देउवा निवासको पानीट्यांकीलाई पैसाको सुरुङ भनेर सामाजिक सञ्जालमा फैलिएका समाचार भ्रामक: कांग्रेस

231
Shares

काठमाडौं। गत भदौ २३ र २४ गते जेन-जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनक्रममा ज्यान गुमाएका प्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा आन्दोलनलाई धमिलो बनाउन विभिन्न समूहहरूले आ-आफ्नो कुत्सित मनसाय पूर्ति गर्ने उद्देश्यले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गरेको आरोप लगाइएको छ । यस क्रममा राजनीतिक दलका कार्यालय र नेताहरूको निजी निवासमाथि समेत आक्रमण भएको उल्लेख गरिएको छ ।

भदौ २४ गते डकैतीको शैलीमा कांग्रेस सभापति देउवाको निजी निवासमा प्रवेश गरी देउवा, धर्मपत्नी तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित परिवारमाथि सांघातिक आक्रमण भएको कांग्रेसले जनाएको छ ।

तर, उक्त जघन्य घटनापछि देउवा निवासमा ‘अत्याधिक पैसा भेटिएको’, ‘जलेका नोटहरू भेटिएको’, ‘पैसाको सुरूङ रहेको’ भन्ने कपोकल्पित समाचारहरू सामाजिक सञ्जालमा फैलाइएको कांग्रेसको भनाइ छ । कांग्रेसले यस्ता दृश्यहरू अतिरञ्जित, भ्रामक र बदनाम गर्ने नियतले प्रवाह गरिएको स्पष्ट पारेको छ ।

कांग्रेसले दुई बुँदामा स्पष्ट पार्दै भनेको छ:

१. निवास परिसरमा देखाइएको अण्डर ग्राउण्ड ट्याङ्की वास्तवमा पानी ट्याङ्की हो, अन्यथा होइन ।
२. विभिन्न समयमा विभिन्न स्थानमा देखिएका जलेका नोटका दृश्यहरू जोडेर प्रविधिको दुरुपयोगसहित सम्पादित सामग्री यूट्यूब र सामाजिक सञ्जालमा प्रसारित गरिएको हो, जसमा कुनै सत्यता छैन ।

कांग्रेसले यस्ता भ्रामक सूचनाको पछि नलाग्न आम नेपाली जनता, पार्टीका नेता–कार्यकर्तालगायत सबैसँग हार्दिक अनुरोध गरेको छ ।

‘यस्ता बदनाम गर्ने नियतले फैलाइएका हल्लामा कुनै सत्यता छैन,’ शरबहादुरका स्वकीय सचिव भानु देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Skip This