
काठमाडौं । जहाजको उडान अवतरणमा असर गर्नेगरी चंगा नउडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर आग्रह गरेको छ ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन नदिने भएको छ । यसका लागि प्राधिकरणले उड्डयन सुरक्षामा गम्भिर असर पर्ने भएको हुँदा चंगा, ड्रोन, बेलुन, नउडाउन आग्रह गरेको छ ।
उडान सुरक्षामा असर गर्ने गरी विमानस्थलबाट पाँच किलोमिटर क्षेत्रभित्र चंगा उडाए कानून अनुसार कडा सजाय हुने पनि प्राधिकरणले चेतावनी दिएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न नगराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’ प्राधिकरणले यो सूचनाको कसैले अवज्ञा वा अटेरमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने जानकारी समेत गराएको छ ।
प्राधिकरणले ड्रोन र बेलुनलाई भने विमानस्थलको वरपर उड्न नसक्ने गरी सिस्टमबाटै नियन्त्रण गरेको हुन्छ । चंगासहितको उडानमा हुने सानो त्रुटीले पनि ठूलो असर गर्न सक्ने भएकोले पनि दशैंतिहारको बेला हुने यी गतिविधिलाई नियन्त्रण गरेर सुरक्षित उडान गराउन सूचना जारी गरेको पनि प्राधिकरणको भनाइ छ ।








प्रतिक्रिया