विद्याबारे ओलीको भनाइ भन्दै सार्वजनिक समाचार भ्रामक: प्रधानमन्त्रीको सचिवालय

98
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाइ तोडमोड गरी प्रचार गरिएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको छ ।

सचिवालयले भदौ ११ गते काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँग भएको भेटघाटलाई केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रामक रुपमा प्रस्तुत गरिएको दाबी गरेको छ ।

सो कार्यक्रम कुनै प्रशिक्षण नभई विधान महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको अनौपचारिक छलफल मात्रै भएको स्पष्ट गरिएको छ ।

प्रेस नोटमा भनिएको छ, ‘अध्यक्ष ओलीले काठमाडौंका प्रतिनिधिसँग नबोलेका ‘विद्या भण्डारीबाहेक कसैले मलाई धक्का दिन सक्दैन’ भन्ने जस्ता मनगढन्ते कुरा बाहिर ल्याइएको देखिएको छ ।’

ओलीले उक्त भेटमा वामपन्थी आन्दोलनको इतिहास, पार्टीमा स्वार्थका कारण भएको क्षति, अहिलेको पार्टी नीतिहरु, विकास र सुशासनका लागि सरकारका प्रयासलगायत विषयमा आफ्नो धारणा राखेको सचिवालयले जनाएको छ ।

भेटमा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति आफ्नो सम्मान दोहोर्‍याउँदै पार्टीको विधिवत सदस्यता नलिएर मिडिया र अन्य नेतासँग भेटघाटमार्फत सक्रिय राजनीतिमा प्रवेश गर्ने संकेत गरेकोप्रति असन्तुष्टि व्यक्त गरेको पनि प्रेस नोटमा उल्लेख छ ।

ओलीको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ,’पूर्वराष्ट्रपति भण्डारी पार्टीमा आएर अध्यक्ष उठ्दा पनि जित्नुहुन्न, हार्नुभयो भने पार्टीविरुद्ध लाग्ने जोखिम रहन्छ । त्यसरी अपमानजनक अवस्थामा जानुभन्दा अहिलेको सम्मानजनक हैसियत उत्तम हुन्छ भन्ने आग्रह मैले गर्नुपरेको थियो ।’

तर छलफलमा सहभागी एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले भने अहिले एमालेमा आफूलाई चुनौती दिने कोही पनि नेता नरहेको दाबीसमेत ओलीले गरेको उल्लेख गरेका छन् । आफूलाई चुनौती दिने सवालमा विद्याबाहेक अरू कसैको दम नगरेको पनि ओलीले जिकिर रहेको उनको दाबी छ ।

यस्तो छ निरौलाको स्टाटस

विधान अधिवेशनका प्रतिनिधिहरुलाई बालुवाटार प्रशिक्षण (सम्योजनकर्ता कमरेड रामेश्वर फुयाललाई धन्यवाद)

