
काठमाडौं । उद्योगी पशुपति मुरारकाको लगानी रहेको पशुपति आइरन एन्ड स्टिलको व्यापार बढेको छ । कम्पनीले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब ३६ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीको कुल आम्दानीले अघिल्लो आवको सोही अवधिको भन्दा १३ प्रतिशत बढी हो ।
पशुपति आइरन एन्ड स्टिलले सन् २०२४ मा २ अर्ब ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै सन् २०२३ मा ४ अर्ब ६८ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ४ अर्ब २० करोड २० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब १९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९८३ मा स्थापना भएको कम्पनीमा मुरारका ग्रुपका पशुपतिसहित अशोक, प्रदीप र महेश मुरारकाको बराबर स्वामित्व छ । आइरन र स्टिलजन्य सामग्री उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीको सुनसरीमा वार्षिक १ लाख १० हजार मेट्रिक टन डण्डी उत्पादन गर्ने क्षमताको उद्योग छ । कम्पनीले उत्पादन हुने डण्डी पशुपति ब्रान्डमा बिक्री हुन्छन् ।
सन् २०२१ सुरु नहुँदै कम्पनीले मेल्टिङ फर्नेस लगाएको थियो । त्यसबाट कम्पनीको उत्पादन क्षमता ६७ हजार ५०० मेट्रिक टकबाट बढेको हो ।
कम्पनीको चुक्ता पुँजी ८ करोड रुपैयाँ छ भने रेटिङ कम्पनी इक्राका अनुसार पशुपति आइरन एन्ड स्टिल चालुपुँजी तथा कर्जामा बढी निर्भर छ । कम्पनीको चालु पुँजी कुल व्यापारको ६२ प्रतिशत छ भने कुल कर्जा सञ्चालन नाफाको १७ गुणा बढी छ । भारतीय सीमाबाट नजिक रहेको उद्योगका लागि पूर्वको बजार र कच्चा सामाग्रीका लागि कम ढुवानी खर्चले निकै लाभ दिएको छ ।
तर डेब्ट सर्भिस कभरेज रेसियो भने केही कमजोर देखिन्छ । सामान्यत कर्जाको किस्ता रकम र कम्पनीको सञ्चालन नाफाको अनुपात २ भन्दा राम्रो मानिए तापनि कम्पनीको १.५ मात्र छ । यद्यपि, बढ्दै गएको व्यापारले ऋण तिर्ने क्षमता बढेको अनुमान गर्न सकिन्छ ।
कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ ।







प्रतिक्रिया