
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार रूपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजङ थापालाई आधिकारिक उम्मेदवारका रूपमा घोषणा गरेको छ । तर उम्मेदवार घोषणा भएसँगै थापा बहुविवाहको आरोपले विवादमा तानिएका छन् ।
थापामाथि पहिलो पत्नी सुलोचना घिमिरेसँग सम्बन्धविच्छेद नगरी दोस्रो विवाह गरेको आरोप लागेको छ । पाँच वर्षअघि उनको युट्युब च्यानलमा सार्वजनिक भिडियोमा दुवै पत्नी (सुलोचना र नुमा शर्मा) देखिएका थिए । यद्यपि सो भिडियो अहिले हटाइएको छ । पछिल्ला दिनमा भने उनीहरूलाई टिकटक भिडियोहरूमा समेत सँगै देख्न सकिन्छ ।
रास्वपाका केही नेताले पार्टी सभापति रवि लामिछानेलाई समेत थापाको बहुविवाहबारे जानकारी गराएको दाबी गरेका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीले भने थापाले पहिलो पत्नी सँग सम्बन्धविच्छेद गरेर मात्र दोस्रो विवाह गरेको दाबी गरे ।
तर, पाँच वर्षअगाडिका भिडियो र हालसालै सार्वजनिक टिकटकले भने उनको दाबी पुष्टि गर्दैनन् । थापालाई नजिकबाट चिनेका केही चिकित्सकहरूले समेत उनी अझै दुवै श्रीमतीसँगै बस्दै आएको बताएका छन् ।
यसअघि थापामाथि पार्टीको प्राइमरी इलेक्सन प्रक्रियामा गोप्य क्यामेरा जडित चस्माबाट बैठक रेकर्ड गरेको आरोप पनि लागेको थियो । २०८२ भदौ ३ गते आकांक्षी उम्मेदवारहरूको विशेष बैठकमा मोबाइल निषेध गरिएको अवस्थामा उनले क्यामेरा जडित चस्मा लगाएर प्रवेश गरेको र बैठककै अन्त्यतिर त्यो चस्मा प्रमाणका रूपमा फेला पारिएको आकांक्षीहरूले बताएका छन् ।
सो घटनाबारे आठ आकांक्षीले सामूहिक उजुरी दिएका थिए । तर, कारबाही गर्नुको साटो उनलाई नै उम्मेदवार बनाइएको आरोप पार्टी नेतृत्वमाथि लागेको छ ।
पार्टी सचिवालयभित्र पनि यस विषयमा मतभेद देखिएको बताइन्छ । सभापति लामिछाने प्रारम्भिक रूपमा अर्का आकांक्षी सुलभ खरेलको पक्षमा रहेको तर कार्यवाहक सभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री विपिन आचार्यलगायत नेताहरूले थापालाई अघि बढाएको स्रोतको दाबी छ ।
थापाको उम्मेदवारी घोषणा भएपछि सामाजिक सञ्जालमा ‘रास्वपाको उम्मेदवार हुन पहिलो योग्यता बहुविवाह’ भन्ने व्यंग्यात्मक ट्रोलसमेत भइरहेको छ ।
कतिपय रास्वपाका नेताहरुले उनको दुई विवाहबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।
राप्रपाका सांसद दीपक बोहराको निधनपछि रिक्त भएको रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । हालसम्म रास्वपाले मात्रै उम्मेदवार घोषणा गरेको छ भने उम्मेदवारी दर्ता प्रक्रिया अझै बाँकी छ । थापाको विवादका कारण रास्वपाभित्रै उम्मेदवार फेर्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।
यसैबीच डा. थापाको पत्रकार सम्मेलन स्थगित भएको छ । सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा राखेको पत्रकार पत्रकार सम्मेलन विशेष कारणवश स्थगित भएको रास्वपाले जनाएको छ ।
रास्वपाले हिजो ९ आकांक्षीमध्येबाट थापालाई उम्मेदवार बनाएको थियो ।








प्रतिक्रिया