
काठमाडौं । चीनले जापानी आक्रामकताविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धको ८०औं वार्षिकोत्सवको अवसरमा बुधवार आयोजित सैन्य परेडमार्फत रणनीतिक सन्देश दिन सफलता पाएको छ ।
विश्व व्यवस्थामा परिवर्तन आइरहेको अवस्थामा चीनले इतिहासमा भएको विदेशीको अतिक्रमणको स्मरणलाई वर्तमानको सैन्यशक्तिसँग जोडेको छ ।
चीनका राष्ट्रपति सी चिनपिङले देशको पुनर्जागरणको विषयलाई उठाएर विगतमा भोगेको शोकलाई शक्तिमा परिणत गरिएको सन्देश दिने गरेका छन् । यसरी चीनले ऐतिहासिक स्मरणलाई राजनीतिक पुँजीमा परिणत गरेको छ । उसले सैन्य आधुनिकीकरण र शक्तिप्रदर्शनको औचित्य साबित गर्नका लागि इतिहासलाई माध्यम बनाएको छ ।
सैन्य परेडमा राष्ट्रपति सी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको उपस्थितिले अमेरिकी नेतृत्वको पश्चिमी शक्तिका विरुद्ध अर्को शक्तिशाली खेमा तयार भइसकेको सन्देश दिएको छ ।

यी तीनै मुलुकमाथि पश्चिमले एक वा अर्को किसिमले दबाब दिइरहेको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनलाई घेराबन्दी र रोकावटको रणनीति अपनाएर, युक्रेन युद्धमार्फत युरोपमा रुसलाई कमजोर बनाउन खोजेर र आर्थिक प्रतिबन्धमार्फत उत्तर कोरिया विश्व राजनीतिबाट एक्ल्याएर पश्चिमले दबाब दिइरहेको छ ।
त्यसैले पश्चिमलाई चुनौती दिन सक्षम यी तीन नेताहरूले एकै ठाउँमा उभिएर एक्यबद्धताको सन्देश दिएका छन् । तीन मुलुकबीचको साझेदारी घनीभूत बनेकाले यीमध्ये एउटामाथिको चुनौतीलाई अन्य दुईले पनि आफूमाथिको चुनौतीका रूपमा हेर्ने र त्यसको प्रतिकार गर्ने संकेत यसबाट पाइन्छ ।
युक्रेन युद्ध सुरु भएपछि रुसको अर्थतन्त्रलाई पश्चिमले प्रतिबन्धमार्फत तहसनहस बनाउन खोजेको भए पनि चीनले भरथेग गरिदिएको र रुसको कुुर्स्क क्षेत्रमा पसेका युक्रेनीहरूलाई भगाउनका लागि उत्तर कोरियाका सैनिकहरूले आहुति दिएको देखेरै त्यो साझेदारीको अकाट्यता प्रमाणित भएको छ ।
अमेरिकाले यी मुलुकहरूलाई घेराबन्दी र रोकावट गर्न खोजेमा धेरैवटा युद्धभूमिहरू जन्मिने र त्यसको भुमरीमा फसेर अमेरिका थप कमजोर बन्ने जोखिम उत्पन्न हुने सन्देश यसमार्फत गएको छ ।
चीन, रुस र उत्तर कोरियाको त्रिपक्षीय साझेदारीले सैन्य अभ्यास, रक्षा सहकार्य र आर्थिक सम्बन्ध विस्तारमा समन्वय गर्नेछ र त्यसले पश्चिमको आर्थिक प्रतिबन्धको नकारात्मक असरलाई पनि घटाउनेछ । यसले पश्चिमलाई आक्रमणबाट विमुख बनाउनुका साथै पश्चिमी प्रभुत्वको व्यवस्थाको विकल्पमा साझेदारीहरू निर्माण भइरहेको सन्देश पनि दिनेछ ।

