
काठमाडौं । दशैं नजिकिँदै जाँदा सर्वसाधारणहरू काठमाडौं छाडेर गाउँघर तिर फर्किन थालेका छन् । दिनप्रतिदिन काठमाडौं छोड्नेको संख्या बढिरहेको छ ।
मानिससँगै उत्तिकै संख्यामा सवारी साधन पनि काठमाडौंबाट बाहिर जान्छन् । काठमाडौंको गोंगबु बसपार्कबाटै एक दिन मा ४०० ठूला बस, कोटेश्वरबाट ९०० भन्दा बढी बस र माइक्रो तथा बल्खु, चाबहिल र कलंकीबाट क्रमशः ७००, २०० र ३०० भन्दा बढी र अन्य स्थानबाट पनि ५०० भन्दा बढी सवारी गरी ३ हजार भन्दा बढी सवारी साधन काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् ।
अनुमानित एउटा सवारीले २५ यात्रु बोक्दा पनि दैनिक ७५ हजार यात्रु काठमाडौंबाट बाहिरिने गरेको भन्न सकिन्छ । घटस्थापना पछि त दैनिक १ लाख ५० हजारभन्दा बढी यात्रु बाहिरिन्छन् । फूलपातीको अघिल्लो दिनबाट झनै यात्रुको चाप बढ्छ । प्रतिदिन ३ लाख भन्दा बढी यात्रु बाहिरिन थाल्छन् ।
तर यो वर्ष देशभरका सडकको खराब अवस्था र भरपर्दो व्यवस्था नहुँदा सर्वसाधरण त्रासमा छन् । एक त देशभरका सडकको अवस्था खराब त्यसमाथि दशैंको मुखमा मनसुन सक्रिय हुँदै जाँदा झनै त्रास बढेको छ ।
बाढी पहिरोका कारण धेरै ठाउँका सडक र पुलहरु भत्केका छन् । पानी परेका कारण प्राकृतिक प्रकोपको जोखिम बढेको छ । हिमाली र पहाडी बाटोमा निरन्तर रुपमा पहिरो जाने क्रम रोकिएको छैन । काठमाडौंबाट बाहिरिने सबै सडक अहिले क्षतिग्रस्त र भत्केको अवस्थामा छन् । अर्कोतर्फ जेनजी आन्दोलनको क्रममा अधिकांश प्रहरी चौकीहरु तोडफोड र आगजनी समेत भएकाले सुरक्ष पाइने पक्का छैन । लुटपाटको डर पनि उत्तिकै छ । त्यसैले यो वर्ष दशैंमा यात्रा गर्दा धेरै नै जोखिम हुनेछ ।
यात्रुको संख्या बढी र सवारीसाधनको संख्या कम हुदा सर्वसाधरणलाई बसको टिकट लिन समेत हम्मेहम्मे परेको छ। यस्तो अवस्थामा कसरी सुरक्षित यात्रा गर्ने त ?
यातायात विज्ञ आशिष गजुरेलका अनुसार यो समस्या समाधानका लागि अलिकति ‘आउट अफ द बक्स’ सोच आवश्यक छ । दशैंको समयमा मात्रै नयाँ बस किन्ने सम्भावना नभएकाले नेपाल प्रहरी, आर्मी, सरकारी निकाय र निजी स्कुल कलेजका बसहरूलाई प्रयोग गरेर यातायात व्यवस्थापन गर्न सकिन्छ ।
ती बसको सवारी सुरक्षा र चालकको दक्षता जाँच गरेर प्रयोग गर्न सकिन्छ । न्यूनतम शुल्क लिएर सार्वजनिक यातायातसँग जोड्न सकिन्छ । यस्तो गर्दा यात्रुहरूको संख्यालाई आवश्यकतानुसार व्यवस्थित गर्न सकिन्छ ।
त्यस्तै डिजिटल माध्यमबाट टिकट बुकिङ गरेर यसलाई अझ व्यवस्थित बनाउन सकिने यातायात विज्ञ गजुरेल बताउँछन् । कार्यालयहरूले पनि दशैंको समयमा छुट्टै छुट्टी तालिका बनाएर पनि यात्रा चाप कम गर्न सकिने सम्भावना उनको भनाई छ ।







प्रतिक्रिया