चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले संसद्‍मा के भने ? (पूर्णपाठ)

119
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफ्नो आगामी चीन भ्रमणबारे जानकारी दिएका छन् । सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले भदौ १४ देखि १८ सम्म हुने पाँच दिने औपचारिक भ्रमणका विवरण प्रस्तुत गरे ।

चीनको तियानजिनमा आयोजना हुने साँघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री जान लागेका हुन्।

भ्रमणको मुख्य उद्देश्य एससीओ सम्मेलनमा नेपालको दृष्टिकोण र प्राथमिकताहरू प्रस्तुत गर्नु रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए । एससीओ सम्मेलनको समयमा विभिन्न मित्र राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूसँग नेपालसँग सम्बन्धित द्विपक्षीय तथा अन्य प्राथमिकताका विषयमा छलफल हुनेछन् ।

साथै, उनी बेइजिङमा आयोजित फासिवाद विरोधी युद्ध र जापानी अतिक्रमणविरुद्धको ८०औँ वार्षिकोत्सव समारोहमा पनि सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले यस भ्रमणबाट नेपाल–चीन मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे ।