
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी ओलीको राजीनामा र अर्ली इलेक्सन माग गरेको छ ।
सोमबार बसेको सचिवालय बैठकले जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र अर्ली इलेक्सन माग गरेको हो ।
सोमबारको बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको औचित्य पुर्णत् समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।’
देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भत्र्सना गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘निहत्था नवयुवाहरूले गरेको शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौंः आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ,’ विज्ञप्तीमा भनिएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेश (अर्ली इलेक्सन) को माग गरेको विज्ञप्तीमा उल्लेख छ ।








प्रतिक्रिया