भारतको मणिपुरमा शान्तिका लागि सरकार र कुकी समूहबीच सम्झौता

189
Shares

एजेन्सी । भारतमा केन्द्रको गृह मन्त्रालय, मणिपुर सरकार र कुकी–जो समूहहरूका बीच त्रिपक्षीय सम्झौता भएको छ ।

सन् २०२३ को मे ३ बाट मणिपुरमा सुरु भएको जातीय द्वन्द्व अन्त्य भएर शान्ति छाउने सम्भावना बढेको छ ।

सस्पेन्सन अफ अपरेशन्स सहमति अनुसार, तीनै पक्षले मणिपुरको भौगोलिक अखण्डता कायम गर्न, नेशनल हाईवे–२ मा यातायात आवागमन खोल्न र लडाकुहरूको शिविरलाई सार्न पहल गर्नेछन् ।

नेशनल हाईवे–२ मणिपुरलाई नागाल्यान्ड र पूर्वोत्तरका अन्य राज्यसँग जोड्ने महत्त्वपूर्ण राजमार्ग हो । जातीय अशासन्त मच्चिएपछि त्यो राजमार्ग बन्द भएको थियो ।

मेइतेइ र कुकी–जो समुदायबीचको द्वन्द्वका कारण व्यापक रूपमा हिंसा भएर धेरैजनाको ज्यान गएको थियो । त्यसैले विशाल संख्यामा मानिस विस्थापित भएका थिए र मानवीय संकट चुलिएको थियो ।

तीनै पक्षले मणिपुरमा स्थायी शान्ति र स्थिरता कायम गर्न, शिविरहरूको संख्या घटाउन, हतियारहरू नजिकैका सीआरपीएफ र बीएसएफ सुरक्षाकर्मीहरूको शिविरमा राख्न र लडाकुहरूको कडा प्रमाणीकरण गर्न सहमति जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको भ्रमण गर्ने अपेक्षा छ । उनी त्यहाँ भदौको २७ वा २८ मा पुग्ने सम्भावना छ ।

भारतको गृह मन्त्रालयका अनुसार, संयुक्त निगरानी समूहले सहमति गरिएका बुँदाको कार्यान्वयनलाई सुपरिवेक्षण गर्नेछ । यसलाई उल्लंघन गरिएमा कडा कारवाही गरिने बताइएको छ ।