जेनजीको प्रदर्शनका नाममा ‘खरानी’ बन्यो औद्योगिक नगर विराटनगर


विराटनगर । जेनजीको प्रदर्शनका नाममा मंगलवार कोशी प्रदेशको राजधानी औद्योगिक नगर विराटनगर खरानी बनेको छ । यहाँका प्रायः सरकारी कार्यालय, न्यायालय, प्रशासनिक भवन, राजनीतिक दलका केही नेताका घर र केही व्यापारीक मलमा प्रदर्शनकारीले आगजनी गरेर धुवाँको कुइरीमण्डल बनाएका छन् ।

मंगलवार लागेको आगो बुधवार मध्याह्नसम्म दन्किरहेको छ । न त त्यहाँ सुरक्षाकर्मीको उपस्थिति छ, न त आगो निभाउने प्रयत्न नै भएको छ । बुधबार विराटनगरमा ‘मुर्दा शान्ति’ छ तर आगो अझै दन्किरहेको देखिन्छ ।

राज्य सञ्चालन गर्ने एक व्यक्तिको अहंकार र लठैतपनले मुलुक शून्यतामा पुग्दा विराटनगरको क्षतिलाई पनि इतिहासले सम्झने छ । राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका भौतिक संरचना जलेर नष्ट भएका छन् । हालसम्म सुरक्षित राखिएका मुलुकका इतिहासदेखिका शासकीय संरचनाका सबै अभिलेखहरु धुवाँमा उड्दा नेपाली राजनीतिको उद्गम केन्द्र मानिएको औद्योगिक नगरी विराटनगरले भोगेको क्षति पनि यादगार रहने पक्का छ ।

मंगलबार गरिएको आगजनीका कारण बुधवार पनि विराटनगरको आकाश धुवाँमय छ । सवारीसाधन, वित्तीय संस्था र बजार नखुल्दा जनजीवन अस्तव्यस्त छ । सब थोक बन्द छ, केवल खुला छ आगो र धुवाँ अनि त्यसलाई मोबाइलमा कैद गर्ने रमिता मात्र ।

प्रदर्शनकारीले कोशी प्रदेशका मुख्यमन्त्री कार्यालयसहितका मन्त्रालय, प्रदेश सभाहल, कृषि मन्त्रालय, जिल्ला र उच्च अदालत, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय, विराटनगर महानगरपालिका र त्यसका विभिन्न वडा कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालयलगायत मन्त्रालय जलाएका छन् ।

उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङ पनि जलेका छन् । आगलागीका कारण अदालतमा रहेका मुद्दाका कागजात नष्ट भएका छन् । प्रदर्शनकारीले मालपोत कार्यालय, जिल्ला वन कार्यालयमा पनि आगजनी गरी खरानी बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङ, कोष तथा लेखा नियन्त्रण कार्यालय, हुलाक कार्यालय, विराटनगर महानगरपालिका, आन्तरिक राजस्व कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, प्रदेश प्रमुखको कार्यालय र निवासलगायत सरकारी संरचना जलाइएको छ । त्यत्ति मात्र होइन, यहाँको व्यापारिक मल भाटभटेनी, कांग्रेसको तीर्थस्थल कोइराला निवास, नेकपा एमालेको पार्टी कार्यालय खरानी भएका छन् । नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डल, जीवन आचार्यको घरमा पनि आगजनी गरिएको छ । विराटनगर महानगरपालिकाका केही वडा र वडाध्यक्षको घरमा पनि आगो सल्काइएको छ।

प्रहरीका अनुसार विराटनगरका प्रायः सबै सरकारी कार्यालयमा आगजनी भएको छ । आगजनी र तोडफोडको क्षतिको अनुमान कल्पनाभन्दा बाहिर छ ।

तर विराटनगरको सम्पूर्ण जेनजी समूहले बुधवार विज्ञप्ति जारी गर्दै सरकारी भवन, भाटभटेनी, निजी भवन तोडफोड र आगजनीमा तथा लुटपाटमा आफ्नो समूहको संलग्नता नरहेको दाबी गर्दै पन्छिने प्रयास गरेको छ ।
‘हाम्रो प्रदर्शन शान्तिपूर्ण र रचनात्मक रहेको छ । हाम्रो आन्दोलनमा कुनै पनि किसिमको चोरी, लुटपाट, आगजनी वा हिंसात्मक गतिविधिहरुमा हाम्रो संलग्नता छैन । बरु हाम्रो जानकारीमा आएको अनुसार विराटनगर बाहिरबाट आएका केही अराजक र आपराधिक समूहहरुले हाम्रो शान्तिपूर्ण आन्दोलनको आडमा यस्ता गैरकानूनी र विध्वंसात्मक गतिविधिहरु गरेको पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मंगलवार प्रदर्शनकारीको आक्रोशसामु प्रहरी प्रशासन निरीह भएको थियो । सडकमा मध्याह्न सुरक्षाकर्मीको उपस्थिति शून्य भएसँगै प्रदर्शनकारीले आगजनी र लुटपाटको श्रृंखला सुरु गरेका थिए ।

