३ व्यापारिक घरानाको लफडाले नेपालमा बेनेलीको उपस्थिति नै धरापमा, डिस्ट्रिब्युटरसिप खोसिँदै

1.5k
Shares

काठमाडौं । तीन व्यापारिक घरानाको विवादले विश्व चर्चित मोटरसाइकल ब्रान्ड बेनेलीको नेपालमा उपस्थिति धरापमा परेको छ। नेपालका लागि बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङका साझेदार गोल्छा अर्गनाइजेनस, सारडा ग्रुप र पञ्चकन्या ग्रुपबीच कुरा नमिल्दा डिस्ट्रिब्युटरसिप खोसिने जोखिम बढेको हो ।

देशभर इटालियन ब्रान्ड बेनेलीका डेढ दर्जन स्टोर छन् । स्रोतका अनुसार केटीएमको लफडा बेनेलीलाई मन परिरहेको छैन । बेनेलीको प्यारेन्ट कम्पनी चीनको छ्यानच्याङ मोटरसाइकल (क्यूजे मोटर्स) ले केटीएमबाट यो डिस्ट्रिब्युटरसिप खोस्ने तयारी गरेको छ ।

क्यूजे मोटर्स चीनको सबैभन्दा लोकप्रिय प्रिमियम मोटरसाइकल कम्पनी हो । क्यूजेले सन् २००५ मा बेनेलीलाई एक्वायर (प्राप्ति) गरेको थियो । छ्यानच्याङ ग्रुपसँग बेनेलीको सतप्रतिशत स्वामित्व छ । छ्यानच्याङ २०१६ मा जिली टेक्नोलोजि ग्रुपको हिस्सा बनेको थियो । त्यसअघि नै २०२० मा छ्यानच्याङले उसका हाइ इन्ड मोटरसाइकललाई क्यूजे मोटर ब्रान्डमा बिक्री वितरण गरिरहेको छ ।

चीनमा सर्वाधिक मन पराइएको बाइक भए पनि नेपालमा भने यो मोटरसाइकल बेच्न नसकेको आरोप कम्पनीले केटीएममाथि लगाएको छ । देशभर २ दर्जनभन्दा बढीको संख्यामा बेनेलीका विक्रेताहरु आधामा सिमित भइसकेका छन् । बाइक बेचे पनि बिक्रीपछिको सेवामा बेनेली निकै कमजोर बनिसकेको छ ।

कम्पनीमा कार्यरत एक कर्मचारीले क्लिकमान्डुसँग भने, ‘चाइनिज पार्टीले डिस्ट्रिब्युटरसिप खोस्ने चेतावनी दिइसक्यो । हामी काम गर्नेहरुको पनि के हुने हो थाहा छैन ।’

स्रोतका अनुसार क्यूजे मोटर्स बेनेलीका लागि नेपाली अटो क्षेत्रमा लामो अनुभव हासिल गरिसकेको साझेदार खोजिरहेको छ । खासगरी आफ्नै पूर्वाधार राम्रो भएको र ग्राहकले पनि सेवाबाट सन्तुष्टी महसुस गरेको व्यापारिक घराना पाए डिस्ट्रिब्युटरसिप दिने सोचमा क्यूजे पुगिसकेको ती कर्मचारीले बताए ।

‘नेपाली बजारमा क्यूजेले निकै राम्रो भविष्य देखेको छ । तर, राम्रो कम्पनी नपाएर चिनियाँ निकै हतास छन्,’ उनले भने ।

क्यूजेले ५० देखि १२०० सीसी इन्जिन क्षमताका दुईपांग्रे सवारी उत्पादन गर्दछ । हालसम्म कम्पनीको ३ करोडभन्दा बाइक संसारका १५० भन्दा देशका सडकमा गुड्छन् ।

सन् १९११ देखि प्रचलित बेनेली इटालियन बाइक विश्वमै धेरैको रोजाइको बाइक हो । चालकहरूको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटीएम इन्टरनेसनल ट्रेडिङले सन् २०१५ देखि बेनेली बाइक आयात सुरु गरेको थियो ।

अहिले नेपाली बजारमा केटीएमले बेनेलीको १२५ सीसीदेखि ७५२ सीसीसम्मको मोटरबाइक बिक्रीवितरण गर्दै आएको छ ।

इटलियन प्रिमियम मोटरसाइकल ब्रान्ड बेनेलीले प्रिमियम, बीग–बोर, स्पोर्टस् र नेकेड बाइक निर्माण गर्दछ । बेनेलीका बाइक बलियो र स्पोर्टी दुबै छन् । बेनेली इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादकमध्ये एक हो ।

नेपाली बजारमा बेनेलीका टीएनटी १३५, टीएनटी १५, २५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३००, ३०२ एस नियोन, टीआरके २५१,  ६०० आई, ७५२ एस, जेनजेरी १५० मोडलहरु उपलब्ध थिए । ती मोडलहरु नेकेड, लिअन्सिनो, स्कुटर र टुरिङ विधाका थिए । बेनेलीले नेपालमा १२५ सीसी देखि ७५० सीसीसम्मको तथा २ लाख ६४ हजार देखि २५ लाखरुपैयाँसम्मको बाइक बेचेको थियो ।

बेनेलीले नेपालमा वि.सं. २०७४ मै इलेक्ट्रिक बाइक ल्याएको थियो । नेपालमा गर्विलो सुरुवात गरेको बेनेलीको उपस्थिति बर्सेनी खस्कँदो छ । नयाँ मोडल नल्याउने र पहिलाका ग्राहकलाई पनि सेवामा सन्तुष्टी दिन नसक्नु छँदै छ, कम्पनीभित्रको आन्तरिक कलहले बाइक पनि करिबकरिब बिक्री हुनै छाडेको छ ।

बेनेलीको स्थापना सन् १९११ मा इटलीको पेसारोमाभएको हो । यस कम्पनीको पहिलो मोटरसाइकल सन् १९१९ मा जनसमक्ष ल्याइएको थियो । तर बेनेलीको आफ्नै इन्जिनजडित मोटरसाइकल भने १९२१ मा उत्पादन भएको हो ।

रेसिङ बाइकका रुपमा पनि बेनेलीले आफ्नो पृथक पहिचान बनाएको छ । यो मोटरसाइकलले थुप्रै प्रतिष्ठित रेस अवार्डहरु जितेको छ । विश्वका कैयौं नामीबाइक रेसरहरुले बेनेली बाइक प्रयोग गरेका छन् ।