
काठमाडौं । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शीर्ष नेताहरुको असफलताकै कारण लोकतन्त्र कमजोर बनेको र जेन जी आन्दोलन जन्मिएको बताएका छन् ।
उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेका नेताहरु असफल भइसकेको प्रमाण जनताले सडकमा देखाइसकेको भन्दै अब उनीहरुले पदबाट राजीनामा दिनुपर्ने टिप्पणी गरे ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आचार्यले सरकारको पतनसँगै कांग्रेस र एमालेका नेताहरुले आफ्नै पार्टीमा समेत राजीनामा बुझाउनुपर्नेमा त्यो नभएको बताए ।
आन्दोलनमा टेकेर भएका तोडफोड, आगजनी, हत्या र अपराधले शीर्ष नेताहरु शासन सञ्चालनमा पूर्ण असफल भएको प्रस्ट भएको उनको भनाइ छ ।
उनले भने, ‘यी नेताहरुले अब हाम्रो बाटो यही हो, अब हामीलाई विदा दिनुस् भनेर कार्यकर्तासमक्ष स्पष्ट भन्नुपर्ने हो।’
आचार्यले कार्यकर्ताहरुले सचेत भएर शीर्ष नेताहरुलाई अब पार्टीबाट बिदाइ गर्नुपर्नेमा जोड दिए।
त्यससँगै उनले जेन जी आन्दोलनलाई भविष्यउन्मुख र उदाहरणीय भनेका छन्। भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउँदै ज्यानसम्म गुमाउनुपरेको यो आन्दोलन निःस्वार्थ र त्यागपूर्ण रहेको उनको मूल्यांकन छ । नेपालको इतिहासमा २००७ सालदेखि अहिलेसम्मका आन्दोलनकारी सत्तामा जान आतुर हुने गरेको तर जेन जी पुस्ताले सत्ता प्राप्तिको लालसा नराखी, बरु अनुभवसहितका व्यक्तिलाई सत्ता सुम्पेर नयाँ परम्परा स्थापित गरेको उनले बताए।
उनका अनुसार जेन जी पुस्ताले आफूहरु आन्दोलन गर्न र सत्ता परिवर्तन गर्न सक्षम भए पनि शासन सञ्चालनका लागि अझ अनुभव आवश्यक छ भन्ने कुरा खुलेर स्वीकार गरेर नयाँ मानक कायम गरेको छ।’यो आन्दोलनले निःस्वार्थपन, त्याग र नयाँ सोच प्रस्तुत गरेको छ। पुरानो पुस्ताले नबुझेका कुरा अहिलेको पुस्ताले बुझेको छ। त्यसैले यो आन्दोलनलाई धन्यवाद दिनुपर्छ,’ आचार्यले भने।










प्रतिक्रिया