
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय नेतामाथि सांघातिक आक्रमण भएको भन्दै कारबाहीको माग गरेको छ।
सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि आक्रमण भएकोभन्दै रास्वपाले तत्काल दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।
बुधबार राति काठमाडौंको कपनस्थित प्रगति चोकमा भण्डारीमाथि सांघातिक आक्रमण भएको रास्वपाको र्यापिड रेस्पोन्स टिमका संयोजक प्रदीप तिमल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यालयबाट घरतर्फ जाँदै गर्दा राति करिब पौने ९ बजे नम्बर प्लेट छोपेको मोटरसाइकलमा आएका तीन जनाले फलामको रडले भण्डारीको टाउकोमा प्रहार गरेको रास्वपाले जनाएको छ ।
आक्रमणका कारण भण्डारीको टाउकोमा १० वटा टाँका लगाउनुपरेको र शरीरभर निलडाम रहेको जनाइएकिो छ । प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणकारीको पञ्जाबाट कसरी होस् फुत्किन सफल भएका कारण भण्डारीले ज्यान जोगाउन पाए । घटनाको शैलीले ज्यान लिने उद्देश्य प्रस्ट देखिन्छ ।’
केही समयअघि नारी टिभीमा दिएको अन्तर्वार्तापछि भण्डारीलाई धम्की आएको विज्ञप्तिमा जनाइएको छ । घटनालाई आपराधिक मानसिकता र लोकतान्त्रिक मूल्यप्रति आक्रमणको संज्ञा दिँदै रास्वपाले छानबिन गरि आक्रमणकारीलाई कडा कारबाही गर्न आग्रह गरेको छ ।








प्रतिक्रिया