
काठमाडौं । बृहत् नागरिक आन्दोलनले जेनजी आन्दोलनका शहीदहरूको बलिदानलाई आधार बनाएर सेनाको सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई अस्वीकार गरेको छ।
आन्दोलनले मंगलबार विज्ञप्ति जारी गर्दै हाल देखिएको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिलेको प्रमुख चुनौती भएको बताएको छ। ‘जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटाउने थियो, न सेनाको असंवैधानिक सक्रियता बढाउने थियो,’ बृहत् नागरिक आन्दोलनले विज्ञप्तिमा उल्लेख गरेको छ।
नागरिक आन्दोलनले सेनाको मुख्यालयमै बसेर वार्ता गर्नु गम्भीर र डरलाग्दो कदम भएको ठहर गरेको छ। ‘नागरिकप्रति उत्तरदायी सबै राज्यका अंगहरू र निजी क्षेत्रको भौतिक, आर्थिक तथा मनोवैज्ञानिक दमन गर्ने तत्वहरू अहिले सेनाको आतिथ्यमा मुख्यालयमै वार्ता गरिरहेका छन् भन्ने कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ। नेपाली सेनाको यस्तो भूमिका अति खेदजनक छ र अविलम्ब सच्याइनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, काठमाडौं महानगरका मेयर बालेन साहले पनि प्रतिक्रान्तिकारीहरूसँग सहकार्य गरिरहेको वा सेनालाई नागरिकमाथि उभ्याइरहेको खण्डमा उनलाई समेत प्रतिक्रान्तिकारीको नायकका रूपमा चिनिने चेतावनी नागरिक आन्दोलनले दिएको छ।
नागरिक आन्दोलनले जेनजी आन्दोलनमा घुसपैठ गरेर राज्यका संवेदनशील संस्थामाथि प्रहार गर्ने तत्वहरूको सक्रियता बढेकाले त्यसलाई परास्त गर्न फेरि सडक आन्दोलन अपरिहार्य देखिएको जनाएको छ। ‘प्रतिक्रान्तिकारीहरूको यो सल्बलाहटलाई परास्त गर्न जेनजीहरूले फेरि सडकमै जानुपर्ने अवस्था देखिएको छ र उहाँहरूको नेतृत्वमा हामी सबै पनि सडकमा उत्रन तयार छौं,’ विज्ञप्तिमा उल्लेख छ।
संविधान नै प्रतिक्रान्तिविरुद्धको सबैभन्दा बलियो आधार भएको भन्दै आन्दोलनले २०७२ सालको संविधानलाई अडानको केन्द्रमा राखी राष्ट्रपति नेतृत्वमा मात्र छलफल र कार्यक्रम अघि बढाउनुपर्ने माग गरेको छ।
‘अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्नुपर्छ। यस विषयमा जेनजीहरूलाई नागरिक समाजले जस्तोसुकै साथ दिन तयार छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तो छ विज्ञप्ति
बृहत नागरिक आन्दोलन प्रतिक्रान्तिलाई परास्त गरौं !
अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ। यो हामीलाई पटक्कै स्वीकार्य छैन। जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो। यो हुँदै गरेको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिले तत्कालको सबैभन्दा महत्त्वपूर्ण चुनौति हो।
जेनजीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ। नेपाली सेनाको यो किसिमको भूमिका अति खेदपूर्ण छ र अविलम्ब सँच्च्याइनुपर्छ।
यदि कामपा मेयर बालेनले पनि यिनै तत्वहरूसँग सहकार्य गरिरहेका हुन् वा सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने उनलाई पनि प्रतिक्रान्तिका नायक भनेर चिन्नेछौँ। उनले यो कुरा तुरुन्त मनन गरेर आफू उभिने कित्ता स्पष्ट पारून्।
जेनजी का भाइबहिनीहरू जो यो प्रतिक्रान्तिविरुद्ध हुनुहुन्छ र बृहत् नागरिक तप्काबाट सहयोग मागिरहनुभएको छ, उहाँहरूको साथ दिन यो देशका समग्र नागरिक, विभिन्न किसिमले संगठित राजनैतिक, पेसाकर्मी र अन्य नागरिक समूहहरूले निर्धक्क सहयोग गर्नुपर्छ। प्रतिक्रान्तिकारीहरूको यो सल्बलाहटलाई परास्त गर्न जेनजीहरूले फेरि सडकमै जानुपर्ने अवस्था देखिंदैछ र उहाँहरूको नेतृत्वमा हामी सबै पनि सडकमा उत्रन तयार छौं।
यस सङ्गीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने हाम्रो सबैभन्दा बलियो किल्ला नै २०७२ को नेपालको संविधान हो। त्यसमा अडिग रहेर त्यसका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो। अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन।
यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गरोस्, तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस्, र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन्।
अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्नुछ। यस विषयमा जेनजीहरूलाई जस्तोसुकै साथ दिन पमि नागरिक समाज तयार छ।
जेनजी क्रान्तिलाई सफल बनाऔं। प्रतिक्रान्तिलाई परास्त गरौं। शहीदको बलिदानलाई सार्थक बनाऔं।
मिति : २०८२ भदौ २६








प्रतिक्रिया