
विराटनगर । दीपक सापकोटालाई अहिले पनि नेपाली राष्ट्रिय खेल भलिबलका पर्याय मानिन्छ । डेढ दशकसम्म मुलुकको राष्ट्रिय भलिबलको सफल नेतृत्व गरेका उनलाई नेपाली भलिबल जगतमा अझै शिखर खेलाडी भनिन्छ । तर उनै सापकोटा यस बेला गुमनाम छन् । भलिबलका रत्नलाई राज्यले विर्सिएको छ ।
२०३२ सालमा जिल्ला स्तरीय तहबाट भलिबल खेल्न सुरु गरेर २०४६ सालमा राष्ट्रिय टीमको प्रमुख खेलाडीको रूपमा खेलबाट विश्राम लिएका सापकोटालाई खेल छाडेपछि राज्यले अहिले सम्म सम्झेको छैन ।
भलिबल संघले कहिले काहीँ सम्झेर भलिबलका बारेमा उनीसँग सामान्य सुझाव लिन्छ । नत्र सरकार र राष्ट्रिय खेलकुद परिषदले उनलाई चटक्कै विर्सेको छ । ६६ वर्षीय सापकोटाका दुई छोरी र एक छोरा छन् । उनीहरू सबै अमेरिका छन् । यस बेला सापकोटा छोराछोरीलाई भेट्न अमेरिका जाने अनि केही समय बसेर घर फर्कने गर्दै आएका छन् ।
भन्छन्, खेल छाडेपछि राज्य र खेलकुद परिषदले नसम्झेपनि मलाई भलिबलले सबै थोक दियो । भलिबलले नै नाम दियो, पहिचान बनाइदियो । त्यसैमा सन्तुष्टि छु ।
विराटनगरका सापकोटाले नेपाली राष्ट्रिय टिममा लगातार १४ वर्षसम्म मुख्य खेलाडी भएर योगदान गरे । आठ वर्षसम्म टिमको कप्तानी सम्हाले । उनलाई त्यस बेला सबैले ‘उस्ताद’ भन्थे ।
हो, पूर्वराष्ट्रिय खेलाडी सापकोटा भलिबलका उस्ताद नै थिए । उनलाई टिमका सहकर्मी र प्रशंसकले उति बेला बोलाउने उपनाम नै थियो ‘उस्ताद’ । जसको वरिपरि मुलुकको राष्ट्रिय खेल भलिबल झन्डै डेढ दशक घुम्यो ।
माध्यमिक तहको अध्ययनका बेला विद्यालयस्तरीय तत्कालीन वीरेन्द्र सिल्ड खेलकुदबाट भलिबलमा प्रवेश गरेका सापकोटाले त्यस बेला आफू भलिबलको शिखरमा पुग्छु भन्ने कल्पना पनि गरेका थिएनन् । उनलाई अहिले पनि नेपाली भलिबल जगतमा शिखर पुरुष मानिन्छ । उनले नेपाली राष्ट्रिय टिममा लगातार १४ वर्षसम्म मुख्य खेलाडी भएर योगदान गरे । उनले आठ वर्षसम्म टिमको सफल कप्तानी सम्हालेका थिए ।
सापकोटालाई नजिकबाट चिनेका भलिबलका पूर्वराष्ट्रिय खेलाडी देवेन्द्र भण्डारी देशले अझै भलिबलमा सापकोटा जत्तिकै असाधारण खेलाडी पाउन नसकेको दाबी गर्छन् । भण्डारीले भने, ‘दीपक जत्तिकै प्रभावशाली खेलाडी अहिलेसम्म छ जस्तो लाग्दैन । भविष्यमा जन्मनु बेग्लै कुरो होला । उतिबेला उनकै कारण मुलुकमा भलिबलले प्रसिद्धि कमाएको थियो । नेपाली भलिबल इतिहासमा सापकोटा असाधारण खेलाडी हुन् ।’
देब्रे हाते स्पाइकर भण्डारीका अनुसार त्यस बेला सामान्य ज्ञानमा समेत नेपालको भलिबलका राम्रो खेलाडी को हो ? भन्ने प्रश्नोत्तरमा दीपकको नाम उल्लेख थियो । फराकिलो हातका पन्जा र ६ फिट उचाइका सापकोटा नेपाली राष्ट्रिय टिमका प्रमुख राइट ह्यान्ड स्पाइकर थिए ।
विराटनगरको आदर्श माध्यमिक विद्यालयमा माध्यमिक तह अध्ययन गर्दा उनले वीरेन्द्र सिल्डबाट भलिबल खेलको सुरुआत गरे । विद्यालयलाई पटक–पटक सिल्ड जिताए । त्यसपछि उनी २०३२ सालमा उच्च शिक्षा अध्ययनका लागि बाँके नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस पुगे ।
नेपालगन्जको तत्कालीन रोडसी संगम क्लबसँग जोडिनु सापकोटाको भलिबलमा टर्निङ प्वाइन्ट बन्यो । १६ वर्षे ठिटो अग्लो र फूर्तिलो थिए । उनले विगत सम्झँदै भने, ‘क्लबका साथीहरूले तिमीले भलिबल खेल्नुपर्छ भनेर उक्साए । क्लबमा खेल्दा उनीहरू पहिलो दिन नै मेरो खेलप्रति आकर्षित भए र मुख्य स्पाइकरको जिम्मेवारी दिइयो ।’
