
काठमाडौं । विदेशीहरुले नेपाल सरकारलाई कार्डबाटै रकम भुक्तानी गर्न पाउने भएका छन् । अहिलेसम्म नगद वा बैंकिङ माध्यमबाट मात्र पैसा तिर्न मिल्ने गरेकामा अबदेखि अन्तर्राष्ट्रिय आबद्धता भएका कार्डबाटै रकम भुक्तानी गर्न मिल्ने भएको हो ।
महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि अन्तरआबद्धताको सुभारम्भ गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले कार्डबाट रकम तिर्न मिल्ने प्रणाली सुरुवात गरे ।
सेवा सुरुवात भएसँगै विदेशबाटै वा बिमानस्थलसहित नेपालको अध्यागमन कार्यालयमा कार्डबाटै सरकारलाई पैसा तिर्न सक्नेछन् । साथै भिसा थप गर्दा पनि मास्टर कार्ड, भिसा कार्ड, अलिपे लगायत कार्डबाटै पैसा तिर्न सकिनेछ ।
राजस्व व्यवस्थापन सूचना प्रणाली (रिम्स)मा इन्टरनेसनल कार्ड नेटवर्कको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेको सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस बनाउनुका साथै चौबिसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित हुनुका साथै राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुन गई डिजिल इकोनोमी प्रबद्र्धनमा टेवा पुग्ने महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दिपक लामिछानेले बताए ।
लामिछानेका अनुसार विदेशी नागरिकले नेपाल सरकारको सेवा लिँदा (उदाहरणका लागि भिसा शुल्क तिर्नुपर्दा) कार्डमार्फत् भुक्तानी गर्न सकिन्छ , वा पुरानै विधिबाट पनि रकम तिर्न सकिन्छ । ‘परीक्षण अवधिमा ३०० सय वटा भुक्तानी सतप्रतिशत सफल भएका छन् । रिम्स र नेपाल क्लियरिङ हाउसको अन्तरआबद्धतामार्फत् विदेशी नागरिकलाई नेपाल सरकारको सेवा लिन सहज बनाइएको छ,’ लामिछानेले क्लिकमान्डुसँग भने ।
पहिलो चरणमा अध्यागमनसम्बन्धि राजस्व भुक्तानी गर्न यस्तो व्यवस्था गरिएको छ । यो व्यवस्थाले त्रिभुवन बिमानस्थल लगायतबाट नेपाल आउने पर्यटकले सरकारको सेवा सजिले पाउन सक्ने लामिछानेको भनाई छ । उनका अनुसार आगामी दिनमा पर्यटन बोर्ड, तथ्यांक कार्यालयलगायत निकायको भुक्तानी पनि कार्डबाटै गर्न मिल्ने गरी पूर्वाधार विकास गरिनेछ ।







प्रतिक्रिया