जेनजी स्पष्ट हुनैपर्ने दुई विषय

525
Shares

म बुझ्छु – पुराना राजनैतिक दलहरुको शासनकालमा भएको भ्रष्टाचार र कुव्यवस्थाले तपाईंहरु आजित भइसक्नु भएको छ । तपाईंहरु नेपाली कांग्रेस, नेकपा एमाले लगायत पुराना दलहरुको नाम पनि सुन्न चाहनुहुन्न ।

तपाईंहरुलाई ओली, देउवा, प्रचण्ड वा अन्य राजनैतिक दलका नेताहरुको नाम सुन्यो कि झनक्क रिस उठ्छ । अब उनीहरुको सफाया भयो, उनीहरुलाइ निषेध गर्नुपर्छ, उठ्न दिनु हुँदैन भन्ने तपाईंहरुलाई लाग्छ । तपाईंहरु पार्टीसँग नाम नजोडिएका व्यक्तिहरुको नेतृत्वमा अब बन्ने सरकार गठन होस् भन्ने चाहनुहुन्छ ।

यदि तपाईंहरु लोकतन्त्रमा विश्वास गर्नुहुन्छ भने बहुदलीय व्यवस्था यसको आधारस्तम्भ हो । पार्टी सिस्टम बिना उन्नत लोकतन्त्र सम्भव छैन । अमेरिका, भारत लगायत उन्नत लोकतान्त्रिक व्यवस्था भएका सम्पूर्ण मुलुकमा बहुदलीय व्यवस्था नै छ । अब जेनजीले निर्माण गर्ने नयाँ राज्य व्यवस्था समेत बहुदलीय नै हुनुपर्छ ।

त्यसमा अहिलेका कांग्रेस, एमाले र माओवादीले पनि प्रतिष्पर्धा गर्न र बहुमत ल्याएमा सरकार बनाउन पाउनुपर्छ । निर्दलीय व्यवस्थाको लोकतन्त्रमा कुनै स्थान हुँदैन ।

तपाईंले आन्दोलनको शक्तिको बलमा कसैको अस्तित्व इन्कार गर्न सक्नुहुन्न । ओली, प्रचण्ड वा देउवालाई जति गाली गरे पनि तपाईंले उनीहरुलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनबाट रोक्न सक्नुहुन्न । त्यसको लागि निर्वाचनमा उठ्न अयोग्य ठहर हुने गरि कुनै फौजदारी कसुर गरेको कुरा सक्षम न्यायिक निकायबाट पुष्टि भएको हुनुपर्दछ । अनुमान वा आक्रोशको भरको कसैको अधिकार खोस्न सकिँदैन ।

जति नै ठूलो क्रान्ति वा आन्दोलनले पनि कसैको नागरिक पद खोस्न सक्दैन । नागरिक र राजनैतिक अधिकार खोस्न सक्दैन । यदि तपाईंले खोस्नुहुन्छ, अस्तित्व अस्वीकार गर्नुहुन्छ भने तपाईं लोकतान्त्रिक नभएर तानासाही बन्नुहुन्छ ।

निषेधको लोकतन्त्रमा कुनै स्थान छैन । राजनैतिक दल र यसका नेता फरक कुरा हुन् । शीर्ष तहका नेताहरु जनताबाट बहिष्कृत हुँदैमा सो पार्टिको वैधानिकता र अस्तित्व स्वत: समाप्त भएको मान्न मिल्दैन ।

त्यसकारण तपाईंहरुले पुराना दलहरुको अस्तित्व समाप्त भैसक्यो, अब यिनिहरु केही पनि होइनन् भन्ने चिन्तनबाट उठेर उनीहरुलाई पनि महत्त्वपूर्ण सरोकारवालाको रुपमा स्वीकार गर्नुपर्दछ ।

तपाईंहरुलाई लाग्छ कि भर्खरै हाम्रो नेतृत्वमा आन्दोलन सफल भएको छ । सरकार ढलेको छ । शासन सत्ता हाम्रो हातमा आएको छ । अब हामीले जो भन्यो, त्यो प्रधानमन्त्री हुन्छ, जुन प्रक्रियाबाट नियुक्त गर्यौँ त्यो प्रक्रिया वैधानिक हुन्छ । हामीले गरेको निर्णय नै अन्तिम निर्णय हो । त्यो सम्पुर्ण नेपाल र नेपालीको निर्णय हो ।

