७ वटा युद्ध रोकेको फुर्ती गर्ने ट्रम्प अब भन्न थाले– ‘मैले ३ वटा लडाइँ रोकें’

119
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सातवटा युद्ध रोकेको भाष्यमा परिवर्तन गर्दै तीनवटा लडाइँ रोक्न सफलता पाएको बताएका छन् ।

बिहीवार ह्वाइट हाउसमा प्रविधि क्षेत्रका सीईओहरूसँगको रात्रिभोजमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले तीनवटा युद्ध रोकेको बताएका हुन् ।

उनले कुन युद्ध रोकेको भनी खुलाएनन् । तर, ती युद्धहरू तीन दशकदेखि चल्दै आएको उनको भनाइ छ ।

‘तपाईंलाई थाहा छ, मैले तीनवटा युद्ध रोकें । एउटा युद्ध ३१ वर्षदेखि चलिरहेको थियो, त्यसमा धेरै मानिस मरेका थिए, एक करोड मानिस । अर्को ३४ वर्षदेखि चलिरहेको थियो अनि अर्को ३७ वर्षदेखि जारी थियो,’ उनले बताए ।

आफूलाई मानिसहरूले युद्ध रोक्न नसक्ने भनेको भए पनि रोकिछोडेको उनले बताए । रुस र युक्रेनबीचको युद्ध पनि आफूले नै रोक्ने उनको भनाइ छ ।

यसअघि ट्रम्पले भारत र पाकिस्तानबीचको युद्ध पनि आफूले रोकेको बताउँदै आएका थिए । दुवै देशलाई व्यापारका विषयमा दबाब दिएर युद्ध रोकेको उनको भनाइ छ ।

तर, भारतले उनको यो दाबीलाई खारेज गरेको थियो । त्यसले गर्दा रिसको सुरमा ट्रम्पले भारतीय सामानको आयातमा ५० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।

नोबेल शान्ति पुरस्कार जित्न सकिने आशामा ट्रम्पले युद्ध रोकेको कुरा बारम्बार दोहोर्याउँदै आएका छन् ।