एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने

637
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ५० प्रतिशत (कर सहित)का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको बुधबारको नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१÷०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्दै यस्तो घोषणा गरेको हो ।

साधारण सभाले २०८२ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

उक्त सभामा सञ्चालक समितिको अध्यक्ष सन्तोषकुमार राठीले २० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाख भन्दा बढी आम्दानी गरी ११ करोड ६४ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।

त्यसैगरी व्यवसाय तर्फ असार मसान्त, २०८२ सम्म ८ लाख डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्म ५ वटा योजना मार्फत ५ अर्ब ४५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको बताइएको छ ।

लगानी व्यवस्थापन सेवा अन्तर्गत ७२० जना ग्राहकहरुबाट २ अर्ब ७० करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको जनाइएको छ । साथै क्यापिटलले नवौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो सेयरधनीलाई हालसम्म २९० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको व्यहोरा जानकारी दिएको छ ।