चीनको विशाल सैन्य परेड सकियो, कस्ता हतियारको भयो प्रदर्शनी ?

910
Shares

एजेन्सी । चीनको राजधानी बेइजिङमा आयोजिक सैन्य परेड समारोह सकिएको छ ।

उक्त परेडमा चीनले अत्याधुनिक हातहतियारहरू प्रदर्शन गरेको छ ।

अन्तर्महादेशीय बलिस्टिक क्षेप्यास्त्र डीएफ–६१ उक्त परेडको मुख्य आकर्षणका रूपमा रहेको थियो । त्यसका साथै आकाशबाट मार हान्ने बलिस्टिक क्षेप्यास्त्र जेएल–१ र पनडुब्बीबाट प्रहरा गर्न सकिने बलिस्टिक क्षेप्यास्त्र जेएल–३ पनि देखिएका थिए । जमीनबाट मार हान्ने डीएफ–३१ क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको थियो । ती सबै क्षेप्यास्त्रहरू अन्तर्महादेशीय दूरीका हुन् ।

पहिलोपटक चीनलेसमुद्रमुनि उडाउन मिल्ने दुईवटा अतिविशाल ड्रोनहरू संसारसामु प्रस्तुत गरेको छ । एक्सएलयूयूभी भनिने ती ड्रोनमार्फत चीनले सामुद्रिक युद्धमा महारथ हासिल गर्नेछ । सामुद्रिक युद्धकलामा चीन संसारकै अग्रणी मुलुक भएको एचआई सट्टन नामक पनडुब्बीविज्ञले बताएका छन् ।

त्यसका साथै चीनले जहाजनिरोधी क्षेप्यास्त्रहरू पनि प्रदर्शन गरेको छ । वाईजे–१७ नामक उक्त क्षेप्यास्त्र मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र हो र त्यसमा हाइपरसोनिक ग्लाइड भेहिकल पजि जडान गरिएको छ । यसमा परम्परागत हतियारका साथै आणविक हतियार पनि राख्न मिल्ने विज्ञहरू बताउँछन् ।

यो क्षेप्यास्त्र जलसेनाका युद्धपोतहरूबाट ठाडो गरी प्रक्षेपण गर्न मिल्छ । त्यस्तो क्षेप्यास्त्रलाई शत्रुको प्रतिरक्षा प्रणालीले हतपत रोक्न सक्दैन ।

त्यसका साथै चीनले वाईजे–१५, वाईजे–१९ र वाईजे–२० नामक जहाजनिरोधी क्षेप्यास्त्रहरू पनि देखाएको छ । यी सबैलाई डिस्ट्रोयर र फ्रिगेट युद्धपोतहरूबाट प्रक्षेपण गर्न सकिन्छ ।

संसारको सबभन्दा ठूलो जलसेना भएको चीनले यी आधुनिक हतियारको माध्यमले संसारको जुनसुकै कुनामा रहेका अमेरिकी विमानवाहक युद्धपोतहरूलाई निशाना बनाउन सक्ने विश्लेषकहरू बताउँछन् ।

त्यसबाहेक चिनियाँ जनमुक्ति सेनाको अत्याधुनिक गोप्य रूपमा उड्ने लडाकु विमान (स्टेल्थ फाइटर) पनि सैन्य परेडमा देखिएका थिए । दुईवटा इन्जिन भएको जे–३५ लडाकु विमान र एच–६ बमवर्षक विमानहरू परेड सुरु भएलगत्तै उडाइएको थियो ।

परेडमा १०० भन्दा बढी विमानले फ्लाईओभर गरेका थिए ।

त्यसका साथै कमान्ड एन्ड कन्ट्रोल विमान र चारवटा इन्जिन भएको जेट विमान पनि परेडमा प्रदर्शन गरिएको थियो । लेजर हतियार र ड्रोनहरू पनि परेडमा देखिएका थिए ।

विशाल सैन्य परेड हेर्नका लागि ५० हजारभन्दा बढी मानिस बेइजिङमा भेला भएको सरकारी प्रसारक सीसीटीभीले समाचार दिएको छ । मानिसहरूले चिनियाँ झण्डालाई उत्साहका साथ फहर्याएको तस्बिर र भिडियोहरू सार्वजनिक भएका छन् । चीनका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गर्व र देशभक्तिको अभिव्यक्ति दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न देशका राष्ट्रप्रमुख र सरकारप्रमुखहरू उक्त समारोहमा सहभागी थिए ।