरै राष्ट्रहरू ठूला धक्का खाएका छन्, हामी पनि त्यसका भुक्तभोगी हौं।’
भुसालले मुलुक क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरणमा प्रवेश गरेको निष्कर्ष निकाल्दै अबका पार्टीहरूले पुनर्गठन नगरी जनतासामु जान असम्भव हुने तर्क प्रस्तुत गरे।
उनले भने, ‘यस विषयमा पार्टीव्यापी छलफल सुरू गरौं। यदि मुख्य मुद्दा बेवास्ता गरेर अन्य विषयलाई प्राथमिकता दिन थाल्यौं भने समाजले हामीलाई अस्वीकार गर्नेछ। पार्टी पुनर्गठन र राष्ट्रिय पुनरुत्थानबारे बहस हाम्रो पहलबाट सुरू हुनु सम्पूर्ण पार्टी परिवारका लागि गौरवको कुरा हुनेछ। यस्तो राष्ट्रिय बहसमा विचार र कार्यक्रमका आधारमा अगाडि बढ्ने पर्याप्त क्षमता हाम्रो पार्टीसँग छ। हाम्रा कमी–कमजोरी पूरा गर्न अरूबाट सिक्न पनि तयार छौं। भयानक दुर्भाग्यसँगै इतिहासले हामीलाई नयाँ निर्माणको अवसर पनि दिएको छ।’










प्रतिक्रिया