सडक र चोकचोकमा टायर बालेर प्रदर्शन गरेको समूहले सरकारी कार्यालय खोजीखोजी आगजनी गर्दा विराटनगरको आकाश धुवाँमय बन्यो । सरकारी कार्यालयमा आगजनी हुँदा कार्यालय आसपासका घरधनीले पनि क्षति भोग्न बाध्य भए । त्यसक्रममा नेपाली समाजले आजसम्म नभोगेको, नदेखेको विभत्स घटना भयो । जसले सर्वत्र स्तब्ध बनाएको छ ।

प्रदर्शनकारीहरूबाट मुख्य रुपमा सरकारी भवन, पार्टीका कार्यालय, नेताका निवास, व्यापारीका सम्पत्तिदेखि मिडियाका कार्यालयसम्म आगजनी भएको छ । नेताहरुमाथि भौतिक आक्रमण भएको छ, जुन यसअघि कहिल्यै देखिएको थिएन ।

सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रिएका युवायुवतीहरुले व्याप्त भ्रष्टाचार र अव्यवस्थाबारे पनि चर्को प्रश्न उठाएका थिए । त्यसको वेवास्ता गर्दै सरकारले दमन गर्दा सोमबार एकै दिन १९ जनाको ज्यान जाँदा मुलुकले यो नियति भोग्नुपरेको हो ।

स्थिति यति भयावह बन्यो कि आगो निभाउनका लागि कुनै पनि दमकल उपलब्ध हुन सकेनन् । घाइतेहरू बोकेर अस्पताल पुग्ने एम्बुलेन्सहरू उपलब्ध भएनन् । मंगलवार साँझ यहाँको भाटभटेनीमा लागेको आगो निभाउन बुधवार अपरान्हसम्म एउटा पनि दमकल पुगेको थिएन । प्रदर्शनकारीलाई मलभित्र छिर्न दुई घण्टासम्म कर्मचारी र आन्तरिक सुरक्षाकर्मीले रोके । विराटनगर भाटभटेनीका प्रबन्धक पर्शुराम तिम्सिनाले भने, ‘खुँडा र भाला बोकेका प्रदर्शनकारी आएपछि हामीले थेग्न सकेनौं, अनि उनीहरू भित्र छिरेर लुटपाट गरेपछि आगजनी गरेर हिँडे ।’

मंगलवार विहान मोरङ प्रशासनले प्रदेश सभाहल, जिल्ला प्रशासन कार्यालय वरपर र मुख्यमन्त्री कार्यालय आसपासमा कर्फ्यु जारी गरेको थियो । कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनकारीले प्रदेश सभाहलभित्र पसेर आगो लगाएका हुन् । देवकोटा चोकमा रहेको प्रदेश सभाहलमा प्रवेश गर्नु अघि प्रदर्शनकारी र प्रहरी बीच पटक–पटक झडप भएको थियो । झडपका क्रममा प्रहरीलाई पछि पार्दै प्रदर्शनकारी प्रवेश गरेर आगो लगाएका थिए ।

प्रदेश सभाहलमा आगो लगाएको भीडले त्यहाँभन्दा एक किलोमिटर उत्तरमा रहेको जिल्ला प्रशासन कार्यालयमा आगजनी गरेका थिए । त्यसपछि कोइराला निवास र भाटभटेनीमा आगो सल्कियो । त्यसअघि उत्तेजित भीडले नेकपा एमालेको पाञ्चालीमा रहेको पार्टी कार्यालयमा आगो लगाएका थिए । त्यसअघि ट्राफिक चोकमा रहेको प्रहरी बिटमा पनि प्रदर्शनकारीले आगो लगाएका थिए ।

प्रदर्शनकारीले मंगलवार विहान पुष्पलाल चोकमा रहेको पुष्पलाल श्रेष्ठको सालिक तोडफोड गरेपछि प्रदर्शनलाई काबुमा राख्न मोरङ प्रशासनले मंगलवार विहानै कोशी प्रदेशको राजधानी विराटनगरका विभिन्न स्थानमा कर्फ्यु जारी गरेको थियो । कर्फ्युपछि प्रदर्शनकारी थप उत्तेजित बन्दा स्थिति भयावह बनेको हो ।