तर यो बुझाइ आंशिक रुपमा मात्र साँचो हो ।

नेपाल जेनजीको मात्र होइन । नेपालमा बालिग जेनजीको जनसंख्या (१८-२८ वर्ष ) सम्पूर्ण जनताको तुलनामा अनुमानित १५- २० प्रतिशत मात्र हुनुपर्छ । त्यसमा पनि सहरकेन्द्रित केही हजार युवा डिस्कर्डमा वा कुनै अनलाइन प्लेटफर्ममा जोडिएर कुनै अमुक व्यक्तिलाई अबको प्रधानमन्त्री भनी छान्ने प्रक्रिया सम्पूर्ण नेपालीको लागि मात्र होइन, यही जेनजी समुदायलाई पनि स्वीकार्य नहुन सक्छ । संसद बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने वा अवैधानिक ढंगबाट संसद विघटन गर्ने कुरा Legally incorrect हुनुका साथै Politically Legitimate समेत नहुन सक्दछ ।

नेपालमा इन्टरनेट र मोबाइल फोनमा पहुँच नभएका जेनजी कति छन् ? तपाईंले डिस्कर्ड गरेको निर्णयमा उनीहरुको प्रतिनिधित्व कसरी सुनिश्चित हुन्छ ? तपाईंको बैठक र निर्णयबारे बेखबर जेनजीले तपाईंको निर्णयमा कसरी अपनत्व महसुस गर्छ ? भोलि नेपालको ग्रामिण भेगको इन्टरनेटमा पहुँच नभएको जेनजी तपाईंले छानेको व्यक्तिलाई ‘मेरो समर्थन छैन’ भन्दै आयो भने त्यसको के जवाफ दिनुहुन्छ ?

यो देशका प्रत्येक नागरिकलाई तपाईं सरह नै अधिकार छ । तपाईंले आन्दोलन सफल गर्नुभयो भन्दैमा अरुको विचार र सहभागितालाई निषेध गर्नुभयो भने तपाईं र तानाशाहमा के फरक रहन्छ ? यत्रो संघर्ष, आन्दोलन र त्यागको के औचित्य रहन्छ ?

भोलि तपाईंले छानेको प्रधानमन्त्री, गरेको सम्झौता वा निर्णय हामीलाइ स्वीकार छैन भनी तपाईंहरु बाहेकका अन्य उमेर समुहका हजारौं व्यक्तिहरु वा राजनैतिक दलका सदस्यहरु आन्दोलनमा उत्रिए भने तपाईं के गर्नुहुन्छ ? के उनीहरुलाइ निषेध गर्नुहुन्छ ? प्रतिरोध र दमनमा उत्रिनुहुन्छ ? के त्यतिबेला तपाईंले छानेको सरकारको बैधानिक रहिरहन सक्छ ?

जेनजी भनेको देशको अल्पमतको जनसंख्या हो । अल्पमतको निर्णय बहुमतमाथि लाद्ने व्यवस्था लोकतान्त्रिक हुन सक्दैन । त्यसैले तपाईंले गरेको निर्णय वा छानेको व्यक्ति नेपालभर स्वतः सर्वस्वीकार्य हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुहोस् । तपाईंहरुमात्र नेपाल होइन । नेपाल तपाईंहरुभन्दा धेरै ठूलो र फराकिलो छ ।

तसर्थ, म जेनजीहरुलाई फराकिलो सोच र चिन्तन राख्न अनुरोध गर्दछु । सबै पक्ष र सरोकारवालालाई समेटेर बृहद छलफल मार्फत् संविधान सम्मत निकास निकालेमा मात्र त्यो दीगो र Politically Legitimate हुन सक्छ । यसको नेतृत्व राष्ट्रपतिले गर्नुपर्दछ । अन्यथा यत्रो संघर्ष र बलिदानबाट सफल भएको आन्दोलन छिटै तुहिनेतर्फ अग्रसर हुन्छ ।

यो बिद्रोहलाइ कदापी असफल हुन दिनु हुँदैन । ऐतिहासिक जेनजी आन्दोलनका उपलब्धिहरु सफलतापुर्वक संस्थागत होउन् भन्ने शुभकामना !