
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। ३ दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुनेछ।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ।
विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन पेस हुने छन्।
दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहन एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। उनले भने, ‘यो महाधिवेशनले पार्टीको विचारमाथि छलफल गर्नेछ। राष्ट्रिय महाधिवेशनले नेतृत्वमाथि छलफल गर्छ।’
विधान महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्। पोखरेलका अनुसार महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरू बिहीबार नै काठमाडौं आइपुगिसकेका छन्।
स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ। प्रतिनिधि परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन्।
त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन्। प्रतिनिधिहरू चारवटा डिजिटल ढोकाबाट सनराइज हलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ। महाधिवेशनस्थलमा पुग्ने सातदोबाटोदेखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ।
महाधिवेशन स्थललाई झकिझकाउ बनाउन प्रवेश द्वारबाट महाधिवेशन हल छिर्दासाथ दाँयातिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्बिर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ।
करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ। अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन बिहीबारको सचिवालय बैठकले पास गरेको छ। अध्यक्ष ओलीको प्रतिवेदनपछि एक घण्टाका लागि ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ। त्यसपछि उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेश गरिनेछ। साँझ पाँच बजे आजका कार्यसूची सकिने गौतमले बताए।
शनिबार प्रतिवेदनहरु माथि १० वटा समूहमा छलफल हुने र पर्सी समूहले पेश गरेका प्रतिवेदन प्रस्तुतिसहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ।








प्रतिक्रिया