  • पार्टीलाई दुई-तिहाइ बहुमत आउँदै थियो तर वामदेवले २०५४ सालमा एमाले फुटाउनुभयो। ।
  • एक-अर्कालाई निष्कासन गर्दै अघि बढ्यौँ र हालको पार्टी बनेको हो।
  • अहिले केहीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको फोटो राखेर धन्दा गर्छन्।
  • च्यासलले सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिएको छैन, प्रक्रिया मिलेन।
  • बालुवाटार बोलाएको आउनुभएन, पार्टी कार्यालयमा च्यासलमै भेटियो।
  • सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ।
  • राष्ट्रपति भइसकेको मान्छै राजनीतिमा आउनु हुँदैन।
  • उहाँले ‘एमाले अध्यक्षमा अब मलाई सहयोग गर्नु, तपाईं चलाउन सक्नुहुन्न’ भन्नुभयो।
  • तर मैले भ्रममा नपर्नू, पार्टी चलाउन अनुभव छैन भनेँ।
  • चुनाव लड्ने त भन्नुभयो, ‘यहाँ हाम्रो पार्टीमा चुनाव लड्नु पर्दैन’ भनेँ।
  • पूर्वराष्ट्रपति भएकाले अशोभनीय गतिविधि गर्नु भएन।
  • पार्टीको पक्षमा नबोल्नेहरूलाई भेला गरेर हिँड्नु भएको छ।
  • चक्रपथ अनलाइनमा मेरोबारेमा जथाभावी लेखाउने काम भयो।
  • मदन भण्डारी फाउन्डेशन मैले खोलेको हो । त्यसबेला जन्मजयन्ती र स्मृति दिवस पनि मनाउन नदिएकोले फाउन्डेशन खोलेँ ।
  • अरूले राजमाता हुन भनिरहँदा मैले विद्यालाई अघि सारेँ।
  • उहाँले नेकपा एमालेमा आएर अध्यक्ष हुनु सम्भव छैन।
  • आ-आफ्नो योग्यता कारण हामी यहाँ आइपुगेका हौँ।
  • आन्दोलनलाई पार्टीले अघि बढाएको छ तर यो नदेख्ने र विरोधीलाई सहयोग गर्ने काम भएको छ।
  • सरकारले गरेका सकारात्मक कामको चर्चा भएन।
  • अदालतमार्फत् बाधा हाल्ने प्रयास गरिएको छ, बाधा पन्छाएर अघि बढिन्छ।
  • सेन्टिमेन्टमा गएर हुँदैन, मदन भण्डारीका विचार पवित्र हुन्, घर होइन।
  • जबज कुनै परिवारको सम्पत्ति होइन।
  • जबज फाउन्डेशनले बचाउने पनि होइन।
  • जबजका नाममा पार्टीमा समस्या ल्याउने होइन।
  • ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन।
  • अभागीलाई खाने बेलामा रिस उठ्छ।
  • विनोद ढकाल (नवौँ महाधिवेशनमा) मलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।
  • विधानबारे कर्णबहादुर थापाले गलत कुरा गरे।
  • पत्रकारले पार्टी सदस्यता दिने होइन।
  • गणतन्त्र गौरवलाई विवादमा पार्ने काम भयो।
  • विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नुहुन्छ।
  • लालगेडी भएर पार्टी चल्दैन, त्यसैले विद्याजीको सम्भावना छैन।
  • मैले जति सम्मान अरुले गरेका छैनन्, विद्याजीलाई साथ दिँदा म अपमानित हुनुपरेको छ।
  • म एक्लो थिइनँ, मदन र म सहकार्यमा थियौँ।
  • म सपनामा छु कि जस्तो लाग्छ।
  • विद्याबाहेक कसैको दम छैन, उहाँले छोडे सबै कुरा मिल्छ।
  • विद्याजीको सम्मानका लागि उहाँलाई नउचालौँ।
  • व्यक्ति ठूलो कुरा होइन, आन्दोलन बचाउनुपर्छ।
  • विद्या भण्डारी सम्पत्ति होइन।
  • उहाँको लडाइँ सदस्यताको होइन।
  • प्रोटोकल हेरेर प्रतिष्ठा बनाउन हुँदैन।
  • सही विचार प्रस्तुत गर्छु, फरक मत राखिरहनु पर्दैन, त्यही पेश गर्छु। यो इतिहास हो। इतिहासको रूपमा आउँछ, नीति रूपमा आउँछ।
  • विधान महाधिवेशन तीन दिन हुन्छ । एक दिन दस्तावेज प्रस्तुत, एक दिन छलफल र एक दिन समापन हुन्छ।
  • विधान अधिवेशन एकताको अधिवेशन हुन्छ, अन्यथा महाधिवेशनमा हिसाब-किताब गरिन्छ।
  • साथीहरूको आमचाहना र समयको मागअनुसार म स्वस्थ भएकाले कार्यकाल र ७० वर्षे आवश्यकता रहेन।
  • रवि लामिछानेलाई मैले नै बनाएको हो ।
  • राजेन्द्र लिङ्देनले झापामा जितेका छन् । हिजो पनि हामीले सहयोग गरेका हैँ ।
  • राष्ट्रियताबारेमा हामी राजनीति गर्दैनौँ।