जेनजीको प्रदर्शनले कोशी प्रदेश दिनभरि तनावग्रस्त: इटहरीमा दुई जनाको मृत्यु, झापामा गोली चल्यो


विराटनगर । जेनजीको प्रदर्शनले सोमबार कोशी प्रदेशको राजधानी विराटनगरसहित मुख्य शहरहरू दिनभरि तनावग्रस्त बने । त्यसक्रममा सुनसरीको इटहरी उपमहानगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यहाँ हिंसा भडकिएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । घटनामा दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

इटहरी र झापाको दमकमापनि प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं घाइते भएका छन्। विराटनगरमा भने प्रदर्शनकारीको ढुंगामुढाबाट एक प्रहरी निरीक्षक घाइते भएका छन्।

स्थानीयका अनुसार, इटहरी उपमहानगरपालिकाको मेयर कार्यकक्षअगाडि, राजस्व र स्टोर शाखामा आगजनी गरेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए । त्यसक्रममा घाइते भएका मध्ये दुई जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम र ठेगाना खुल्न बाँकी छ। अन्य घाइतेहरूको धरान र विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

आगजनी र गोली प्रहारसँगै स्थिति नियन्त्रणबाहिर पुगेपछि सुनसरी प्रशासनले अपराह्न साढे ३ बजेदेखि इटहरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। तर प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै पूर्व–पश्चिम राजमार्ग समेत कब्जामा लिए। त्यही क्रममा सुरक्षाकर्मीले आधा दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रदर्शनकारीहरूले बताएका छन् । सुनसरीकै धरान उपमहानगरपालिकामा भने प्रदर्शन शान्तिपूर्ण रह्यो। प्रदर्शनकारीले बजारको मुख्य भाग भानुचोक कब्जा गरेका थिए।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्ला जलाउँदै नगरपालिकाभित्र आगजनी गरेपछि सुरक्षाकर्मीले गोली चलाएको हो। त्यसक्रममा कमल गाउँपालिका–५ का प्रकाश भट्टराईसहित दर्जनौं प्रदर्शनकारी घाइते भएको स्थानीयले बताए पनि सुरक्षाकर्मीले भने यसबारे पुष्टि गरेका छैनन्। घाइतेहरूलाई दमकको आम्दा, लाइफलाइन र निम्स अस्पतालमा भर्ना गरिएको स्थानीयहरूले जनाएका छन्।

प्रदर्शनकारीले दमक नगरपालिका प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए। उनीहरूले दमकमै रहेको ओलीको निवासमा समेत ढुंगामुढा गरेका थिए। झापाकै विर्तामोड, भद्रपुर र काँकडभिट्टा नगरक्षेत्र पनि सोमबारभरि अशान्त बने। विर्तामोड नगरपालिकामा समेत प्रदर्शनकारीले तोडफोड गरेका छन्।

प्रदेशको राजधानी विराटनगरमा पनि सोमबार दिनभरि जेन–जीको प्रदर्शनले तनावपूर्ण वातावरण सिर्जना भयो। प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्ने प्रयास गर्दा सुरक्षाकर्मीसँग दोहोरो झडप भएको थियो। त्यहाँबाट फर्किएका प्रदर्शनकारीहरूको समूहले निषेधाज्ञा तोड्दै प्रदेश सभा अगाडि प्रदर्शन गरेका थिए। साथै महानगरपालिका, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि पनि उनीहरूले प्रदर्शन गरेका थिए।

प्रदेशका १४ वटै जिल्लामा सोमबारको जेन–जी आन्दोलनले जनजीवन प्रभावित बनाएको छ। तर सोमबारका घटनामा भएको क्षतिको आधिकारिक विवरण कोशी प्रदेश सरकारको तर्फबाट सार्वजनिक गरिएको छैन।