अझै दर्ता हुन आएनन् फेसबुकसहितका सामाजिक सञ्जाल, बिहीबारदेखि बन्द होलान् ?

3.4k
Shares

काठमाडौं । सरकारले दिएको समय सकिनै लाग्दा एउटा पनि सामाजिक सञ्जाल दर्ता हुन नआएको पाइएको छ । फेसबुक सहितको सामाजिक सञ्जाललाई दर्ता हुन सरकारले ७ दिनको समय दिएकामा बुधबार अपराह्न साढे ४ बजेसम्म कुनै सञ्जाल दर्ता नभएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले सरकारले दिएको समय सकिन अझै केही घण्टा बाँकी भए तापनि हालसम्म कुनै पनि सञ्जाल दर्ता हुन नआएको क्लिकमान्डुलाई बताए । उनले भने, ‘साढे ४ बज्दासम्म कुनै पनि सञ्जालले दर्ता हुन निवेदन नदिएको बुझेको छु । समय अझै पनि बाँकी छ । मध्यरातमा कसैले निवेदन दिए भोलि बिहानसम्म थाहा हुनेछ ।’ हालसम्म नेपालमा ५ वटा सामाजिक सञ्जाल मात्र दर्ता भएका छन् । हाल नेपालमा भाइबर, टिकटक, विटक, निम्बज र पोपोलाइभ दर्ता भएर चलिरहेका छन् । टेलिग्राम र ग्लोबल डायरी पनि दर्ताको प्रक्रियामा छन् ।

सरकारले भदौ १२ गते फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन समय दिन सूचना जारी गरेको थियो । भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना निकालेको थियो ।

‘नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले यस सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकरण गर्नुपर्नेछ,’ १२ गते जारी सूचनामा भनिएको छ ।

सरकारले सूचनाबमोजिम तोकिएको समयसिमाभित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइको थियो ।

सरकारलाई निवेदन नलेखेको अवस्थामा फेसबुक, इन्स्टाग्राम, ट्विटरलगायत सामाजिक सञ्जाल निर्वाध सञ्चालन हुनेछन् । नत्र बन्द हुनेछ ।