
आज म गौरवभन्दा पनि गह्रौँ मन लिएर तपाईँहरूसामु उभिएको छु । पछिल्ला दिनहरूमा हामीले राष्ट्रका होनहार युवा गुमायौँ उनीहरू हाम्रो देशको उज्ज्वल भविष्य थिए ।
उनीहरूको त्याग र साहसले परिवर्तनको जग हालेको छ । सबैप्रति सम्मान व्यक्त गर्दछु । साथै, कर्तव्य पालनाको क्रममा ज्यान गुमाउनु भएका तथा घाइते सुरक्षाकर्मीहरूलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु । तपाईँहरूको पीडा मेरो हृदयमा गहिरो रूपमा बसिरहेको छ ।
आज म भारी जिम्मेवारीका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकास मन्त्रीको रूपमा शपथ लिएको छु । मुलुकको पूर्वाधार क्षेत्रको मार्ग कोर्ने मन्त्रालयहरू सम्हाल्ने पद सम्मान मात्र होइन, पीडा र आशाको बीचमा आएको ठूलो जिम्मेवारी हो । अहिले मेरो उद्देश्य छ- जे भत्किएको छ, त्यसलाई मर्मत गर्ने; जे जलेको छ, त्यसलाई पुनर्निर्माण गर्ने ।
जनताको आवाज सडकमा उठेको छ, तर एउटा कुरा स्पष्ट पार्न चाहन्छु- न्यायको लडाइँ विद्यालय, अस्पताल, सार्वजनिक सम्पत्ति जलाएर जितिँदैन । यी सम्पत्ति सबै नेपालीका हुन्, विशेषगरी गरिब र युवाका । आवाज उठाऔँ, तर सम्पत्ति बचाऔँ । हिंसा होइन, समाधान हाम्रो बाटो हो । विध्वंस होइन, निर्माण हाम्रो अभियान हो । तर त्यसका लागि हरेक व्यक्ति, संस्था र सुरक्षा निकायदेखि सबैको साथ आवश्यक छ । तपाईँहरूको साथ नपाई त्यो सम्भव छैन ।
सर्वप्रथम विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र पछिल्लो पटक देशबाट भ्रष्टाचार अन्त्य, सुशासनलगायतका माग राखी जेनजीले गरेको आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
जेनजी पुस्ताले देशभित्रै सुन्दर भविष्य निर्माण र व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि ऐतिहासिक प्रतिरोध गर्नुभयो र अहिलेको अवस्था सिर्जना गर्नुभयो । यसका लागि सबै बधाईका पात्र हुनुहुन्छ ।
अहिलेको विषम परिस्थितिमा मलाई विश्वास गरी जुन जिम्मेवारी दिनुभएको छ, त्यसका लागि सम्माननीय प्रधानमन्त्री, आन्दोलनरत जेनजीलगायत सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । जेनजी पुस्ताले देखेको समुन्नत नेपालको सपना साकार पार्ने यात्राको यो सुरुवात अब पुनर्निर्माण, सहकार्य र साझा भविष्य निर्माणका लागि हातेमालो गर्नुपर्छ ।
आन्दोलनका कारण सार्वजनिक एवम् निजी क्षेत्रका संरचनामा ठूलो क्षति पुगेको छ । सार्वजनिक सेवा प्रवाह नराम्ररी प्रभावित भएको छ । अर्थतन्त्रको एउटा हिस्सेदार निजी क्षेत्रको मनोबल गिरेको छ । यस्तो अवस्थामा सबैको मनोबल उच्च राखी पुनर्निर्माणको कार्य अगाडि बढाउनु र तोकिएकै समयमा चुनाव गराउनु सरकारको दायित्व हो ।
हामीसँग समय छोटो छ, तर एक सेकेन्ड पनि खेर नफाली मुलुकको हितका लागि काम गरिनेछ । हालको विषम परिस्थिति र छोटो समयको चुनौतीलाई अवसरको रूपमा प्रयोग गरी कार्य अगाडि बढाइनेछ । सार्वजनिक संरचनामा क्षति पुग्दा प्रभावित भएको सार्वजनिक सेवालाई तत्काल सुचारु गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही बमोजिम द्रुत गतिमा कार्य अगाडि बढाइनेछ । आम चुनावका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ ।
विगतमा मुलुकले बेहोरिरहेको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी हुँदा हासिल गरेको प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय अनुभवलाई भरपुर प्रयोग गरिनेछ । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल अभियान’लाई कार्यान्वयनतर्फ अगाडि बढाइनेछ । ‘उज्यालो नेपाल’ बत्तीको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो । यसलाई सार्थक बनाउन सोहीअनुसार कार्य गर्न सबैलाई निर्देश गर्दछु ।
