बस्तीभन्दा टाढाकाले प्रदूषणका नाममा अवरोध गर्दा दुई उद्योगको उत्पादन सातादेखि प्रभावित


विराटनगर । उद्योग आसपासभन्दा बाहिरी बस्तीका वासिन्दाले प्रदूषण भएको भन्दै अवरोध गरेपछि मोरङको कटहरी करिडोरका दुई उद्योगको उत्पादन सातादेखि प्रभावित हुँदै आएको छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोर भित्र पर्ने मोरङको कटहरी–४ जामुनगाछीमा दशकदेखि सञ्चालन हुँदै आएको ग्रिन टायर उद्योग र ग्लोवल वायो इनर्जी उद्योगले बस्ती आसपासमा प्रदूषण गरेको भन्दै बस्तीभन्दा टाढाका केही व्यक्तिले अवरोध गरेपछि उद्योगको उत्पादन प्रभावित भएको सम्बद्ध उद्योगीको गुनासो छ ।

ग्रिन टायर उद्योगले अटोमेटिक प्लान्टमार्फत मोटरसाइकल, ट्र्याक्टर, बस, मिनीबस र तीन पांग्रे सवारी साधनमा प्रयोग हुने टायर उत्पादन गर्दै आएको छ । त्यसैगरी ग्लोवल वायो इनर्जी उद्योगले इन्डस्ट्रियल फर्नेस आयल उत्पादन गर्दै आएको छ ।

दुवै उद्योग अटोमेटिक प्लान्टबाट सञ्चालित छन् । दुवै उद्योग प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन परीक्षणमा सफल पनि छन् । उद्योगका सञ्चालक वितिन सिंघानीयाले भने, ‘उद्योग आसपासका बासिन्दाले अहिलेसम्म कुनै पनि गुनासो गरेका छैनन् । तर उद्योगभन्दा टाढाका केही व्यक्तिले उद्योगले प्रदूषण गरेको भन्दै अवरोध गरेका कारण दुवै उद्योगको उत्पादन सातादेखि प्रभावित बन्दै आएको छ ।’

आठ विघाभन्दा बढी क्षेत्रफलमा उद्योग स्थापना हुँदाको वखत आसपासमा बस्ती नै थिएन । उद्योग स्थापना भएपछि आसपासमा बस्ती बस्यो । सिंघनीयाले भने आसपासको बस्तीका प्रायलाई उद्योगले रोजगारी पनि दिएको छ । तर उद्योग आसपासभन्दा वाहिरको बस्तीका केही व्यक्तिको अवरोधले उद्योग प्रभावित भएको छ ।

दुवै उद्योगले कटहरी गाउँपालिकालाई वार्षिक एक–एक लाख राजस्व बुझाउँदै आएका छन् । गाउँपालिका प्रमुख देवराज चौधरीका अनुसार दुवै उद्योगको आइईई परीक्षण रिपोर्ट मापदण्ड अनुसार भए पनि वाह्य व्यक्तिले उद्योग सञ्चालनमा अवरोध गरेको पाइएको छ ।

उद्योगले एकजना कर्मचारीलाई सामान चोरी गरेको आरोपमा निकालेको रहेछ । त्यही कर्मचारीका कारण उद्योग आसपासभन्दा बाहिरका व्यक्ति आएर उद्योगमा अवरोध पुर्‍याएको पाइएको उनको भनाइ छ । उनका अनुसार आगामी आइतवार दुवै पक्षलाई राखेर समस्याको समाधान गर्ने पालिकाको तयारी छ ।

ग्रिन टायर उद्योग ५६ करोड र ग्लोवल वायो इनर्जी उद्योग ८ करोडको लागतमा स्थापना भएका हुन् । दुवै उद्योगमा स्थानीय १८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आन्तरिक राजस्व कार्यालय मोरङले ग्लोवल वायो इनर्जी उद्योगलाई सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने उद्योगका नाममा सम्मानित गरेको थियो ।