दशैं आउन एक महिना बाँकी भए पनि यस वर्ष पनि सस्तो हवाई टिकेट भने उपलब्ध छैन । वायुसेवा कम्पनीले दशैंलाई विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि महँगा टिकटको मात्रै बिक्री खुला गरेका कारण आम सर्वसाधारणले न्यूनतम मूल्य नै अहिलेको तुलनामा साढे ५ हजार बढी तिर्नुपर्ने भएको छ ।

काठमाडौं । दशैं आउन ठ्याक्कै एक महिना बाँकी छ । आजको मितिले अबको एक महिनामा दशैंको फूलपाती पर्छ । दशैंलाई घरबाहिर भएका र टाढा पुगेका आफन्त फर्कने गर्छन् । वर्षमा एक पटक परिवार र आफन्तको भेटघाट हुने बेला दशैंलाई लिइन्छ । दशैंमा लामो छुट्टी पनि पर्ने भएकोले यात्रुको आवागमन बढ्ने गर्छ । यात्रुको चाप बढ्ने यही बेला आम सर्वसाधारण हिँडडुलमा महँगो टिकट तिर्न बाध्य हुने गरेका छन् ।
यो वर्ष दशैंलाई पनि अहिलेको सामान्य अवस्थाको तुलनामा न्यूनतम भाडामै साढे ५ हजार रुपैयाँसम्म हवाई भाडा महँगो भएको छ । वायुसेवा कम्पनीले यात्रुको चाप कम हुने र सामान्य अवस्थाका लागि दिने गरेको सस्ता टिकट वर्षेनी दशैंको बेला दिँँदैनन् ।
दशैंको दुई साता वायुसेवा कम्पनीको लागि कमाउने र वर्षभरी सस्तो टिकटमा सेवा दिने मौका हो भने अर्कोतर्फ एकतर्फी यात्रु हुने भएकोले दुईतर्फी भाडाको तुलनामा सस्तो टिकट दिन नसकेको तर्क उनीहरुले गर्ने गरेका छन् । जसका कारण वर्षेनी दशैंमा आम सर्वसाधारणको हवाई यात्रा बाध्यात्मक यात्रा खर्चिलो हुने गरेको छ ।
भदौ १३ गते अर्थात दशैं अगाडिको तुलनामा एक महिनापछि असोज १३ गतेको हवाई टिकेटसँग तुलना गर्दा हवाई भाडा महँगो छ । त्यसो त वायुसेवा कम्पनीहरुले वर्षेनी दशैंका बेला सामान्य अवस्थाको तुलनामा नर्मल भाडादर मात्रै बेच्ने भएकोले पनि हवाई टिकट महँगो हुन्छ ।
दशैंको हवाई टिकट दशैं लागेपछि मात्रे महँगो हुने भने होइन । अहिले नै दशैंका लागि टिकट लिँदासमेत महँगो पर्छ । वायुसेवा कम्पनीहरुले जुनसुकै बेला टिकट लिन सकिने गरी खुला गरेको हुन्छन् भने सिस्टममा पनि मिलाएर राखेका हुन्छन् । जसका कारण दशैं आउनु तीन महिना अगाडि टिकट लिँदा र एक साता अगाडि लिँदामा कुनै फरक नपर्ने पनि एक वायुसेवा कम्पनीका अधिकारीको भनाइ छ ।
त्यसोत आम सर्वसाधारणले यात्रा गर्ने स्थलमार्गको टिकट नखुल्दै हवाईमार्गको टिकट भने नपाइने भइसकेो हुन्छ । पर्याप्त उडान हुने, यात्रु बढी हुने गन्तव्यमा टिकेट पाउन समस्या नभए पनि केही गन्तव्यमा भने अहिले नै समस्या छ । काठमाडौंबाट हुने दुर्गम क्षेत्रको उडानमा यात्रुको चाप दशैंलाई मात्रै हुने र त्यहीबेला सो गन्तव्यमा उडान गर्ने जहाजको अभावले गर्दा सधैं ती क्षेत्रमा टिकटको हाहाकार हुने गरेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सेवामूलक उडान गर्ने दाबी गर्छ तर यही वायुसेवासँग आन्तरिक उडान गर्ने जहाज अभाव छ । सहरी क्षेत्रका विमानस्थलमा भने पर्याप्त जहाज भएकोले यात्रुले टिकट नपाउने समस्या केही वर्षदेखि कम हुँदै गएको छ । काठमाडौंबाट तुम्लिङटारको उडानमा दैनिक बुध्द एयरको एउटा मात्र उयडान हुँदा यो गन्तव्यमा टिकेट पाउन समस्या छ ।
वायुसेवा कम्पनीहरुले भने दशैंको समयमा काठमाडौंबाट बाहिरिने यात्रु एकातर्फी मात्रै हुने भएकोले अन्य समयको तुलनामा भाडादर केही महँगो हुने दाबी गर्छन् । सरकारले तोकेकै सीमाभित्र रहेर हवाई भाडा निर्धारण हुने भएकोले तोकिएको भन्दा भाडा नलिने भए पनि वर्षेनी दशैंको बेला गुनासो भने बढ्ने गरेको छ ।
‘दशैंमा यात्रु एकतर्फबाट चाप हुने भएकाले त्यतिबेला अघिपछिको जस्तो सस्तो टिकट हुँदैन,’ एक एयरलाइन्सका प्रतिनिधिले भने, ‘दशैंको बेलामा महँगोमा टिकट बेचेँ भनेर आरोप लाग्ने गरेको भए पनि सरकारले तोकेकै सीमाभित्र रहेर हवाइ भाडा लिने गरिएको हो ।’
दशैंमा काठमाडौंबाट बाहिर जानेको चाप बढी हुने गरेको भए पनि सोही बेला फर्कने यात्रुचाहिँ बढीमा ३० प्रतिशतको मात्रै अकुपेन्सी (जहाज भराइ दर) हुने उनको भनाइ छ । एकतर्फी यात्रु भरिभराउ भए पनि अर्कोतर्फ सोही रुटबाट फर्कँदा भने खाली हुने भएकोले पनि काठमाडौंबाट जाने यात्रुको लागि दशैंमा फूल फेयर (भाडा दरको अधिकतम लिन पाउने सीमा) मात्रै लागू हुने गरेको वायुसेवा कम्पनीको भनाइ छ ।
दशैंमा टिकटै नपाइने अवस्था नभएको, छिटो बुकिङ गर्नेले न्यूनतम दरकै टिकट पाउने र ढिलो बुकिङ गर्नेले माथिल्लो श्रेणीको टिकट पाउने व्यवस्था रहेको वायुसेवा कम्पनीको भनाइ छ । यात्रुको चाप बढी हुँदा हवाई भाडा पनि माथिल्ला श्रेणीसम्म पुग्नु र चाप कम हुदाँ कम दरमै टिकट पाउनु सामान्य सिद्धान्त भएको सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।







प्रतिक्रिया