नेताका छोराछोरीको विलासिता जीवन उजागर गर्दै जेनजी पुस्ता (भिडियो)

3.1k
Shares

काठमाडौं । देशका प्रमुख राजनीतिक दलका नेताहरूका छोराछोरीले अपनाएको भड्किलो र विलासी जीवन, उनीहरुले पाएको विशेष अधिकारले भरिएको जीवनशैली विरुद्ध जेनजी पुस्ता आक्रोशित बनेका छन् । सामाजिक सञ्जालमार्फत सुरु भएको ‘नेपो बेबिज’ ट्रेन्ड अहिले युवाको बलियो आवाजमा रूपान्तरण हुँदै सडकसम्म पुग्ने भएको छ ।

जेनजी अर्थात् सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका युवाहरू । उनीहरुले राजनीतिक परिवर्तनका लागि दशकौंदेखि संघर्षरत नेपाली जनताको आशामा कुठाराघात गर्दै, नेताहरूका परिवारले गरेको सत्ता र स्रोतको चरम दुरुपयोगको खुलेर विरोध जनाएका छन् ।

किन आक्रोशित छन् जेनजी पुस्ता ?

नेताका छोराछोरीहरू विदेशका महँगा रिसोर्टमा छुट्टी मनाइरहेका छन्। ब्रान्डेड लुगाफाटा, महँगा गाडी र लाइफस्टाइलका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । तर, देशमा भने लाखौं युवा बेरोजगार छन्, स्वास्थ्य, शिक्षा र रोजगारीको अवस्था दयनीय छ, यता नेताका परिवार भने ऐसआराममा छन् ।

जेनजी पुस्ता आक्रोसति हुनुको मुख्य कारण यहि नै हो ।

सर्वसाधरणले कमाएर खान त पाएका छैनन् भने नेताको सामान्य तलबले सन्तानको विलासी जीवनशैली कहाँबाट आयो?’ नेताले खाने, छोराछोरीले रमाउने अनि हामीले भोग्ने ? जेनजीले प्रश्न गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले सामाजिक सञ्जालमा देखाएको जीवनशैली, माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल र नातिनी स्मिता दाहाल, पूर्वप्रधानन्यायाधीश र पूर्व प्रहरी प्रमुखहरूका छोराछोरी जस्ता उच्च ओहोदामा रहेका व्यक्तिहरूको महँगो लाइफस्टाइल र पहुँचको दुरुपयोग देखेर यो विरोध बढेको हो । उनीहरूले सामाजिक सञ्जालमा राखेको पोस्टमा कयौं नेगेटिभ कमेन्ट आइरहेका छन् । यता विरोध थेग्न नसकेपछि उच्च ओहोदामा रहेका व्यक्तिहरूको छोराछोरीले सामाजिक सञ्चालमा कमेन्ट अफ गरेका छन् ।

सामाजिक सञ्जालमा उनीहरूको जीवनशैलीका भिडियो र तस्बिरहरू भाइरल भइरहेका छन्, जसले झनै जनताको आक्रोश बढाइरहेको छ ।

नेपो बेबिज ट्रेन्डलाई कलाकार र कन्टेन्ट क्रियटर, कलाकार र सञ्चारकर्मीहरूले समेत समेत साथ दिँदै भिडियो र सामग्री सार्वजनिक गरिरहेका छन् ।

उनीहरु ८ सेप्टेम्बर अर्थात भोलि भदौ २३ गते देशभरबाट विरोधमा उत्रने भएका छन् । ‘अब हामी चुप लाग्दैनौं’ ‘नेताले खाने, छोराछोरीले रमाउने अनि हामीले भोग्ने अवस्था अब स्वीकार्य छैन’ ‘हाम्रो आवाज, हाम्रो भविष्य अब हामी आफैं बनाउँछौं’ यी र यस्तै नारा लगाउँदै भ्रष्टाचारविरूद्ध नयाँ पुस्ताले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन् ।

कहाँबाट सुरु भयो नेपो बेबिज ट्रेन्ड?

नातावाद वा परिवारवादका कारण विशेष अवसर, पद वा सम्पत्ति, योग्यता वा सफलता पाएका सन्तानलाई व्यङ्ग्यात्मक शैलीमा नेपो बेबिज भनिन्छ । यो ट्रेन्ड इन्डोनेसियाबाट सुर भएको हो । इन्डोनेसियामा राष्ट्रपति जोको विडोडो (जोकोवी) का छोरा गिब्रान राखाबुमिङ राका उपराष्ट्रपति पदका उम्मेदवार बनेपछि ‘नेपो बेबी’ अभियान तीव्र भयो । त्यहाँ राजनीतिक परिवारवादको विरोधमा सुरु भएको आन्दोलन फिलिपिन्स हुँदै नेपालसम्म आइपुगेको हो ।

फिलिपिन्समा नेताका छोराछोरीले देखाएको महँगो जीवनशैली र भ्रष्टाचारका कारण यो अभियान सुरु भएको थियो । सोही अभियानलाई नेपालमा पनि जेनजी पुस्ताले सिकेको हो ।