बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

35
Shares

बागलुङ । यो वर्ष बागलुङबाट ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ ।

दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले आर्थिक वर्ष २०८१ /८२ मा ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको सङ्घका अध्यक्ष दीपक गौतमले बताए ।

अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने गरेको छ ।

अमेरिकामा कुकुरको मुख्य खानाका रूपमा रहेको छुर्पी नेपालबाट ठूलो मात्रामा निर्यात हुने गरेको छ । आव २०८०/८१ मा ३८ लाख ५४ हजारबराबरको छुर्पी बिक्री गरेको सहकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष १६ लाख रुपैयाँभन्दा बढीको छुर्पी बिक्री गरेको छ ।

दुग्ध सहकारीले यस वर्ष १० करोड ९९ लाख १७ हजार ८५५ बराबरको दूध र दुग्धजन्य वस्तुको कारोबार गरेको छ ।

उहाँका अनुसार सहकारीबाट दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवाको उत्पादन हुँदै आएको छ । त्यसमध्ये अन्तरराष्ट्रिय बजारमा सहकारीको छुर्पीको माग उच्च छ । छुर्पीको माग बढेपछि सङ्घले एक वर्षमा १६ लाख रुपैयाँको छुर्पी उत्पादनमा वृद्धि गरेको हो ।

दुग्ध सहकारी सङ्घले बागलुङका १५ सहकारी संस्थाको दूध सङ्कलन गरेर दूध र दुग्धजन्य वस्तुको बिक्री गर्दै आएका छन् । जसमा एक हजार ५०० भन्दा बढी किसान आबद्ध छन् ।

हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो एक हजार २०० रुपैयाँमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् ।

सहकारी सङ्घमा १७ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको अध्यक्ष गौतमले बताए । यस्तै आव २०७९/८० मा २९ लाख रुपैयाँको छुर्पी निर्यात गर्न सफल भएको थियो ।