सैन्य परेडमा देखाइएका हातहतियारले चीनको रणनीतिक सोचमा परिवर्तन आइसकेको सन्देश दिएको छ । हाइपरसोनिक र अन्तर्महादेशीय क्षेप्यास्त्र, स्वचालित ड्रोनहरूको झुण्ड, अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, समुद्रमुनि चल्ने ड्रोन लगायतका हतियारको प्रदर्शनी गरेर चीनले आफ्नो भूभाग नजिक शत्रुहरूले सैन्य कारवाही चलाउँदा विशाल क्षति बेहोर्नुपर्ने सन्देश दिएको छ । चीनका यिङची–१७, यिङची–१९ र यिङची–२० जस्ता जहाजनिरोधी हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई अमेरिकाको विमानवाहक युद्धपोतको प्रोटोटाइपका विरुद्ध परीक्षण गरिसकिएको छ ।
चिनियाँ हतियार प्रक्षेपणका लागि कम समय लाग्ने र तिनलाई बीचैमा रोक्न पनि नसकिने फौजी विश्लेषकहरू बताउँछन् । यसमार्फत चीनले पूर्वी एसियामा शत्रुलाई रोक्नका लागि आफू सक्षम भइसकेको देखाएको छ । विशेषगरी ताइवान र दक्षिण चीन सागर जस्ता महत्त्वपूर्ण युद्धक्षेत्रहरूमा अमेरिका वा अन्य कुनै शक्तिले हस्तक्षेप गर्न खोजेमा त्यसको जोखिम उच्च हुने र शत्रुले निकै धेरै क्षति बेहोर्नुपर्ने सन्देश दिन चीनले सफलता पाएको छ ।
यस्ता अत्याधुनिक हतियारको अस्तित्वका बारेमा यसअघि अनुमान मात्र हुने गरेकोमा चीनले तिनलाई सार्वजनिक प्रदर्शन गरेर शत्रुहरूलाई त्यसभन्दा अत्याधुनिक र उम्दा हतियार बनाउन चुनौती दिएको छ । हतियार प्रदर्शनीको एउटा गोप्य नियम छ । त्यो के भने, केही वर्षअघि बनाएको हतियार मात्र प्रदर्शनीमा ल्याइन्छ । बन्दै गरेको हतियारको एकदमै कम जानकारी मात्र दिइन्छ ।

जस्तो, चीनले आजको परेडमा छैटौं पुस्ताको जे–३६ र जे–५० लडाकु विमान देखाएन भने पाँचौं पुस्ताको जे–२०, जे–२०ए, जे–२०एस र जे–३५ए विमानहरू प्रदर्शन गर्यो । अमेरिकाले चीनलाई टक्कर दिने हो भने अब सातौं पुस्ताको लडाकु विमानमा काम गर्नुपर्ने हुन्छ ।
त्यसका साथै चीनले यस समारोहलाई जापानी आक्रामकताको इतिहाससँग जोडेर वर्तमान समयमा भूराजनीतिक सन्देश पनि दिन खोजेको छ । जापान प्रशान्त क्षेत्रमा अमेरिकाको बलियो साझेदारका रूपमा रहेको छ । ऊ फर्स्ट आइल्यान्ड चेनका तीन मुलुकमध्ये एक हो । अन्य दुई मुलुक फिलिपिन्स र ताइवान हुन्, यद्यपि अमेरिकाले समेत ताइवानलाई स्वतन्त्र मुलुकको हैसियत दिएको छैन । यी तीनैले अमेरिकासँग यही भूरणनीतिक कारणले गर्दा घनिष्ठ सम्बन्ध राख्दै आएका छन् ।

