
एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन मंगलवार आफ्नो हरियो बख्तरबन्द रेलबाट बेइजिङ झर्दा चिनियाँ अधिकारीहरूले उनीसँग हात मिलाउँदै रातो कार्पेटमा स्वागत गरे ।
उनको पछाडि कालो कपडा लगाएकी, कपालमा रिबन बाँधकी, भद्र मुस्कान दिएकी एक बालिका पनि हिंडिरहेको धेरैले देखे ।
यी बालिका किम जु ए हुन सक्ने विश्वास गरिएको छ । ती किमकी रहस्यमयी छोरी हुन् । उनी विगतमा धेरैपटक सार्वजनिक रूपमा देखापरेकी छन् । प्रायः जसो सैन्य कार्यक्रममा उनी भाग लिइरहेकी हुन्छन् । उनी बेइजिङ किन आएकी हुन् ? किमले उनलाई भविष्यको उत्तराधिकारी बनाउन खोजेका हुन् कि भनी कतिपयले अनुमान गरेका छन् ।
यी बालिकाको पहिलो विदेशयात्रा निकै महत्त्वपूर्ण मानिएको छ । चीनका राष्ट्रपति सी चिनपिङले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको परेडमा किम र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगै उभिए । चीन, रुस र उत्तर कोरियाले गरेको साझेदारी किमकी छोरीले पनि सम्भवतः सामना गर्नुपर्ने हुन सक्छ ।
तर ती बालिका सैन्य परेडमा देखिइनन् । उनका पिता किम सीसँगै सैन्य परेड अघि थ्याँआनमन स्क्वेयरको रातो कार्पेटमा हिँडिरहेका थिए ।
किमको छोरीबारे थोरै मात्र जानकारी छ । सन् २०२२ मा पहिलोपटक उनी सार्वजनिक स्थानमा उपस्थित भएपछि मात्र उनको अस्तित्व पुष्टि भएको थियो । त्यसअघि वर्षौंसम्म उनका विषयमा अड्कलबाजी चल्दै आएको थियो ।
अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले सन् २०१३ मा प्योङयाङ भ्रमण गर्दा किमकी छोरी जु ए भएको बताएका थिए । उनले द गार्डियन पत्रिकालाई भनेका थिए, “मैले उनीहरूको बच्चा जु एलाई अँगालें र आमा (किमकी श्रीमती) सँग कुरा पनि गरें ।”
जु एको उमेर र जन्म वर्षबारे फरक फरक रिपोर्ट भेटिन्छन् । उनी अहिले किशोरी हुनु अगाडिको उमेरमा भएको प्रायः अनुमान गरिन्छ । तर, यो अनुमान मुख्यतः रोडम्यानको भनाइमा आधारित छ । उनले परिवारलाई भेट्दा जु ए कति महिनाकी थिइन् भन्ने कुरा स्पष्ट छैन ।
किमकी छोरीलाई सन् २०२२ मा पहिलोपटक सार्वजनिक गरिएको थियो । त्यतिखेर उनले आफ्ना पितासँगै अन्तर्महादेशीय बलिस्टिक क्षेप्यास्त्रको परीक्षण हेरेकी थिइन् । सन् २०२३ मा उनी धेरैपटक सार्वजनिक स्थानमा देखा परिन् । प्रायः जसो सैन्य कार्यक्रम अर्थात् परेडमा उनी सहभागी भइन् । उनले राजधानी प्योङयाङमा क्षेप्यास्त्रहरूको अवलोकन गरेकी थिइन् ।

उनका यी उपस्थितिहरूको विश्लेषण गर्दै उत्तर कोरियाले आफ्नो हतियार, विशेष गरी आणविक कार्यक्रम, लाई अझै कडाइका साथ अघि बढाउनेछ र किम परिवार देशको सैन्यशक्तिको केन्द्रमा रहिरहनेछ भनी त्यतिबेला विज्ञहरूले भनेका थिए ।
“आफ्नी पत्नी र छोरीलाई यति धेरैपटक सार्वजनिक रूपमा देखाएर किमले देशभित्र र बाहिरका सबैलाई उनको वंश र उत्तर कोरियाको सेना अभिन्न हुन् भनी देखाउन चाहेका हुन्,” सौलको इव्हा विश्वविद्यालयका प्राध्यापक लेइफ–एरिक इस्लेले सन् २०२३ को परेडपछि भनेका थिए ।
उत्तर कोरियामा सन् १९४८ मा किम इल सुंगले स्थापना गरेको वंशानुगत तानाशाही चल्दै आएको छ । उनका छोरा किम जोङ इलले सन् १९९४ मा पिताको मृत्युपछि शासन चलाउन थालेका थिए । किम जोङ उनले सन् २०११ मा किम जोङ इलको मृत्युपछि सत्ता सम्हाले ।
वंशको महत्त्वलाई हेर्दा किमकी छोरीलाई उत्तराधिकारी बनाउन खोजिएको अनुमानलाई बल पुग्यो । यसबारे विज्ञहरूको धारणा मिश्रित छ ।
उत्तर कोरियका सरकारी सञ्चारमाध्यमले उनलाई “प्रिय” र “सम्मानित” भनेर उल्लेख गरेको देखिन्छ, जुन उनले विशेष स्थान पाउन सक्छिन् भन्ने संकेत हो । सानैदेखि सैन्य कार्यक्रममा ल्याएर उनलाई भविष्यमा नेतृत्वको भूमिका दिने तयारी हुन सक्छ ।
उनले १३ लाखभन्दा बढी सैनिकको नेतृत्व गर्ने जिम्मेवारीको वास्तविकता बुझून् र उनीहरूबाट विश्वास र सम्मान पाउन सकून् भनेर सैन्य परेडमा लगिएको हुन सक्छ ।
तर अरू केही विज्ञहरू यसमा शंका गर्छन् । किमका अरू दुई सन्तानमध्ये कसैलाई उत्तराधिकारी रोजिने उनीहरूलाई विश्वास छ ।
जु एको सार्वजनिक उपस्थितिलाई प्रचारको तरिका पनि मानिएको छ । यसले किमलाई “परिवारप्रेमी” वा “पितासमान” देखाउने उद्देश्य पूरा गर्छ भनी स्टिम्सन सेन्टरकी वरिष्ठ अनुसन्धाता र कोरिया कार्यक्रम निर्देशक जेनी टाउनले सीएनएनलाई सन् २०२४ मा भनेकी थिइन् ।
किमले यो भूमिकामा छोरीलाई देखाउनु अर्थपूर्ण रहेको उनले बताएकी थिइन् । रोडम्यानले पहिले नै छोरीको बारेमा कुरा सार्वजनिक गरिसकेका थिए । तर, उनका दाजुभाइबारे अझै केही थाहा छैन । त्यस अवस्थामा उनीहरूलाई चुपचाप हुर्काएर उत्तराधिकारी घोषणा गर्ने समयमा अगाडि ल्याइने सम्भावना पनि छ ।
उदाहरणका लागि, किम आफैं सन् १९९० को दशकमा स्विट्जरल्यान्डमा पढेका थिए । तर, उनकी छोरी “अत्यधिक परिचित भएकीले अब कहिल्यै विदेशमा पढ्न सक्दिनन्,” टाउनले भनिन् ।








प्रतिक्रिया