जोगवनी नाकाबाट भारत प्रवेश गर्न परिचयपत्र अनिवार्य

दशैंका लागि सामान किन्न जानेहरू प्रभावित


विराटनगर । जेन–जीको आन्दोलनपछि गठित अन्तरिम सरकारको गृह प्रशासनले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा कडाइ गरेको छ । योसँगै अब भारतीयले नेपाल आउँदा र नेपालीले भारत जाँदा आफ्नो परिचय खुल्ने परिचयपत्र देखाउनु पर्ने व्यवस्था लागू भएको छ।

स्थलमार्ग हुँदै राजनीतिक दलका कहलिएका नेता भाग्ने स्थिति रहेको भन्दै यस्तो कडाइ गरिएको सर्वसाधारणको बुझाइ छ । तत्कालीन शाही शासनको समयमा पनि केही समय यस्तो कडाइ गरिएको थियो ।

दुबै देशका सुरक्षा अधिकारीको समन्वयमा अहिले सीमा नाकामा कडाइ गरिएको हो । जेन–जीको आन्दोलनका कारण पछिल्लो समय भएको लुटपाट, आगजनी र कारागारबाट फरार भएका कैदीहरूको पहिचानका लागि पनि सीमामा परिचयपत्र देखाएर मात्र आवतजावत गर्ने व्यवस्था गरिएको सुरक्षा स्रोतको भनाइ छ ।

यहाँको सीमानाका रानीमा नेपालतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने गरेका छन् भने भारततर्फ भारतीय सीमा सुरक्षा बलले नाकामा सुरक्षा गर्ने गरेको छ । अहिले रानी सीमानाकाबाट कुनै पनि निजी तथा सार्वजनिक सवारीलाई आवतजावत गर्न दिइएको छैन । पैदल यात्रुलाई मात्र आवतजावत गर्न दिइएको र नाकाको ढाट लगाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुबै देशको सुरक्षालाई ध्यानमा राखेर सीमामा कडाइ गरिएको बताए। नेपालका जेलबाट फरार भएका कैदीबन्दी र नेपालको अहिलेको तरल राजनीतिक अवस्थामा भारतबाट हुने घुसपैठलाई रोक्न दुबै तर्फको सुरक्षा अवस्था कडाइ गरिएको प्रष्ट्याएका छन् ।

दुबै मुलुकको सुरक्षा निकायबीच भएको समन्वयका आधारमा नाकामा केही कडाइ गरिएको र नेपालबाट भारत जानेहरुलाई परिचयपत्र देखाएर जान दिने र भारतबाट आएकाहरुलाई शंका लागेमा नेपाली सुरक्षाकर्मीले चेकजाँच गरेर मात्र प्रवेश दिने व्यवस्था गरिएको यादवको भनाइ छ ।

दुई दिनदेखि सीमानाका जोगवनीबाट भारत प्रवेश गर्न नेपालीले परिचय खुल्ने कागजात बोक्नु पर्ने भएको छ । यो कडाइले दशैंको किनमेल गर्न जोगवनी जाने सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

परिचयपत्र देखाउनुपर्ने भएपछि कतिपयले किनमेल गर्न जोगवनी बजार नगई फर्किने गरेका छन् । पछिल्लो समय नेपालमा देखिएका असहज परिस्थिति र कारागारबाट भागेका कैदीबन्दी र अन्य आतंककारी सजिलै प्रवेश गर्न नसकून भनेर भारतीय सीमा सुरक्षा बलले नै सीमामा कडाइ गरेको स्थानीय प्रशासन स्रोतको भनाइ छ।

दशैंको बेलामा दैनिक जोगवनीमा एक लाख मानिसहरु किनमेल गर्न जाने भएकाले अहिले नाकामा एक किलोमिटरसम्म लाम लाग्ने गरेको छ । सुनसरीको खनारबाट दशैंको किनमेल गर्नका लागि जोगवनी पुगेकी सुनिता ढकालले आफूले परिचयपत्र नलिई आएको कारण किनमेल गर्न नै नपाई फर्कनु परेको गुनासो गरिन् । दशैंको किनमेलका लागि सीमावर्ती बजार जोगवनी जान लागेकी उनलाई मंगलबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले फर्काएको थियो।

मोरङको बेलवारी भाउन्नेकी प्रनिशा धिमाल पनि दशैंको कपडा किन्न जोगवनी जान सीमा नाका रानी पुगेकी थिइन् । उनले पनि जोगवनी जान परिचयपत्र अनिवार्य भएको थाहा पाइन् । घरबाट आउँदा परिचयपत्र नलिई आएको कारण उनी पनि जोगवनी जानबाट वञ्चित भइन्। कतिपय यात्रुले भने मोबाइलमा भएको आफ्नो नागरिकता र राष्ट्रिय परिचयपत्र देखाएर जोगवनी जान पाएका थिए ।

सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेले जोगवनी सीमानाकामा अहिले कडाइ गरिएको पुष्टि गरे । उनले भने, ‘दुबै देशका सुरक्षा अधिकारीले अहिलेको बदलिँदो विशेष परिस्थितिलाई सामान्य नहुन्जेलका लागि सीमा क्षेत्रबाट हुने घुसपैठलाई नियन्त्रण गर्न र आपराधिक गतिविधि निरुत्साहित गर्न कडाइ गरिएको हो ।’

सीमा क्षेत्रमा यसअघि पनि कोरोना महामारीको बेला सीमा सिल गरिएको थियो । त्यस बाहेक भारतीय स्वतन्त्रता दिवस र बिहारमा हुने निर्वाचनका बेला पनि सीमा क्षेत्रमा परिचयपत्र देखाएर मात्र आवतजावत गर्न दिइने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले बताए ।

दुबै देशका सुरक्षाकर्मीहरुको अनलाइन मिटिङबाट पनि सुरक्षाका बारेमा जानकारी आदानप्रदान भइरहेको र अहिले नेपालमा आएको राजनीतिक फेरबदलका कारण सीमा क्षेत्रको दुबै तिर सुरक्षा सतर्कता अपनाइएको बताए ।

नेपाल प्रहरीले भारतबाट नेपालतर्फ आउने शंकास्पद व्यक्तिहरुलाई सुरक्षा चेकजाँच गर्ने गरेको र त्यसका लागि तालिमप्राप्त कुकुरको प्रयोग गर्ने गरेको बताए । उनले भने ‘अहिले भारत जान कुनै पनि परिचयपत्र देखाए पुग्छ भने भारतबाट आउने व्यक्तिले पनि आवश्यक परेको बेला नेपाल प्रहरीले मागेमा आफ्नो परिचय खुल्ने परिचयपत्र देखाउनु पर्छ ।’