
अमेरिका । अमेरिकास्थित जर्जियाको सवनाहनजिक दक्षिण कोरियाली मोटर उत्पादन कम्पनी हुन्डाईको निर्माण कारखानामा अमेरिकी सरकारले छापा मारेर ४७५ आप्रवासी कामदार पक्राउ गरेको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्युरिटीअन्तर्गत अध्यागमन तथा भन्सार प्रवर्तन विभाग ९इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट, आइस० ले छापा मारेको हो। करिब एक महिनाको अनुसन्धानपछि उत्पादन कारखानामा छापा मारिएको आइसको भनाई छ ।
अमेरिकामा काम गर्न अनुमति नभएकाहरूलाई त्यहाँ काममा लगाइएको सूचनापछि अनुसन्धान थालिएको र अनुसन्धानपछि छापा मारिएको आइसले उल्लेख गरेको छ ।
जहाँबाट कागजात नभएका ४ सय ७५ जनालाई समातिएको आइसले जनाएको छ । जसमध्ये अधिकांश दक्षिण कोरियाली नागरिक हुन् । आइसले कुन देशका कति थिए भनेर एकिन तथ्यांक नबताए पनि दक्षिण कोरियाली विदेश मन्त्रालयले आफ्ना नागरिक ३ सय जना रहेको बताएको छ ।
जर्जिया राज्यको एटलान्टा सहरबाट करिब ४ सय किलोमिटर टाढाको सहर सवनाह सहरको करिब ४० किलोमिटर पश्चिममा ब्रायन काउन्टीमा हुन्डाई कम्पनीले इलेक्ट्रिक गाडी उत्पादनको कारखाना गत वर्ष सञ्चालनमा ल्याएको थियो ।
कारखानामा करिब १ हजार २ सय जनाले रोजगारी पाएको कम्पनीको भनाई छ । करिब ३ हजार एकड क्षेत्रफलमा फैलिएको ७.६ विलियन डलरको लागतमा सञ्चालनमा आएको सो उत्पादन कारखाना हुन्डाई मोटर कम्पनी ठूला उत्पादन कारखानामध्ये एक हो ।
हुन्डाईले त्यहाँ घरायसी उपभोग्य इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्दै आएको एलजीको एलजी इनर्जी सोलुसन कम्पनीसँगको सहकार्यमा इलेक्ट्रिक गाडीका लागि ब्याट्री उत्पादनसमेत गर्ने जनाएको थियो ।
हुन्डाई र एलजी इनर्जी सलुसन एचएल–जीए ब्याट्री कम्पनीद्वारा सञ्चालित ब्याट्री प्लान्ट अर्को वर्ष खुल्ने तालिका छ । गत सेप्टेम्बरबाट विद्युतीय सवारी साधन उत्पादन गर्दै आएको हुन्डाईले पूर्ण क्षमतामा कारखाना सञ्चालनमा आए ८ हजार ५ सय बढीले रोजगारी पाउने कारखाना सञ्चालनको क्रममा उल्लेख गरेको थियो ।
दक्षिण कोरिया र अमेरिकाको बीचमा निकै सुमधुर सम्बन्ध रहँदै आएको छ । यो घटनापछि दक्षिण कोरियाली सरकारले अवैध रूपमा आफ्ना नागरिक त्यहाँ काम गरिरहेकोमा दुःख व्यक्त गरेको छ भने आफ्ना नागरिकलाई लक्षित गरी भएको छापाप्रति चिन्ता जनाएको छ ।
पछिल्लो समय आइसले सक्रियता बढाउँदै ठूलो संख्या कागजात नभएकाहरूलाई अमेरिकाबाट निष्कासन गर्दा, त्यो सूचीमा दक्षिण कोरियामा जम्मा ४६ जना मात्र रहेका थिए ।
हुन्डाई मोटर कम्पनीमा छापा मारी पक्राउ परेकाहरूलाई जर्जियाको सीमानजिक फ्लोरिडाको फोल्क्सटनमा रहेको अध्यागमन हिरासत गृहमा लगिएको छ । हुन्डाई मोटर उत्पादन कम्पनीमा गरिएको छापा होमल्याण्ड सेक्युरिटीअन्तर्गत भएको खोजी अपरेसन मध्येको ठूला अपरेसन भित्र पर्दछ ।
सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क र वासिङ्टन डिसीमा भएको आतंकवादी हमलापछि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले ठूलो अपरेसन चलाएको थियो ।
पछिल्लो समय होमल्यान्ड सेक्युरिटी र यस अन्तर्गतका विभागले कागजात बिनाकाहरू काम गरिरहेका छन् भन्ने आशंकामा पसल, फ्याक्ट्री, ठूला–ठूला मलहरू तथा आप्रवासीहरू बस्दै आएका समुदायहरूमा समेत छापा मार्ने क्रमलाई तीव्रता दिएको छ ।







प्रतिक्रिया