देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ: कांग्रेस महामन्त्री

2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लामो समयदेखि नेपाली राजनीतिमा निर्णायक भूमिकामा रहेका शीर्ष नेताहरू अब बिदा लिनुपर्ने बताएका छन् ।

उनले विशेषगरी कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संकेत गर्दै निरन्तर उनीहरुकै वरिपरि राजनीति घुमिरहेकाले जनतामा असन्तुष्टि बढेको बताए ।

शनिबार भिडिओ सन्देशमार्फत शर्माले भने, ‘मैले पार्टीभित्र पनि कुरा उठाएको थिएँ। तर निर्णयमा पुग्न सकिएन । चुनाव हुन्छ, नयाँ सरकार बन्छ, तर प्रधानमन्त्री फेरि उनीहरुमध्ये नै कोही हुन्छन् । कहिले पर्खनुपर्ने, कहिले छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने अवस्था आउँछ। अब यसलाई प्रणालीमा ल्याउनुपर्छ, विधिबद्ध बनाउनुपर्छ। ताकि भोलि गगन थापा वा विश्वप्रकाश शर्मा जस्ता नयाँ पुस्ताले नेतृत्व गर्दा फेरि कसैलाई राजीनामा गरिदिनुस् भनेर अनुरोध गर्न नपरोस्।’

उनले पदाधिकारीहरूको कार्यकालमा सीमा तोक्नुपर्ने प्रस्ताव गर्दै भने, ‘राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्छ ।’

शर्माले अब पार्टीले आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

Skip This