त्यस क्षेत्रमा चीनलाई हावी हुन नदिनका लागि अमेरिकाले प्रयास गर्दै आएको छ । फर्स्ट आइल्यान्ड चेनले चीनलाई आफ्नो परिधिमा जलक्षेत्रीय पहुँच बढाउन अवरोध गरिरहेकाले ताइवान पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिने बेइजिङको रणनीति हो ।
त्यसैको सिलसिलामा जापानले दक्षिणपश्चिम भागमा रहेको कुमामोतो प्रिफेक्चरमा टाइप १२ नामक जहाजनिरोधी क्षेप्यास्त्रको अद्यावधिक भर्सनलाई तैनाथ गर्न लागेको छ । त्यसमार्फत उसले ताइवान र चीनका केही भूभागलाई निशाना बनाउन खोजेको छ । जापानले त्यस्तो क्षेप्यास्त्र राखेर आफूलाई तर्साउन नसक्ने भनी चीनले सैन्य परेडमा अत्याधुनिक हातहतियारमार्फत सन्देश दिन खोजेको देखिन्छ ।
त्यससँगै जापानले इतिहासमा देखाएको क्रूरतालाई स्मरण गराएर चीनले पूर्वी एसियामा स्थिरता ल्याउने पात्र जापान हुन नसक्ने भाष्य निर्माण गर्न खोजेको देखिन्छ । जापानले आफ्नो शान्तिवादी संविधानको मर्मलाई परित्याग गर्दै हातहतियार बढाउन थालेको र प्रतिरक्षात्मकका साथै आक्रामक रणनीतिलाई पनि अघि बढाउन खोजेको अवस्थामा चीनले उसलाई त्यसो गर्दा क्षति बेहोर्नुपर्ने चेतावनी दिन खोजेको देखिन्छ ।
त्यसका साथै रुस र उत्तर कोरियासँगको साझेदारीले जलक्षेत्रीय घेराबन्दीको पश्चिमी रणनीतिलाई विफल तुल्याउने चीनको सोच देखिन्छ । कुरिल आइल्यान्ड्समा रुसले अनि सी अफ जापानमा उत्तर कोरियाले जापानमाथि दबाब बढाउन सक्ने अवस्था विद्यमान रहेकाले चीनले साझेदारहरूको सहयोगमा घेराबन्दीका सबै प्रयासहरू व्यर्थ रहेको सन्देश दिन खोजेको हो ।
त्यस्तै, बहुध्रुवीय विश्वको केन्द्रीय ध्रुवका रूपमा चीनलाई संसारले मान्यता दिन कुनै हिचकिचाहट नरहने गरी सैन्य परेडमार्फत चीनले शक्ति प्रदर्शन गरेको भन्न सकिन्छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहित २० भन्दा बढी देशका नेता परेडमा उपस्थित हुँदा चीनले गैरपश्चिमी मित्रहरूलाई साझेदार बनाउन सफलता पाएको सन्देश दिएको छ । यी गैरपश्चिमी मुलुकहरूसँगको साझेदारीले वैकल्पिक कूटनीतिक र आर्थिक सञ्जाल निर्माणमा भूमिका खेल्नेछ । त्यसले पश्चिमी प्रतिबन्ध र प्रभुत्वलाई कमजोर बनाएर बहुध्रुवीय विश्व संरचनालाई सुदृढ गराउँछ ।
अन्तर्राष्ट्रिय राजनीतिका अलावा आन्तरिक राजनीतिलाई व्यवस्थापन गर्न पनि चीनले परेडको आयोजना गरेको विश्लेषकहरू बताउँछन् । इतिहासको स्मरण गर्दै चीनलाई फेरि कहिल्यै लज्जाको शताब्दीको बेहोर्नुनपर्ने गरी बलियो बनाउन योगदान गर्नका लागि चिनियाँहरूलाई कम्युनिस्ट पार्टीले सैन्य परेडमार्फत प्रोत्साहन गरेको हो । पश्चिमले चीनलाई घेराबन्दी र रोकावटमार्फत पुनः कमजोर बनाउन खोजेको स्थितिमा चिनियाँ युवामा देशभक्तिको भावना जागृत गराउन सैन्य परेड आयोजना गरिएको हो ।

अझ त्यसमाथि सी चिनपिङ चीनको राष्ट्रपति भएयता लगातार सैन्य परेड आयोजना गरेर देशवासीमा राष्ट्रवाद र गर्वको अनुभूति जगाउन प्रयास गर्दै आएका छन् । परेडमा महिला अनर गार्ड र मिलिसियाहरूलाई उचित स्थान दिएर चीन सरकारले युवाहरूलाई देशको रक्षाका लागि तत्पर रहन उत्प्रेरित गरेको देखिन्छ ।
यसरी चीनले रणनीतिक सन्देश प्रवाहित गर्नका लागि सोचविचार गरेरै सैन्य परेडको आयोजना गरेको हो । अत्याधुनिक हातहतियार, रुस र उत्तर कोरियासँग स्पष्ट देखिने गरी साझेदारी, गैरपश्चिमी मुलुकहरूसँग गठबन्धनका लागि प्रयास लगायतका कदम चालेर चीनले आफूलाई पश्चिमी व्यवस्थाको वैकल्पिक शक्तिका रूपमा उभ्याउन खोजेको छ । बहुध्रुवीयतालाई केन्द्रमा राख्दै विश्व राजनीतिलाई आकार दिनका लागि चीनले प्रयास गरेको भनी यस सैन्य परेडलाई अर्थ्याउन सकिन्छ ।







प्रतिक्रिया