बिमा प्राधिकरण अध्यक्षको लागि १४ जनाले दिए आवेदन

266
Shares

काठमाडौं । बिमा कम्पनीहरूको नियामक संस्था नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन् ।

प्राधिकरणको अध्यक्ष शरद ओझा बर्खास्तमा परेपछि सरकारले अध्यक्ष पदमा नियुक्त गर्न आवेदन माग गरेको थियो । अर्थ मन्त्रालयले अध्यक्ष पदमा नियुक्त गर्नका लागि सात दिने सूचना जारी गरेको थियो । यो सूचनाअनुसार १४ जनाले आफ्नो आवेदन बुझाएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौंका बिक्रान्त पाण्डे, बिष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, चिन्तामणी शिवाकोटी, डा. राजेन्द्र पण्डित, रमेशकुमार भट्टराईले आफुहरु उक्त पदको लागि योग्य रहेको भन्दै आवेदन दिएका छन् ।

यस्तै भक्तपुरका पारस काफ्ले र महेश्वर न्यौपाने, कास्कीका डा. दामोदर बसौंला, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देवकुमार ढकाल, लम्जुङका प्रा. डा दिपकबहादुर पण्डित र दाङका यज्ञप्रसाद न्यौपानेले आवेदन बुझाएका छन् ।

प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि सिफारिश समितिले यो नामावली प्रकाशित गरेको हो ।