बंगलादेशमा सत्ता परिवर्तन गराउन भूमिका खेलेका अमेरिकी ढाकामा मृत फेला

6.1k
Shares

एजेन्सी । अमेरिकी सेनाका अधिकृत टेरेन्स आर्भेल ज्याकसन बंगलादेशको राजधानी ढाकामा मृत अवस्थामा फेला परेका छन् ।

फर्स्ट स्पेशल फोर्सेस कमान्ड (एयरबोर्न) का कमान्ड इन्सपेक्टर जनरल ज्याकसन ढाकाको वेस्टिन होटलको कोठा नम्बर ८०८ मा आइतवार मृत फेला परेको ढाका ट्रिब्युनमा समाचार प्रकाशित भएको छ ।

ढाका प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ज्याक्सनको मृत्यु प्राकृतिक कारणले भएको निष्कर्ष छ । पोस्टमोर्टम नगरिकनै ज्याक्सनको मृत शरीर अमेरिकी दूतावासलाई हस्तान्तरण गरिएको थियो । त्यसले घटना अनुसन्धानको प्रक्रियाका सम्बन्धमा प्रश्नहरू उठाएको छ ।

ज्याक्सनले अमेरिकी सेनामा २० वर्षभन्दा बढी समयदेखि सेवा गर्दै आएका थिए । उनी एसियाका विभिन्न स्थानमा भएका युद्धमा तैनाथ थिए ।

आर्मी नेशनल गार्डमा तीन वर्ष काम गरेपछि सन् २००६ मा उनी अमेरिकी सेनामा प्रवेश गरेका थिए । दुई वर्षपछि सेवानिवृत्त हुनका लागि उनले योजना बनाएको बताइन्छ ।

फर्स्ट स्पेशल फोर्सेस कमान्ड (एयरबोर्न) को केन्द्रीय कार्यालय नर्थ क्यारोलाइनाको फोर्ट ब्रागमा छ । त्यसले अमेरिकी सरकारका लागि विशेष सैन्य कारवाहीहरू गर्ने गरेको छ ।

ज्याक्सन लामो समयदेखि बंगलादेशमा बसिरहेको बताइएको छ । उनी भदौ १३ गते वेस्टिन होटलमा बस्न आएका थिए । उनले ढाकामा के काम गरे, कसलाई भेटे र कहाँ गए भनी स्पष्ट हुन नसकेको बंगलादेशी गुप्तचरहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले समाचार दिएका छन् ।

भारतका गुप्तचर निकायले ज्याक्सन पोहोर साल बंगलादेशमा भएको सत्तापलटका एक योजनाकारमध्ये हुन सक्ने अनुमान गरेका छन् ।

भारतीयहरूले ज्याक्सनको मृत्युको घटनालाई सतर्कतापूर्वक निगरानी गरिरहेका छन् । उनले ढाकामा बसेर यस क्षेत्रमा अमेरिकी रणनीतिको कार्यान्वयन गर्न प्रमुख भूमिका खेलिरहेको हुन सक्ने भारतीयहरूले अनुमान गरेका छन् ।

त्यससँगै बंगलादेशका लागि अमेरिकाका पूर्व राजदूत पिटर हासले पदावधि सकिएपछि पनि बारम्बार बंगलादेश भ्रमण गरेको विषयले भारतीय गुप्तचरहरूलाई सतर्क बनाएको छ । टेक्ससमा रहेको एक्सिलरेट इनर्जी नामक कम्पनीमा रणनीतिक सल्लाहकार रहेक हासले सन् २०२४ को जुलाईमा पद सकिएपछि पनि त्यो वर्ष ६ पटक बंगलादेशको भ्रमण गरेका थिए ।

उनले बंगलादेशमा एलएनजी ग्याससँग सम्बन्धित कारोबारका सिलसिलामा बंगलादेशको भ्रमण गरेको भनिएको छ । तर, उनले बारम्बार गरेको भ्रमण र अन्तर्क्रियालाई हेर्दा यो कर्पोरेट कुराकानी बाहेकको छलफल भएको मानिएको छ ।

गत अगस्ट ५ अर्थात् साउन २० गते हासले शेख हसिनाको सरकारका विरुद्ध आन्दोलन गर्ने विद्यार्थी नेताहरूसँग कक्स बजारमा कुराकानी गरेको बताइएको छ ।