सोह्र वर्षको उमेरमा सापकोटाले संगम क्लबबाट अन्तरक्लब स्तरीय जुनियर भलिबल प्रतियोगिता खेले । त्यो प्रतियोगितामा क्लबले रनिङ सिल्ड जित्यो । उनी उत्कृष्ट खेलाडी घोषित भए । सापकोटा सम्झन्छन्, ‘लगत्तै क्लबले मलाई सिनियर टिममा तान्यो ।’ सिनियर टिमको अन्तरक्लब प्रतियोगितामा पनि क्लबले उपाधि जित्दा उनी उत्कृष्ट खेलाडी चुनिए । त्यहाँबाट उनले बाँके जिल्लास्तरीय टिमको सदस्यमा स्थान पक्का गरे ।
लगत्तै भेरी अञ्चलस्तरीय प्रतियोगिता भयो । प्रतियोगितामा बाँके, जाजरकोट, बर्दिया, सुर्खेत र दैलेखको सहभागिता थियो । उक्त प्रतियोगितामा पनि बाँके प्रथम हुँदा सापकोटा अञ्चलकै उत्कृष्ट खेलाडी चुनिए । त्यसपछि उनी अञ्चलस्तरीय टिममा प्रवेश भए । सापकोटाले राष्ट्रिय प्रतियोगिताको रूपमा २०३३ सालमा धनगढीमा भएको चौथो राष्ट्रिय प्रतियोगितामा डेब्यु गरे । भेरी अञ्चलबाट खेल्दा प्रतियोगितामा उनको टिम फाइनलमा पुग्यो । फाइनलमा भेरीले वाग्मतीलाई ३–० को सोझो सेटले पराजित गरेर उपाधि चुम्दा सापकोटा उत्कृष्ट खेलाडी चुनिए । त्यसपछि २०३४ सालमा झापाको चन्द्रगढी र २०३५ सालमा हेटौंडामा भएको राष्ट्रिय प्रतियोगितामा पनि उनी सर्वश्रेष्ठ खेलाडी घोषित थिए ।
चौथो राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै सापकोटा नेपालको राष्ट्रिय टिमको सदस्य बने । सन् १९७७ मा चीनको फिजिकल कल्चर एन्ड स्पोर्ट्स संगठनले नेपाली टोलीलाई मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेको थियो । १५ दिने भ्रमण टोलीको ‘प्लेइङ सिक्स’ का भरपर्दा खेलाडी हुँदै सापकोटा चीन पुगे । नेपाली टोलीले त्यहाँ तोथुङ, सियाङ, कुन्थिङ, आइसाङ र बेइजिङमा पाँचवटा म्याच खेल्दा तीन हार र दुई जित निकाल्न सफल भएको स्मरण सापकोटासँग छ ।
सन् १९७८ मा थाइल्यान्डमा आठौँ एसियन च्याम्पियनसिप प्रतियोगितामा सहभागिता जनाउँदा सापकोटा राष्ट्रिय टिमको कप्तानीमा फड्को मार्न सफल भए । उक्त प्रतियोगिता उनको नेतृत्वमा टोलीले पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । सापकोटाले प्रतियोगिताकै सबैभन्दा कान्छा खेलाडीका रूपमा मार्चपासमा देशको झण्डा बोक्ने अवसर पाएका थिए । त्यतिबेला उनी १७ वर्षका थिए ।
चौध वर्षको खेलाडी जीवनमा सापकोटाले पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए । चीन, रुस, भारत, थाइल्यान्ड, पाकिस्तान, इरान, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, बंगलादेशलगायत २० देशमा खेलकौशल प्रस्तुत गर्न पाउनु नै आफ्नो उपलब्धि ठान्छन्, सापकोटा । उनले सन् १९७८ मा आठौँ एसियन र एसियन मेन्स च्याम्पियनसिप, १९८३ मा जापानमा भएको एसियन, दक्षिण कोरियामा पाँचौँ एसियन, १९८६ मा १० औं एसियन, १९८७ मा कोलकाता साफ गेम्सलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनी नेपाली टोलीका प्रमुख खेलाडी रहे ।
समकक्षीका अनुसार उनी स्पाइकका लागि नेटमा जम्प गर्दा टाउकोले एन्टेना छुन्थे । १९८७ मा जापानमा भएको आठौँ एसियन भलिबल प्रतियोगितापछि त्यहाँको एक पत्रिकाले एसियाका टप १२ भलिबल खेलाडी छनोट गर्दा नेपालका सापकोटा ११ औं नम्बरमा परेका थिए ।
