
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज भएको सो कुराकानी करिब २० मिनेटसम्म चलेको प्रधानमन्त्री कार्यालयका अधिकारीले जानकारी दिएका छन् ।
वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिँदै नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरिन् । साथै, उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै शान्तिपूर्ण संक्रमणका लागि सबैसँग सहकार्य गरिरहेको बताइन् ।
भारतीय प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्दै पछिल्लो समय नेपालको शान्तिपूर्ण संक्रमणमा सफलता मिलेकोप्रति खुशी व्यक्त गरे । उनले लोकतान्त्रिक प्रक्रिया, पुनर्निर्माण र विकासमा भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
परराष्ट्र मन्त्रालयका अधिकारी पनि उपस्थित रहेको सो वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका मुद्दा र साझा चासोका विविध विषयमा छलफल भएको जनाइएको छ ।








प्रतिक्रिया