‘उज्यालो नेपाल अभियान’ मेरो जीवन–मार्ग हो । युवापुस्ताको भविष्य उज्यालो बनाउने, जनताको जीवनमा उज्यालो ल्याउने र नेपालको भविष्य उज्यालो बनाउने राजनीतिक व्रत पालनमा मैले आफ्नो जीवन समर्पित गरेको छु । जेनजी पुस्ताको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै आजको प्रमुख राष्ट्रिय एजेन्डा हो । यसको सफल कार्यान्वयनका लागि राष्ट्रिय राजनीति र शासकीय संस्कृतिलाई जनचाहनाबाट निर्देशित, जनहितमा समर्पित र जनता प्रति जबाफदेही बनाउनुपर्छ । मेरो कर्मक्षेत्र यही हो, सधैँ यही रहनेछ । यही सोचबाट निर्देशित भएर सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको टिममा बसेर जेनजी पुस्ताको दृढ सङ्कल्प, सङ्घर्ष र बलिदानलाई सार्थक सिद्ध गर्न सुन्दर, समुन्नत नेपाल निर्माणमा समर्पित भएको छु । यो विश्वासका साथ जिम्मेवारी पाएको छु । यो विश्वास मेरो लागि प्रेरणाको स्रोत हो, र म यो विश्वासलाई नतिजामा परिणत गर्नेछु । यसका लागि सबैको साथ र सहयोगका लागि अनुरोध गर्दछु ।
तत्काल अगाडि बढाइने मुख्य कार्यहरू :
१. सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनर्निर्माण कार्य तत्काल अगाडि बढाइनेछ ।
२. पुनर्निर्माणका लागि ‘हाम्रा सार्वजनिक संरचना हामी आफैँ बनाउनेछौँ’ भन्ने अभियान सञ्चालन गरिनेछ । देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई पुनर्निर्माणमा सहभागी गराई अपनत्व लिने गरी सबैको साथ र सहयोगबाट पारदर्शी रूपमा पुनर्निर्माण कार्य अगाडि बढाइनेछ ।
३. मन्त्रालय र यसअन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीमा शून्य सहनशीलता अवलम्बन गरिनेछ । यस्ता क्रियाकलाप सह्य हुने छैनन् । कसैले त्यस्ता कार्य गरेको फेला परेमा तत्कालै कारबाही गरिनेछ । जेनजीले मुख्य रूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।
४. कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्ने लगायतका विगतमा सुनिएका अनियमिततालाई नियन्त्रण गरी सुशासन कायम गर्न ‘उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी (Right Person in Right Place)’ लाई कडाइका साथ लागू गरिनेछ । कसैप्रति पूर्वाग्रह वा प्रतिशोध साँधिने छैन । तर, सुशासन र आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्तै जिम्मेवारीबाट हटाइनेछ । असल नियत राखी ढुक्क भएर काम गर्न सबैलाई निर्देश गर्दछु ।
५. चालू रहेका ठूला पूर्वाधारका आयोजना तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेका छन् । यसलाई चिर्न, चालू अवस्थामा रहेका ठूला आयोजना निर्माण कार्यलाई तीव्रता दिइनेछ भने रणनीतिक महत्त्व र रूपान्तरणकारी केही ठूला योजनालाई पनि अगाडि बढाइनेछ । प्राथमिकताको आधारमा आयोजना छनोट गरी परिणाममुखी कार्य गरिनेछ । अहिले हाम्रा लागि हरेक सेकेन्ड महत्त्वपूर्ण छ ।
तसर्थ, यो समय खादा–माला लगाएर तामझाम गर्ने होइन, काम गरेर जेनजी पुस्ताले देखेको सपना साकार पार्ने हो । जसरी विगतमा यहाँहरूबाट हौसला, प्रेरणा, साथ र सहयोग प्राप्त हुँदा लोडसेडिङको अँध्यारोबाट मुलुकलाई मुक्त गर्न सक्यौँ, त्यसरी नै अहिलेको विषम परिस्थितिमा पनि विगतजस्तै साथ–सहयोग प्राप्त हुने विश्वास लिएको छु । मप्रति यहाँहरूले देखाउनुभएको उक्त विश्वासका लागि जेनजीका भाइबहिनी सहित सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीप्रति कृतज्ञ छु ।
(ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकास मन्त्री कुलमान घिसिङले पदभारपछि व्यक्त गरेका विचार)







प्रतिक्रिया