त्यसबेला सापकोटाका सहयात्रीमा जनार्दन थापा, जयनारायण चौधरी, महेन्द्रलाल श्रेष्ठ, सशस्त्र प्रहरी बलका पूर्वप्रमुख दुर्जकुमार राई, प्रकाश थपलिया, सन्जय थपलिया लगायत थिए । त्यस टिममा ऋषि आचार्य उनीभन्दा सिनियर थिए । ऋषिले छाड्ने समयमा सापकोटा नेपाली भलिबलका सुपरस्टारको लाइनमा उभिसकेका थिए ।
पूर्वराष्ट्रिय टोलीका सदस्य नन्दु सरदार सापकोटाको खेलबाट आकर्षित भएर आफू पनि भलिबलमा लागेको बताउँछन् । उनी भन्छन्, ‘हामी भलिबलमा लाग्दा सापकोटालाई उनको टिमका सदस्य र दर्शकले भलिबलको उस्ताद भन्थे । उनी नेपाली भलिबलका अहिलेसम्मकै शिखर पुरुष हुन् ।’
सापकोटाका पालामा मुलुकका उत्कृष्ट भलिबल खेलाडीलाई सुरक्षा निकायलगायत विभिन्न संघ–संस्थाले तलब दिएर खेलाउँथे । त्यसैअनुरूप सापकोटाले नेपाली सेनाको देवदत्त गणबाट दुई वर्षसम्म भलिबल खेले । त्यसपछि उनलाई नेपाल विद्युत प्राधिकरणले करारमा लियो । त्यहाँबाट पनि उनले दुई वर्ष खेले । त्यसपछि उनी कृषि विकास बैंकमा २०४१ सालमा अस्थायी करारमा नियुक्त भए । उनी २०४३ सालमा स्थायी भए र दशकअघि नवौँ तहबाट अवकाश लिए ।
स्नातक गरेका सापकोटाले भलिबलमा लागेर बीचबीचमा पढाइ अवरुद्ध हुनुबाहेक आफ्नो लोकप्रियता बढ्नु र राष्ट्रका नाममा अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्न पाउनुलाई गौरव ठान्छन् । भलिबल उत्पादन गर्ने भारतको भिनेक्स कम्पनीले २०३८ सालमा सापकोटाको हस्ताक्षर बलमा प्रिन्ट गरेर नेपाल पठाउने गरेको उनको भनाइ छ । कम्पनीले २०३८ सालमा आफ्नो हस्ताक्षर भिनेक्स बलमा प्रिन्ट गर्न लगाएको उनको स्मरण छ ।
डेढ दशक लामो खेलजीवनको सबैभन्दा यादगार क्षण सन् १९८८ मा कभर्डहलमा भएको पश्चिम जर्मनीविरुद्धको मैत्रीपूर्ण म्याचलाई सापकोटा स्मरण गर्छन् । ‘उक्त म्याच खेल्न कोर्टमा म केही ढिलो पुगेको थिएँ । त्यहाँ पुग्दा नेपालले एक सेट हारिसकेको थियो । दोस्रो सेटमा म कोर्टमा प्रवेश गरें र त्यो म्याचको मेरो पहिलो स्पाइक नै यादगार बन्यो । कोर्टको लेफ्टसाइडबाट राइट ह्यान्डले प्रहार गरेको पावरफुल स्पाइक विपक्षी कोर्टमा ड्रप हुँदै बलले कभर्डहलको माथिल्लो तहमा जडान गरिएको विद्युतको बल्ब नै फुटेर सिसा कोर्टमा झर्यो । सिसा सफा गर्न केहीबेर म्याच नै रोक्नुपरेको थियो,’ स्मरण गर्दै उनले भने । सापकोटाको खेलजीवनको अन्तिम खेल इस्लामाबादमा १९८९ को चौथो साफ खेलकुद थियो ।
सापकोटाका अनुसार उतिबेलाको तुलनामा अहिले नेपालको भलिबल खेल सुस्ताएको छ । तत्कालीन समयमा अनुशासन, नियमित प्रशिक्षण हुँदा खेलाडीको प्रतिभाका आधारमा टिम छनोट हुन्थ्यो । अहिले अनुशासन छैन । नियमित अभ्यास र प्रशिक्षण त छँदै छैन । उनी भलिबललाई पुरानै लयमा फर्काउन आधार दिँदै भन्छन्, ‘अहिले छनोट समितिले आफू नजिकका र गुटका आधारमा खेलाडी छनोट गर्दा उत्कृष्ट खेलाडी बञ्चित हुँदा खेलको विकास हुन सकेको छैन । उतिबेला भलिबलको लोकप्रियता सर्वत्र थियो । अहिले राष्ट्रिय खेल भए पनि सुस्ताउँदै गएको छ ।
इभेन्टलाई लक्षित गरेर खेलाडीलाई नियमित प्रशिक्षण, पर्याप्त अभ्यास गराएर निष्पक्ष रूपमा टिम छनोट गर्ने हो भने अझै पनि मुलुकमा भलिबलको लोकप्रियता बढ्न सक्ने उनी बताउँछन् । ‘लोभलाभ, गुटउपगुट र स्वार्थले रुमलिएको अहिलेको राज्य प्रणालीबाट त्यो आशा गर्नु व्यर्थ छ,’ सापकोटाले भने ।







प्रतिक्रिया